banner
banner

राजतन्त्रवादीका कुरा

शाश्वत शर्मा -
पर्सी असार २३ गते शुक्रवार पूर्वराजाको ७१औं जन्मोत्सव । सदाझैं यसवर्ष पनि जन्मोत्सव हर्षबढाइँका साथ मनाउन ३५ सयको शुभजन्मोत्सव समिति गठन भइसकेको छ । यो समितिको काम अहिलेसम्म सडकमा केही देखिएको छैन । जयजयकार गर्नु र शुभकामना दिनु यस्तो समितिको विशेषता हो ।
जन्मोत्सवमा शुभकामना दिनु राम्रो । यो नेपाली विशेषता पनि हो । तर, राजावाद, हिन्दुवाद संकटमा परिसकेको छ र संकटका बेलामा राजावादीहरु कोठे जयजयकारमा लागेर बैतर्णी तर्न सकिन्छ भनेर सोच्नु गलत हो । राजावादीको कमी छैन तर राजावाद फलाउने, फुलाउने र देशहितमा लगाउने सोचको कमी छ । सोचका लागि नेतृत्व चाहियो । राजावाद बोकेर सडकमा निस्कने नभएकाले पूर्वराजाको जन्मोत्सव फगत कर्मकाण्डमा सिमित हुनपुगिरहेको छ ।
अव कर्मकाण्डी जन्मोत्सव होइन, देशहित र देश बचाउनका लागि हिन्दुवाद र राजावाद जागृत हुनुपर्छ । भजन कीर्तन र जयजयकारले मात्र पार लाग्दैन । भगवान भरोसा भएर मन्दिर घुम्ने र कोठामा क्रान्तिकारी बन्नेहरु जतिसुकै ठूलो पल्टन भए पनि कुनै लछारपाटो लाग्नेवाला छैन । नेपोलियनले भन्थे– मलाई सिपाहीको भीड चाहिन्न, भीड नियन्त्रण गर्ने काविल केही व्यक्ति भए पुग्छ । देश बलेको मैनबत्ती जसरी पग्लदै पग्लदै सिद्धिदै छ । मैनबत्ती बल्दैमा देश बचाउन, राजावाद र हिन्दुवाद जगाउन सक्ने काविल व्यक्तिहरुको खाँचो परेको छ देशलाई । सवाल कुनै व्यक्ति राजा हुने कि नहुने भन्ने होइन । सवाल हो, यो देशको मियो भएन, जसका कारणले देश बेवारिसेजस्तो बन्न पुग्यो । इतिहासदेखि वर्तमानसम्म जिवन्त रहेको देश बेवारिसे बन्न सक्दैन । यसकारण राजावाद र हिन्दुवाद जाज्वल्यमान हुनुपर्‍यो ।
अचम्म अचम्मका दृश्यहरु देखिएका छन् । स्थानीय निर्वाचनमा उत्तरी र दक्षिणी ध्रुवजस्ता सिद्धान्त बोकेका दलहरुले तालमेल गरेर चुनाव लडे । यसअघि आलोपालो भन्दै शासनको बागडोर सम्हालेर लुट्नुसम्म लुट्दै आएकाहरु अव सिद्धान्तहीन चुनावी तालमेलसमेत गर्दै अघि बढेका छन् । यो भनेको मिलिजुली लुटौं भन्ने हो । यसरी दलीय बाहुबली जबरजस्त तरिकाले भ्रम छरेर देशलाई खोरिया बनाइरहदा पनि ब्लुब्लडेड नागरिकहरु हेरेर बस्ने ?
०६३ सालदेखि थिचोमिचो गरियो । ०६५ सालमा राजतन्त्र नै उन्मूलन गरेर गणतन्त्र कार्यान्वयन गरियो । संविधान जारी भयो । तर अहिलेसम्म देशको शासन, प्रशासन उही मिलोमतो, उही सेटिङ, उही भाग शान्ति जय नेपालमा चलिरहेको छ । यसरी कहिलेसम्म देशलाई लखनौं लूट गर्न दिइरहने ? अव त अति भइसक्यो ।
अझै उही जयजयकारको भीड । भोलि परिआयो भने, गणतन्त्रवादीले जबरजस्ती गर्न खाजे भने सबैभन्दा पहिले भाग्ने जमात यही हुनेछ । छाती ठोकेर म राजावादी, म हिन्दुवादी, म देशवादी भन्ने कतिजना छन् यो भीडमा ? देशमा जति पनि परिवर्तन भएको छ, भीडतन्त्रबाट भएका छन्, सबै मिडियावाजीले भएको छ । विचार, सिद्धान्तले कुनै परिवर्तन भएको छैन । यहीकारणले विचारहीन तरिकाले ठूला पार्टीहरु चलिरहेका छन्, चलाइरहेछन् । यस्ताबाट आशा गर्नु भनेको आकाशतिर फर्केर थुक्नुजस्तै हो ।
भनिन्छ, जनता जुन स्तरका छन्, तिनले त्यही स्तरका नेता पाउँछन् । अहिले निर्वाचनाबट जो जितेर आएका छन्, जुन पार्टी अगुवा बनेका छन्, उही लुटाह । असाध्यै खराव इतिहास भएका पार्टीहरु आज पनि हालीमुहाली जमाइरहेका छन् । जनताले बिकल्प खोज्न सकेनन् । हामी बिकल्प बन्छौं भनेर जो अगाडि आएका छन्, तिनलाई जनताले पत्याउँदै पत्याएनन् । ९५ प्रतिशत हिन्दु परिवारका हामी भन्ने दम्भले पनि कुनै नतिजा देखाउन सकेको छैन ।
अव पनि भारतले हिन्दुत्व ल्याइदेला अथवा आमजनताको आवाज सुनेर परिवर्तन गरिदेला भनेर आशा गर्ने ? भारतले आफ्ना लागि ल्याएको परिवर्तन यही हो । लुटाह नेताहरुलाई लुट्नमा व्यस्त पार्ने र भारतको हित साध्ने । भारतले नेपालमा ल्याइदिने परिवर्तन भनेको अराजकता र अस्थिरता हो, जसले नेपाल भारतको डस्टबिन बन्नसकोस् । कवाडी बजार बनाएर नेपाललाई लुट्न सकियोस् । एउटा हातले केही दिएजस्तो गरेर दुई हातले सोहोर्न सकियोस् । अहिलेसम्म नेपालमा भारतको सहयोग यही हो ।
माघ १९ अहिले पनि कालो दिन भनेर लोकवादीहरु कराउँछन् । ३ वर्षमा जनताको नासो जनतालाई नै फर्काइदिन्छु भनेर भन्दा पनि भारतकै बुइ चढेका यिनै दलहरुले पत्याएनन् । तर यिनैले ०६३ सालको परिवर्तनपछि ८ वर्ष लगाएर संविधान लेखे । त्यो संविधान पनि कार्यान्वयन नै हुनसकेन । संविधान कार्यान्वयन हुने दिनसम्म अझै कतिलेब ली चढ्नु पर्ने हो, कति शहिद बन्नुपर्ने हो ? किनभने सिमांकन, नामांकनदेखि मधेसी दलहरु मधेसलाई अर्को देश बनाउँछु भनेर कुर्लिन छाडेका छैनन् । तिनलाई थचार्न सक्ने कोही छैनन्, भारत रिसाउला कि भनेर सबैलाई डर छ । अर्थात भारतको हाउगुजीदेखि ठूला दलहरु त्रसित छन्, त्यही हाउगुजी देखाएर पारीबाट आएका केही नेता मधेसका नाममा भारतीयकरण गर्न खोजिरहेका छन् । जुन एक नेपालको सिद्धान्त विपरित छ ।
राजा भन्ने बित्तिकै निरंकूश हुन्छन्, नेपालको प्रगतिको बाधक, शान्तिको विरोधी भनेकै राजतन्त्र हो भनेर खुब झ्याली पिटियो । झ्याली पिट्नेहरुले १२ वर्षमा १० सरकार बनाए । खोई त राजा फाल्नेहरु आफै बादशाही बने । सबैभन्दा निरंकूश र अलोकतान्त्रिक चरित्र यिनैले देखाए । राजतन्त्र र हिन्दुवादीहरुको कमी छैन । कमी छ भने नेतृत्व दिनसक्ने इमान्दार र इच्छाशक्ति भएको व्यक्तिको छ । त्यो व्यक्ति अहिलेसम्म देखिएन ।
भन्नलाई जनताले खोजे म यहीँ छु भन्ने पूर्वराजा नै हुन् । देशको भार बोक्न तैयार छु भन्ने पनि पूर्वराजा नै हुन् । अहिलेका राजनीतिक दलहरुलाई खबरदारी गर्नसक्ने लोकप्रियता कोहीसँग छ भने त्यो पूर्वराजासँगै छ । जनताले विश्वास गर्ने व्यक्ति कोही छ भने त्यो पूर्वराजा ज्ञानेन्द्र शाह नै हुन् । किन पूर्वराजा नेपाल निर्माता पुर्षाको इतिहास बचाउन अघि सर्दैनन् ? यो समयले उठाएको गम्भीर प्रश्न हो ।
राजतन्त्र पुनस्र्थापना हुन्छ कि हुन्न भन्ने प्रश्न भन्दा पनि नेपाली राष्ट्रवाद जोगिन्छ कि जोगिन्न, स्वाधीनता र सार्वभौमिकता साबुत रहला कि नरहला ? यस्ता प्रश्नहरु उठेका छन् । यी प्रश्नको जवाफ दिनसक्ने र कर्तव्यच्यूत, सिद्धान्तहीन बनिसकेका राजनीतिक दल र दलीय नेताहरुलाई सही मार्गमा ल्याउने ल्याकत, हैसियत कसैमा छ भने त्यो पूर्वराजामा मात्र छ ।
राजनीतिलाई देशवादी बनाउन सके इतिहास बच्छ, नेपालीत्व जोगिन्छ । राजावाद र हिन्दुवादको शुभघण्टा बज्छ । अर्काको लहै लहैमा लागेर गर्व र गौरव हुत्याउने नकाम भएको छ, त्यो सुधार हुन्छ । सत्ता चलाउने र राजनीति गर्ने पार्टीले नै हो । पार्टीले बाटो बिराएकाले बाटो देखाउने जिम्मेवारी पूर्वराजाको काँधमा आएको छ । हामी जन्मदिनको अवसरमा पूर्वराजालाई देशको भार उठाउन आग्रह गर्छौं । के पूर्वराजाले यो सहृदयतालाई स्वीकार गर्लान् ?

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper