banner
banner

प्रधानमन्त्री पहुँचवालालाई पैसा बाँड्दैछन्

धर्मरत्न श्रेष्ठ -
आर्थिक अनीयमिततालाई लगाम कसेर सेवाग्राहीलाई सुशासनको झल्का दिनुपर्ने देउवा सरकारले फेरि पार्टीका पहुँचवालाहरुलाई राज्यढुकुटी वितरण गर्न थालेका छन् । भूकम्पपीडित, बाढीपीडितसम्म पुग्न नसकेका र असरल्ल सहरहरुको हालत सुधार्नतिर नलागेर ढुकुटी रित्याउन थाल्नु पहिलो गाँसमै ढुंगा लागेजस्तो भयो ।
यतिमात्र होइन, कर्मचारीलाई विदेश भ्रमण गर्न अनुमति दिएर प्रधानमन्त्रीले प्रशासनमा अरु अराजकता थपिदिएका छन् । प्रधानमन्त्रीको मनपेट पाएर कर्मचारीहरु विदेश भ्रमण गर्न अरु उत्साहित हुनथालेका छन् ।
खबर आयो असार महिनामा मात्र गैरसरकारी संस्था र ८ जना पहुँचवालाई ४५ लाख बाँडेछन् । यसको विरोध संसदको सुशासन समितिमा उठ्यो तर प्रधानमन्त्रीले कानमा तेल हालेनन् । सांसद जनकराज जोशीले पहुँचका आधारमा वितरण हुने आर्थिक सहायता सुशासनको परिधिभित्र पर्दैन । बिरामी भएर आर्थिक सहायता दिने हो भने स्वास्थ्य मन्त्रालयबाट आउनुपथ्र्यो । गृह मन्त्रालयबाट प्रस्ताव लाने र निर्णय गर्दै पैसा बाँड्ने काम सदाचारको परिभाषामा पर्दैन भनेका थिए ।
रामहरि जोशीको उपचारमा लागेको खर्च सरकारको व्यहोर्ने, सांसद रामेश्वरप्रसाद ढुंगेललाई चार लाख, बुद्धिकुमारी पाण्डे, आनन्दवन–६ रुपन्देहीलाई पाँच लाख, विनोदकुमार गुरुङ, सिर्थौली–९ सिन्धुलीलाई तीन लाख, दुर्गादेवी खड्का, रामेछापलाई तीन लाख, लक्ष्मी दर्जी कालिकोटलाई तीन लाख, गंगाराम नकाल, सानोपेटी–३ रुकुम तीन लाख, सुमन नकाल सानोपेटी–३ रुकुम तीन लाख, लेखापाल गिरिराज शर्मा सुवेदीको श्रीमती टीका सुवेदीलाई क्यान्सर उपचारका लागि पाँच लाख, महिला जेसिस सुर्खेतलाई १५ लाख दिइएको छ । यसरी नगद वितरण गर्ने अर्को सूची तैयार भइसकेको स्रोतले जानकारी दिएका छन् ।
जुन प्रधानमन्त्री आउँछन् उनले यसैगरी गृहको आर्थिक सहायता चन्दा पुरस्कारको राशी वितरण गर्ने गरेका छन् । यो नियमित प्रक्रियाजस्तो भइसकेको छ । पैसा बाँडेर वाहवाही खाने र कार्यकर्ताहरुलाई खुशी पार्ने काम आफैमा अनियमित काम हो तर यसैलाई सरकारमा जानेहरुले सदाचार बनाएका छन् 
जो बास्तवमै आर्थिक सहायताको हकदार छ, उनीहरुले कहिल्यै कुनै प्रकारको आर्थिक सहायता पाउने गरेका छैनन् । हरेक दिन पत्रपत्रिकाहरुमा गम्भीर रोग लागेर आर्थिक सहायता पाए बाँच्न पाउने थिएँ भनेर आर्तनादहरु छापिने गरेका छन् । ती लोकतान्त्रिक व्यवस्थाका लोक हुन्, जसको नाममा व्यवस्था चलिरहेको छ, उही बत्तीमुनीको अँध्यारोमा परिरहेको छ । जो सत्तामा छन्, उनीहरु आलोपालो गर्दै, आ–आफ्ना निकटस्थहरुलाई राज्य लुटाइरहेका छन् ।
यसरी कार्यकर्ता र आफन्तलाई पोस्ने पैसाले पीडितहरुलाई धेरै सहयोग गर्न सकिनेथियो । राजकाज भनेको अन्धो हुन्छ कि के हो ? जहाँ जे गर्नुपर्ने हो, हेर्नुपर्ने हो, त्यता पटक्कै हेर्दैनन्, देख्दैनन् । खाली वरिपरिका र सत्ताको करिडरमा नाच्ने, घुम्नेहरुलाई मात्र जनप्रतिनिधिले हेर्ने र तिनको सेवामात्र गर्ने हो भने लोकतन्त्रको वास्तविक मर्ममा प्रहार होला कि नहोला ? प्रधानमन्त्रीले अघिल्ला सरकारहरुले जे गरे त्यही गल्ती दोहोर्‍याएर आफूलाई पनि त्यही नैतिकहीन पंक्तिमा उभ्याउन पुगेका छन् । त्यसकारण यो देउवा सरकारबाट देश र जनताले केही होला कि, केही गरिहाल्ला कि भनेर सोच्नु सपना देख्नु जस्तै हुनपुगेको छ ।
लोकतन्त्र पहुँचवालाका लागि रमाइलो भयो । जो नागरिक अपेक्षा र आशा गरेर बसेका छन्, तिनका लागि लोकतन्त्र नेतातन्त्रमा परिणत हुनपुगेको छ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper