banner
banner

यतातिर लाग्ने कि ?

शाश्वत शर्मा -
अचम्म तरिकाले निषेधको राजनीति गरिदैछ । अग्रगमनकारी लोकतन्त्रमा निषेधको राजनीति पनि सफल होला र ?
हिजो पञ्चायतले निषेधको राजनीति गरेको थियो, ०४६ सालपछिको बहुदलीय राजनीतिमा पनि निषेधको निषेध हुनसकेन । तत्कालीन विद्रोही माओवादीलाई ह्याकुल्लाले मिचेरै सिध्याउँछौं भनेर यिनै शेरबहादुर र उनका पछि प्रधानमन्त्री बनेकाहरुलाई लागेकै थियो । सफल भएनन् ।
अन्तत: जंगल र सहरमा आतंक मच्चाउनेलाई साइजमा ल्याउनका लागि राजसंस्थालाई बली चढाइयो । हिन्दुधर्मलाई सिध्याइयो र क्रिश्चियन धर्मलाई टाउकोमा चढाइयो । हिन्दुत्व र परम्परागत शक्तिलाई किनारा लगाएर, निषेध गरेर नेपालको शान्ति र प्रगति सम्भव होला ?
९५ प्रतिशत ॐकार परिवार र नेपाल निर्माणकर्ता शक्तिलाई पाखा लगाएर पार पाउन सकिन्छ भनेर यिनले कसरी सोचे होलान् ? यिनीहरुको ल्याकत र ताकत १२ वर्षमा राम्रैगरी थाहा पाइयो । हुटिट्याउँले सगर थाम्नु र यी राजनीतिक दलहरुले लोकतन्त्र हाँक्नु उस्तै उस्तै भइसकेको छ । विश्लेषकहरुले भन्न थालिसकेका छन्– सूर्यलाई हत्केलाले छोप्नु र यिनको राजनीति लोकतान्त्रिक हुनु उस्तै हो ।
भनिन्छ, पूर्वराजाका बारेमा राप्रपाका अध्यक्षको जिब्रो लरबरिदा गाईको भोट स्वात्तै घट्यो । एमालेका अध्यक्ष केपी ओली र राष्ट्रपति विद्या भण्डारीले संस्कारको सम्मान गर्दा मेजार पार्टी कांग्रेसलाई उछिनेर स्थानीय तहमा मेजर पार्टी बन्यो । चर्को बोल्ने र चरित्रमा कमजोरी देखाउनाले माओवादी केनद्र धरासायी भयो । परम्परागत तत्वमा शक्ति छैन भनेर कसैले कसरी भन्नसक्छ ?
राप्रपा सच्चिन बाध्य भयो । राजपाले परम्परागत शक्तिका बारेमा चुँ बोलेको छैन, असोज २ को निर्वाचनमा राजपा चुनावमा गयो भने उसले राम्रै मत ल्याउनेछ । कांग्रेसले पनि बिस्तारै हिन्दुत्व र राजतन्त्रको कुरो बुझ्दै गएकाले उसले पनि चुनावी नतिजामा सुधार गर्न सक्ने आँकलन अहिलेदेखि नै गरिएको छ ।
राजावाद किनारामा छ, तर राजावाद शक्ति हो । पूर्वराजा घरबाहिर निस्कनासाथ जयजयकार घन्किन्छ, पूर्वराजाका पछाडि लर्को लाग्छ । यो केको आकर्षण हो ? गतहप्ता पूर्वराजाको मुटुको धमनीमा समस्या आयो, नर्भिक अस्पतालमा भर्ना भएका पूर्वराजाको सकुशलता, सुस्वास्थ्यको कामना गर्नेहरुको भीड लाग्यो । राष्ट्रपतिले समेत पशुपतिनाथ गुहारेर सुस्वास्थ्यको कामना गरेकै हो । राष्ट्रपति पूर्व एमाले हुन्, उनले देखाएको संस्कार यथार्थमा परिपक्व प्रदर्शन हो । राजनीतिमा मानवीयता र सम्मानको ठूलो अर्थ हुनेगर्छ । निषेधवादले अघि बढ्न सकिन्न भन्ने सन्देश पनि हो त्यो । निषेधको राजनीति चल्दैन भन्ने जसले बुझ्छ, उसले जनमत जित्छ, बाजी मार्छ, जुन एमालेले देखायो ।
कुनै पनि राजनीतिक शक्तिलाई स्पेश दिनुपर्छ, सम्मानमा राख्नैपर्छ । साइज कसैको पनि समयक्रममा ठूलो सानो हुनसक्छ । त्यो राजावाद होस् कि  जनवाद, मधेसवाद । मूल कुरो नेपालवाद प्रमुख हुनुपर्‍यो, उसले निषेधलाई परित्याग गर्नुपर्‍यो र समान दृष्टिकोण राख्नुपर्‍यो । यसमा मानवता भरिएपछि त्यो पार्टी असल पार्टी बन्नसक्छ ।
निषेध बढ्यो भने अनेक संवैधानिक बाधाहरु उत्पन्न हुनसक्छन् । निषेध परित्याग गरेपछि प्रधानमन्त्रीय अथवा राष्ट्रपतीय जुनसुकै सिद्धान्तको वकालत गरे पनि भयो । जनताले समर्थन गरिदिएपछि त्यो पद्धति बन्नसक्छ । यतिबेला माओवादीले राष्ट्रपतीय पद्धतिको माग गरिरहेको छ । समयक्रममा यो पद्धति नआउला भन्न सकिन्न । सवाल स्थिरताको हो । माओवादी निषेधको पक्षधर भएकाले स्थिरता अझै आउन सकेको छैन । 
हो, माओवादी होस् कि एमाले, कांग्रेस होस् कि अरु पार्टी । पालैपालो सरकार चलाएकै हुन्, सरकारमा सामेल भएकै हुन् । सब ठिक हुन्छ भन्ने यिनीहरु नै हुन् र सबै बिगार्ने, अस्तव्यस्त पार्ने पनि यिनै दलहरु हुन् । आलोपालो सरकार चलाउने, संवैधानिक अंगहरुलाई भागबण्डामा सिमित राख्ने र ठूला दलले निर्णय गरेपछि संविधान त्यही हो भन्ने खालको क्रियाकलाप दिनदिनै मजबुत हुँदै गएको छ । यो स्थितिमा सुधार ल्याउने र लोकतान्त्रिक व्यवस्था सञ्चालन गर्ने हो भने बिधिको सीमामा सबै बस्नै पर्छ । लोकतन्त्रमा नेता, पार्टीको निर्णय होइन, संविधानको सीमाले काम गर्छ । लोकलज्जा र नैतिकताको गरिमा रहन्छ । आज यी सबै केही पनि छैनन् । जता हेरे पनि नेतातन्त्र, कार्यकर्तातन्त्र चलिरहेको छ, यसरी लोकतन्त्र होइन, लज्जातन्त्रमात्र चल्नसक्छ, जुन चलिरहेको छ ।
अग्रगमन, नयाँ नेपाल बनाउन अग्रसर भएका यिनै नेता हुन् । जसलाई जनताले खुब समर्थन गरे, विश्वास गरे र भरोसाका साथ मत दिए । तर यिनले न अग्रगमन, न नयाँ नेपाल देखाउन सके । जे देखिएको छ, त्यो नेताहरुको मनलागीतन्त्र मात्र छ । न्यायाधीश, राजदूत र सुरक्षा निकायको आइजीपीसमेत दलीय भागबण्डामा नियुक्त हुन थालेपछि अरु के बाँकी रह्यो र लोकतन्त्र भन्नु ?
१ सय २५ जातिको देश, पहिले राजावादले एकसूत्रमा उनेको थियो । त्यस्तो चमत्कारिक शक्ति बन्न कुनै नेता, दल अथवा वादले इच्छाशक्ति नै देखाएनन् । यिनको ध्यान मात्र सत्ता र शक्तिमा गयो । लोकतन्त्र त अँगालियो, एकता विभाजन र राष्ट्र बिखण्डनको बीउ रोपियो ।
राष्ट्रको चौतर्फी बेहालत, अनीति र अराजकता देखेर चिन्तित भएका बुद्धिजीवीहरु नै भन्छन्– दह्रो अभिभावकत्वको आवश्यकता छ । राष्ट्रपति, प्रधानमन्त्री छानिने तरिका र सांसदहरु जित्ने मनोनित भएकाहरु पनि देखियो । यसकारण एउटा एकताको मौलो चाहिने नै रहेछ ।
देश चलाउने राजनीतिक दलहरुले नै हो । जनता र देशको सवद्र्धन गर्ने पनि राजनीतिक दलहरुले नै हो । मात्र एउटा बहुजातीयय र बहुभाषीय समाजलाई जोड्ने एउटा सूत्रको खाँचो छ । त्यो सूत्र नभएकाले नै आमनागरिक आज निषेधमा परेका छन्, विभेदमा परेका छन् । एकजना पनि राजनेता जन्मिन नसक्नुको कारण कै यो परिणाम हो । व्यक्तिको स्वतन्त्रता, पद्धतिको सुनिश्चितता र राष्ट्रको सार्वभौमिकताको रक्षाका खातिर पनि अव सोच्ने बेला भयो ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper