banner
banner

सुगौली सन्धि र गोर्खा

स्वयम्भुनाथ कार्की - 
१८१४ देखि १८१६ सम्म चलेको अंंग्रेज नेपाल युद्धको गौरवशाली समर ‘नालापानी’ हो । ३१ अक्टोबर १८१४ देखि ३० नाभेम्बर १८१४ सम्म चलेको यो युद्धमा अंग्रेज मेजर जनरल रोवर्ट रोलो जिलेस्पी सुरुमै नेपाली सैनिकको गोलीको तारो भएका थिए । त्यसपछि जिलेस्पी (धेरैले गिलेस्पी उच्चारण पनि गर्छन्) गर्दै आएको कमान कर्नल सिब्राइट मुबेले सम्हाले । नालापानीको किल्ला गुमाउनु परे पनि नेपालीले आर्जेको वीरताको रूपमा यो गाथा रहेको छ । बलभद्र कुँवरको टोलीको यो निर्भिक बहादुरीको प्रशंसा शत्रुले समेत गरे ।
नासिरी रेजिमेन्ट नामले संगठित नेपालीहरूको फौजको युद्ध कौशलबाट बेलायतका राजा जर्ज मख्ख परेका थिए । त्यसैले यो रेजिमेन्टलाई सुगौली सन्धिको करिब १० महिना २० दिन अगावै ‘गोरखा राइफल्स’ नाम दिएर आफ्नो निजी फौज बनाए । सम्भवत: यो ‘वान जिआर’ थियो । नासिरी रेजिमेन्टको कार्यक्षेत्र बलभद्रको जिम्मामा रहेको पश्चिम इलाका नै थियो । अब कर्नल सिब्राइट मुवेको टोलीमा यसको उपस्थिति थियो वा थिएन त्यो इतिहासकारहरूको विषय हो । बलभद्र र उनको टोलीले नालापानी छोडेको करिब ५ महिना अर्थात् २४ अप्रिल १८१५ गोरखा राइफल्सको स्थापना दिवस मानिन्छ । अनि १८१४ देखि १८१६ सम्म चलेको अंग्रेज नेपाल युद्धको करिब मध्य भाग ।
यसपछि नेपालीलाई सदा दुख्ने गरेको सुगौली सन्धिको पालो आउँछ । नेपालको तर्फबाट राजगुरु गजराज मिश्र र चन्द्रशेखर उपाध्याय अनि इष्ट इन्डिया कम्पनीको तर्फबाट कर्नल पेरिस ब्राडसाले सही गरे । भनिन्छ, यो सन्धिले हालको सीमामा नेपाललाई सीमित गर्‍यो तर वास्तवमा सुगौली सन्धिमा नेपालले महाकाली पश्चिम र मेची पूर्व मात्र नभएर तिरहुतलगायतका हाल नेपाल भएका तराई पनि गुमाउनु परेको थियो । 
यो सन्धिको धारा ३ मा नेपालले १) काली र राप्तीबीचको तराई २) बुटवलबाहेक राप्ति र गण्डकीबीचको तराई ३) गण्डकी र कोशीबीचको तराई ४) मेची पूर्व बर्मासम्मको तराई ५) मेची पूर्वको पहाड सन्धिको ४० दिनभित्र छोड्नुपर्ने उल्लेख छ । धारा ४ मा तराईका भूभाग छोडेबापत नेपाललाई इष्ट इन्डिया कम्पनीले वर्षको दुई लाख दिने कुरासमेत उल्लेख छ । यो रकम नेपालले त्यो क्षेत्रबाट गुमाउने भारदारहरूलाई आफूखुसी दिन सक्ने कुरा उल्लेख छ । धारा ५ मा काली पश्चिमको पहाडी भूभाग छोडनुपर्ने धारा ६ मा सिक्किमलाई नेपालले आक्रमण गर्न नपाइने कुरा उल्लेख छ ।
धारा ७ मा बेलायतको स्वीकृति बेगर नेपालले कुनै पनि बेलायती, युरोपेली तथा अमेरिकनलाई सेवामा नराख्ने कुरा पनि उल्लेख छ । अनि धारा ८ मा दुवै मुलुकले एक अर्काको मुलुकमा रेजिडेन्ट राख्ने कुरा उल्लेख छ । ९ धाराका सन्धिको यो व्यवस्थाले कोशीपूर्व र मेची पश्चिमको तराई मात्र नेपालको अधिनमा रहेको देखाउँछ । २ डिसेम्बर १८१५ मा प्रक्रिया आरम्भ भएर ४ मार्च १८१६ मा पूरा भएको यो सन्धिले हालको नेपालको सीमा कोरेको होइन । यो त बेलायती रेजिडेन्ट एडवर्ड गार्डनर र नेपालका राजाबीचको अर्को सहमतिले तराईका ती भूभाग ११ डिसेम्बर १८१६ मा फिर्ता भएका हुन् । 
चतुर डेविड अक्टरलोनीले यो सन्धिले दिनुपर्ने वार्षिक दुई लाख घाटाको व्यापार देखेको हुनुपर्दछ । त्यसैले सुगौली सन्धिले नेपाललाई धेरै दबाएको भन्दै गोहीको आँसु चुहाएर केही तराईका भूभाग फिर्ता गरे । राप्तीदेखि महाकालीसम्मको तराईमा अधिकार कायम नै राखेर पनि कम्पनीले तिर्नुपर्ने वार्षिक दुई लाख मिनाहा लिए । त्यसको बदला कुशवाह नदीदेखि गण्डक नदीसम्म अनि गण्डकदेखि राप्तीसम्मको भूभाग फिर्ता भयो । कसैकसैले नेपालको यो तराई सुगौली सन्धिले आर्जेको भनेर व्याख्या गर्ने गरेका छन् । तर यी भूभाग ४ मार्च १८१६ देखि करिब ९ महिना मात्र कम्पनीको हिस्सा भएका हुन् । 
अक्टरलोनीसँगको यही व्यवस्थामा नेपालको दक्षिण र कम्पनीको उत्तर सीमा निर्धारण गरेर सीमा स्तम्भ राख्ने कुरा छ । यसैअन्तर्गत बनेका सीमा स्तम्भलाई नेपालीहरू जंगे पिलर भन्छन् । बलले केही हासिल गर्नसक्ने अवस्था थिएन । युद्ध गर्दा नेपाली सेना र गोर्खा राइफल्सको भिडन्त हुने खतरा थियो । त्यसैले जंगबहादुरले चतुराइको प्रयोग गर्दै ‘नयाँ मुलुक’ हासिल गरेपछि मात्र अहिलेको नेपालको सीमा निर्धारण भएको हो भन्न सक्ने आधार छन् । तर चाहे नेपालको तराईमा मधेस आन्दोलन चलाउनेहरू हुन् वा दार्जि्लिङमा गोरखाल्याण्ड माग्ने हुन्, दुवैले नेपाली मनको घाउ ‘सुगौली सन्धि’ बारम्बार तेस्र्याउने गरेका छन् । त्यसैले सुगौली सन्धिको बारेमा उल्लेख आवश्यक थियो । अब यी सन्धिहरूका व्यहोरा सरकारी चिसा दराजमा मात्र बन्द छैनन् । जो कसैले पनि इन्टरनेटबाट पढ्न सक्छ ।
अर्को उकुच पल्टने गरेर भएको घाउ १९५० को सन्धिलाई मानिन्छ । यो सन्धि समान हो वा असमान हो भन्नेबारेमा कुरा गर्नुपर्ने आवश्यकता नै छैन । सम्भवत: यो नै भङ्ग गर्न सबैभन्दा सजिलो सन्धि होला, त्यसैले यसको धारा १० ले भन्छ ‘यो सन्धि कुनै पनि पक्षले एक वर्षको सूचना दिएर भङ्ग नगरेसम्म जारी रहन्छ’ । यही सन्धिको नाममा राजनीति गरेर सत्तामा पुगेकाहरूले निर्वाध दशक पार गरिसके, तै पनि सन्धि कायम छ । यसको अर्थ सन्धिको अनुपस्थितिमा धेरैको राजनीति गर्ने आधार नै मेटिन्छ त्यसैले गाली गर्दै जीवित राख्नु उनीहरूको विवशता हो ।
अहिले १९५० को सन्धिले सुगौली सन्धि खारिज गरेको छ भन्ने तर्क प्रशस्त आएका छन् । भारतीय स्वतन्त्रता ऐन १९४७ मा नै बेलायतले नेपाललगायत सबैसँग इष्ट इन्डिया कम्पनीले गरेको हरेक बन्दोबस्त निरस्त्र गरेको छ । यसको निमित्त हरेक छिमेकीसँग र कम्पनीभित्रका रियासतहरूसँग अलगअलग व्यवस्था गर्नुपर्ने बनाइदिएको छ । यही काम गरेबापत भारतीय संघमा सरदार बल्लभभाइ पटेललाई लौह पुरुषको सम्मान दिइन्छ । १९५० को सन्धिको जुन धाराले सुगौली सन्धि खारेज भयो भनिएको छ त्यो धारा ८ ले भन्छ, ‘जहाँसम्म यस सन्धिमा उल्लेख भएका कुरा छन् तीसम्बन्धी विषयमा नेपाल सरकार र भारतीय सरकारको निमित्त बेलायती सरकारले गरेका सन्धि, सम्झौता र सहमती रद्द गरिन्छ ।’ 
यो धाराको कानुनी अर्थ के के हुनसक्छ ? यसले सुगौली सन्धिमा गुमेको अधिकार दिन्छ वा दिँदैन भन्ने कुरा सहज नहुन सक्छ । सन्धिको धारा १ मै दुवै मुलुकले एक अर्काको सार्वभौमिकता, भौगोलिक अखण्डता र स्वतन्त्रताको सम्मान गर्दछन् भनिएको छ । यो धाराले तत्कालीन कायम भौगोलिक अखण्डतामा नेपालको मधेस भनिने तराई अनि भारतको टिष्टा र काँगडासम्मको भूगोल समेटिन्छ कि समेटिँदैन ?
गोरखा शब्द नेपालको मञ्जुरीबेगर  युद्धरत अवस्थामै बेलायतले लगेको हो । पछि गोर्खा भर्तिको बारेमा कुनै किसिमको सहमति नेपालसँग भएको प्रमाण पाइन्न तर सरकारले बेचेको भन्ने आरोप चाहिँ सुनिने गरेको छ । दरबारले प्रतिसैनिक रकम नेपालले लुकाउन सक्थ्यो भन्ने मान्दा पनि हल्ला दिने भनिएको राष्ट्रले लुकाएर दिन सक्दैन थियो । यदि सही मान्ने नै हो भने पनि दरबारछेउ लगाएपछि त्यो रकम सरकारको कुन कोषमा दाखिला भएको छ । त्यसैले विगत दुई सय वर्षभन्दा ज्यादा समयदेखि नेपालको मञ्जुरीबेगर बेलायत, भारत आदिले गोर्खा प्रयोग गर्दै आएका छन् । त्यसैले गोर्खा र नेपाल आजको सन्दर्भमा एकै नै होलान् त ?

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper