banner
banner

यस्तै हुन्छ निर्वाचन आयोग ?

अधिबक्ता शिवप्रसाद सिग्देल -
निर्वाचन आयोग कस्तो हुन्छ, हुनुपर्छ ? यसबारेमा भारतकै सिको गरेको भए पनि निर्वाचन आयोग सवल र सक्षम देखिने थियो । सरकारको मुखबीरका रुपमा निर्वाचन आयोगको छवि देखिनु भनेको लज्जास्पद कुरा हो । निर्वाचन आयोग संवैधानिक निकाय हो, यो निकायले आफ्नो संवैधानिक स्तरलाई कुनै हालतमा पनि कायम राख्नुपर्छ । निर्वाचन आयोगको सक्षमता र सवलतामा जनमत, जनबलको कदर हुनेमात्र होइन, लोकतन्त्रप्रतिको विश्वास समेत कायम हुनेगर्दछ । यो यथार्थ निर्वाचन आयोगले बुझेको हुनुपर्छ । किनभने यी पाँचैजना प्रमुख र आयुक्तहरुको योग्यतामा प्रश्न गर्ने ठाउँ नहोला तर यिनले गरेका निर्णयहरुले, दिएका निर्देशनहरुले निर्वाचन आयोगप्रति जनविश्वास, राजनीतिक दलहरुको वितृष्णा बढेको छ । यो दुर्भाग्यपूर्ण छ ।
पूर्व निर्वाचन आयुक्तहरु सूर्यप्रसाद श्रेष्ठदेखि केशवराज राजभण्डारीसम्मले वर्तमान निर्वाचन आयोगले गरेका निर्णयहरु सरकारी हुकुमको तामेली गर्ने खालको भयो, यसो हुनुहुन्थेन भनेर टिप्पणी गरेका छन् । यी टिप्पणीहरु यी महारथीहरुले पढेका छ्न्, सुनेका पनि छन् । तैपनि यिनले निर्वाचन आयोगको स्वच्छता र स्वतन्त्रताको रक्षा गर्न नसक्नु भनेको दु:खदायी परिस्थिति नै हो ।
प्रमुख आयुक्त अयोधीप्रसाद यादव, आयुक्तहरु इला शर्मा, ईश्वरीप्रसा पौडेल, नरेन्द्र दाहाल र सुधीर कुमार शाहले प्रशासन, राजनीति, ऐन कानुन बुझेका छन् । यद्यपि यी सबै आयुक्तहरु कांग्रेस, माओवादी केन्द्र, एमालेका कोटामा भर्ति भएका हुन् । भर्ति हुनु, आयुक्त बन्नु एउटा कुरा हो । आयुक्त भइसकेपछि संस्थाको गरिमा र महिमाको रक्षा गर्नु र संविधानलाई कतैबाट पनि कमजोर बन्न नदिनु यिनको पहिलो धर्म हुनुपर्छ । यो धर्म भनेको निर्वाचन गराउने दायित्व पूरा गर्दा कुनै व्यक्ति वा पार्टीको पक्षमा नलागी स्वतन्त्र र स्वच्छ चरित्र निर्माण गर्नु । निर्वाचन आयोगको यही बिधिव्यवहारमा निर्वाचनप्रति जनविश्वास बढ्ने हो, निर्वाचनका माध्यमबाट संविधानको कार्यान्वयन हुने हो र लोकतान्त्रिक पद्धतिको जग मजबुत हुँदै जाने हो । निर्वाचनमा धाँधली भयो, निर्वाचनमा सरकारी साधनस्रोतको दुरुपयोग भयो, निर्वाचनमा बाहुबलीको बोलबाला भयो, निर्वाचनमा आचारसंहिता तोडियो भन्नेजस्ता जनगुनासाहरुले निर्वाचनको परिणामप्रति प्रश्नचिन्ह उठाउने गर्छ । जस्तो भरतपुर महानगरको मतगणना सम्बन्धमा सत्तापक्षको आदेश पालना गरे प्रमुख निर्वाचन आयुक्तले भन्ने आरोप घनिभूत रुपमा उठ्यो । जुन आरोपले निर्वाचन आयोगको अनुहार सफा छैन भन्ने देखायो । अन्य आयुक्तहरु बेला बेलामा निर्वाचन क्षेत्र पुग्छन् तर समस्याबाट पन्छिएर राजधानी फर्कन्छन् । निर्वाचन आयोगभित्र निर्वाचनका नाममा भ्रष्टाचार भएका छन्, आफैले आचार संहिता मिचेर सचिव फरेका घटना भएका छन् । यी आदि दृश्यहरुले निर्वाचन आयुक्तहरु पार्टीगत मनस्थितिबाट मुक्त छैनन् भन्ने देखियो । जसले गर्दा यस्तै हुन्छ निर्वाचन आयोग भनेर जनजनमा प्रश्न उठेका छन् । यस्ता प्रश्न उठ्नु हुन्न है ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper