banner
banner

राजन्, कस्तुरी हराएको मृग नबन

स्वयम्भनाथ कार्की- 
‘राजा’ महेन्द्रले सेनाको बलमा ०१७ सालको कदम चालेको भन्ने भ्रम छरिएको छ । भन्न त यहाँसम्म पनि भनिन्छ कि यो कदम नेहरुको सहमतिमा चालिएको थियो । पत्याउनेहरुको कमी पनि छैन । हुनत ‘प्रचण्ड’ भन्ने मान्छे निर्मल निवासमा वस्छसम्म पनि भनियो । अनौठो कुरा त के छ भने त्यही निर्मल निवासबाट गएर गद्दी सम्हालेर प्रचण्डको मेहेनतले गद्दीच्युत हुुँदा पनि प्रचण्ड उनैबाट परिचालित भन्नेहरु छन् । र, यस्ता भ्रम फैलाउन नेपालका मुलधारका भनिएका व्यवसायिक संचारगृह लगेका छन् । जनता भने वाल्ल परेर वस्नुपरेको छ किनकी सबै आरोपहरु सहेर ‘राजा’ चुप बसेका छन् सर्वसाधारण जनतालाई अझै अप्राप्य भएर ।
राजा महेन्द्रले त आफु विरुद्धको यो हल्ला असरहिन बनाए सर्वसाधारण जनतासंग सिधा सम्वन्ध राखेर अनि पञ्चायत मार्फत करिव ५० हजारलाई मुल प्रवाहमा ल्याएर । त्यसैले उनी विरुद्धको यो हल्ला पत्याउनेहरुमा हल्ला चलाउनेहरु कै झोले, भजनेहरु मात्र रहे । हो कालान्तरमा राजकाजप्रति अरुची भएका र राजकाजको अनुभव नभएका तर सर्वसाधारणसंग दुरी राख्ने उत्तराधिकारीहरुका कारणले स्थिति त्यो रहेन । पृथ्वीनारायण शाहले नेपाल एकिकरण गरेर ‘अपराध’ गरेका थिए भन्ने साहस गर्नेहरु पनि पैदा भएका छन् । यस्तै भन्नेहरु नेपालको शासनबाट, ठूला संचारगृहबाट अनि कथित बुद्धिजीविबाट अभिनन्दित तथा पुरष्कृत हुुदैछन् ।
वर्तमान प्रणालीले आजित भएर जनता विकल्प खोज्दैछन्, तर विकल्पको रुपमा प्रस्तुत हुन पर्ने शक्ति भने आफुलाई शक्ति प्रदान गर्नसक्ने सर्वसाधारणसँगको सिधा सम्पर्क छोडेर अन्यत्र हेर्दैछ । आफ्नै साथमा भएको कस्तुरी खोज्न मृग फन्फनी घुमेजस्तो, ठिक आफ्नो ७१औं जन्मदिनमा अभिव्यक्त ‘कस्तुरी हराएको मृग झैं शुन्यतामा हराइरहेका छांै’ भनेजस्तै । भारदार तथा सल्लाहकारहरुको भर पर्नाले तथा सर्वसाधारण जनतासँग टाढिनाले कति भारदारहरु आपसी झगडा र बापवैरी साधनले अकालमा ज्यान गुमाउन वाध्य भए । नेपालको इतिहासमा कुनै पनि तरिकले पाण्डे र थापाहरुको त्यो बापवैरी साधन राम्रो मानिन्न । पृथ्वीनारायण शाहका कुरा प्राचीन होलान तर महेन्द्र त अनुभव गरेकै हो । 
सवैलाई थाहा छ घर बलियो बनाउन जग बलियो बनाउनु पर्छ , देश बलियो बनाउन जनता वलियो बनाउनु पर्छ । विदेश त जो वलियो छ त्यसलाई समर्थन गर्ने गर्दछ, मनले नभए पनि । राष्ट्रनिर्माताले त्यसै भनेका हैनन ‘प्रजा मोटा भए दरवार बलियो हुन्छ’ । मोटाको अर्थ यहाँ कसैले पनि शाररिक मोटाई भन्ने लगाउँदैन । यो त गौरव गर्नु पर्ने कुरा हो कि ६३ तिरको त्यो ऋणात्मक लोकप्रियता , करिव ११ बर्षको गद्दीबाट निर्वासन पछि पनि जनताले आस्था छोडेको छैन । अझै घोक्रो फुकाएर नारा लगाउदैछ ‘राजा आउ देश बचाउ’ । के सर्वसाधारणको त्यो आस्थाको मूल्य छैन र ?
यी र यस्ता कुराहरु आलेखका विषयबस्तु बन्न हुुँदैन थियो, तर राष्ट्र भन्दा ठूलो अर्को केही छैन । राष्ट्र कै अवयवहरु हुन राजा, जनता अनि भूगोल । अवयवको निमित्त सिंगो राष्ट्र उपेक्षा गर्न सकिदैन । जनता जागरुक छन परिवर्तन खोज्दैछन्, यो सत्य हो । तर कस्तो परिवर्तन भन्नेमा अन्योल भएको हो, वैकल्पिक शक्ति नदेख्दाको निराशा हो । अनेकौं संगठन तथा समुह छन जो अहिलेको दूरावस्थाको चित्रण गर्दछन् तर विकल्पको रुपमा केही पेश गर्दैनन् । किन केको संकोच वा डरले उनिहरु आफ्नो कुरा प्रष्ट भन्न सक्दैनन् ? कारण स्पष्ट छ केहीले ‘राजा’ आफ्नो पेवा भएको भ्रम छरेका छन । 
अर्को कोही निस्कियो भने सौतेनी डाहले वशिभूत भएर त्यसै माथी झम्टन्छन । कोही यतिसम्म पेवा ठान्छन् की आफुलाई असफल भएमा राजा सहितको प्रजातन्त्रको विषय नै समाप्त हुने भनेर भन्ने हिम्मत गर्नछन् । ‘राजा’ले यो सबै मायाजाल तोडेर राजा सबका साझा भएको छनक दिने कि अझै सर्वसाधारणलाई अप्राप्य भै रहने ? घेरा भित्रबाट बाहिर निस्कने वित्तिकै जनतामा के असर पर्‍यो भनेर बुझ्न कुमारी दर्शनमा तात्कालिन सरकारले लगाएको रोक र त्यसको विरोधमा कुमारीहरु आफै निर्मल निवासमा उपस्थित भएको प्रयाप्त छैन र ?
देशको दुरावस्थाले धेरै समय पर्खिन सक्दैन, नश्वर शरिरमा उमेरको असर पर्दै जान्छ । बुझ्नु पर्ने कुरा के भने जव हरेक ठाउँमा ‘राजा’को चर्चा विकल्पको रुपमा हुनथाल्छ, कुनै आन्दोलन नै चाहिन्न । कुनै विदेशी शक्तिले कोपभाजन बनाउने हिम्मत नै गर्दैन साथ आफै दिन्छ माग्नै पर्दैन । त्यसैले अन्तिम पटक ‘राजा आउ देश बचाउ’ नारा लगाउनेहरुले ‘राजा हामीसँग आउ, मिलेर देश बचाउँ’ भन्ने नारा लगाउनु पर्ने भएको छ । हुनसक्छ अप्राप्य वस्तु भै रहने चाहानाको खोल तोडेर यो कुरा कानमा पुगोस् ।
  ‘हाम्रा पुर्खाले जोडेको र जोगाएको यो देश सदा संरक्षित होस्, सदा सम्बृद्धिको बाटोमा अघि बढोस् मेरो मुल चाहना र कामना यही नै हो’ भन्ने अभिव्यक्तिको मान राख्ने हो भने सर्वसाधारण जनतासँग प्रत्यक्ष संवाद कायम गर्नुको कुनै विकल्प छैन, न देशमा न विदेशमा । अझै यी कुरामा ध्यान नदिने हो भने जनता पनि एकोहोरो मायाले थाकेर आस्था नै विसाउन पर्ने हो कि भन्ने सोचमा नपुगुन् । त्यसले कसैको हित गर्दैन । ‘राष्ट्रियता, सार्वभौमिकता र राष्ट्रिय एकता कायम गर्न हामी सबै एक जुट हुनुपरेको छ’ भन्ने अभिव्यक्तिपूर्व नै जनता एकजुट हुन चाहेकै हो तर मियोको उपस्थिति चाहियो । मियो बिना एकजुट हुने कसरी, सम्भाबना कहाँ छ ?

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper