banner
banner

नेपाल राष्ट्र कि यौनबजार ?

अधिवक्ता शिवप्रसाद सिग्देल - 
 हाम्रो देश अचम्मको छ । भगवान शिवको लिङ्ग पूजा गर्छ र जोगीबाबाको लिङ्ग ढोग्छ । भगवानप्रतिको आश्चर्यलाग्दो विश्वास अन्यत्र कुनै पनि मुलुकमा पाइन्न । नेपाल त्यस्तो देश हो, जहाँ पाइलैपिच्छे भगवानको मूर्ति भेटिन्छ र मूर्ति देख्नासाथ मान्छेहरु दुई हात जोड्छन् र मान्छेभित्रको पवित्रता झल्किन्छ ।
यस्तो देश संसारमा पाइन्न । कुनै ठाउँमा साह्रै फोहर गरे भनेर देवीदेवताको फोटोहरु लगेर टाँस्ने र अविर छरिदिने चलन छ ।  यो देख्नासाथ मान्छेहरु त्यो ठाउँमा फोहर गर्दैनन्, ढोग्दै हिड्छन् । यति पवित्र देशमा राजनीति चाहिं फोहरी छ ।
राजनीतिले बिगारेको देश संसारमा कतै छ भने त्यो नेपालमात्र हो । संसारमै नभएको भ्रष्टाचार यही देशमा हुन्छ । संसारमै नहुने नैतिकहीनता नेपालमै हुनछ । यहाँ शासक र प्रशासकहरु अलकत्रा, सिमेन्ट, धुलो माटो, बालुवा ढुंगा, फलाम, धातु जे पनि चपाउँछन् । त्यसमाथि सत्ता त भ्रष्टाचारमाथि आसिन छ । पहिले सिंहदरवार, शितलनिवास, राजदरवारलाई भ्रष्ट भनिन्थ्यो, अहिले राजदरवार त संग्रहालय बन्यो, बाँकी दरवारहरु पार्टीका तरवार बनेका छन् र राष्ट्र र राष्ट्रिय ढुकुटीलाई सुकुटी बनाएर चपाइरहेका छन् । स्वाभिमान र सार्वभौमिकता त नेताहरुको आलोपालो र भागबण्डाको सितन हुनपुगेको छ । आमनागरिकको विश्वास शिवलिङ्ग र बाबाहरुको लिङ्ग ढोग्नेमा सिमित छ भने नेताहरुको विश्वास विदेशीको पाउमा लम्पसार पर्नुमा । लोकतन्त्र, गणतन्त्र भनेर के गर्ने, नागरिकमाथि अनागरिक र नैतिकहीनको शासन चल्न थाल्यो ।
एउटा रिपोर्ट यस्तो आयो–
राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रले गरेको अध्ययन अनुसार नेपालमा ५३ हजार महिला र २८ हजार पुरुष यौनकर्मी छन् । बिगत ६ वर्षमा यो तथ्याङ्कको आधाहिस्सा थियो, ६ वर्षमा दोब्बर भएछ । यसबाट के थाहा पाउन सकिन्छ भने महगी र यौनकर्मी अतासलाग्दो तरिकाले बढिरहेको छ । राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्ऽको अगुवाई तथा सेभ द चिल्ड्रेन र ग्लोबल फण्डसँग सम्बन्धित राष्ट्रिय सञ्जालहरु र अन्य साझेदार निकायको सहयोगमा इन्ट्ररपीड नेपालले चार महिना लगाएर अध्ययन गरेको रिपोर्ट हो यो ।
३ करोड जनसंख्या छन्, त्यसमा ६० हजार युवायुवती विदेशीएका छन् । बाँकी २ करोड ४० जति जनसंख्यामध्ये झण्डै एकलाख यौन व्यवसाय गरेर पेट पाल्छन् भने देशको अर्थतन्त्र कतातिर उन्मुख भइरहेको छ त ?
यो तथ्यमा समलिंगी र तेश्रो लिंगीको यौनकर्म सामेल छैन ।
०५४ सालमा एमालेका वामदेव गौतम गृहमन्त्री थिए र उनले पोखरा पुगेर प्वाक्कै बोलिदिए– अव नेपालमा रेडलाइट एरिया बनाउने बेला भयो, कानुन बनाएर यौनकर्मीहरुलाई यौनपेशामा छुट दिनु उचित हुनेछ । यसैगरी डीआइजी पार्वती थापा मगरले पनि यौन पेशाकर्मीलाई पेशाको छुट दिन कानुन बनाउन अवेर भइसकेको बताएकी थिइन् । पछि दोश्रो संविधानसभाको निर्वाचन गराउने जिम्मा पाएका सर्वोच्चका न्यायाधीश सरकार प्रमुख बने र उनले राजनीतिक सहमतिमा सिनियर पार्वतीलाई आइजीपी नदिएर उनलाई अवकाशमा जान बाध्य पारे । जब सर्वोच्चका न्यायाधीश सरकार प्रमुख हुँदासमेत महिला हिंसा हुन्छ भने समाजको स्थिति र अवस्था कतिसम्म दयनीय होला, अनुमान गर्न सकिन्छ ।
दुबईमा ६ हजार नेपाली युवतीहरुले यौनबजार गुलजार गराएको खबर आएको छ । यद्यपि खाडी मुलुकहरुमा मात्र होइन, नाइजेरियाजस्ता अविकसित मुलुकमा समेत नेपाली युवतीहरुले यौन बेचिरहेका छन् । जति पनि हाउसमेड बनेर खाडी मुलुक अथवा इजरायल र अन्य मुलुक वैधअवैधमार्गबाट गइरहेका छन्, तिनमा अधिकांशमाथि यौनशोषण भइरहेको, मानसिक र शारीरिक यातना दिइएका खबर पनि आइरहेका छन् । यी सबै तथ्य र तथ्यांकले के देखाउँछ भने नेपाल यौन बजार भइसक्यो । रोजगारी सिर्जना गर्न नसक्दा र हातहातमा मोवाइलका कारणले पनि युवाहरुको यौनतृष्णालाई ह्वात्तै बढाइदिएको छ ।
यतिमात्र होइन, यौनतृष्णा मेटाउन पहिले पहिले बम्बै र थाइलेण्ड जाने धनाध्येहरु नेपाल आउन थालेका छन् । बम्बै मुम्बई बन्यो, नेपाली युवतीका लागि संसारका ६० मुलुक बम्बै बनिसकेको देखिन्छ । अब त नेपाल नै अघोषित बम्बै भइसकेको छ । यसको प्रमाण हेर्न मेरी स्टोप्स, औषधि पसल र स्वास्थ्य केन्द्रहरुमा गरिने वैध अवैध गर्भपतनको कहालीलाग्दो तस्वीर हेरौं । लोकतन्त्र भनेको धर्मसंस्कृति, रितिरिवाज, समाज सभ्यताको पतन हो र सरकार ?

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper