banner
banner

पञ्चायतको पतन र वर्तमान बिकट परिस्थिति

स्वयम्भुनाथ कार्की -
    पञ्चायती संविधानको २०३२ सालमा गरिएको दोश्रो संशोधनले त्यो प्रणालीको आत्मा नै मारेको थियो । दुई अलग अलग कुराको योगबाट निर्मित यो प्रणालीको आत्मा त्यतिखेर समाप्त भयो जव पञ्चायत प्रणाली र यसको संचालनको निमित्त चुनिने जनप्रतिनिधिहरु जनता र राष्ट्र बाहेक अरुप्रति प्रत्यक्ष वा परोक्षरुपले जिम्मेवार हुनु नपरोस भनेर जोडिएको निर्दलियतालाई अप्राकृतिक मिश्रण गरेर कुरामा निर्दलिय पञ्चायत र काममा एक दलिय पञ्चायत बनाइयो । त्यहि वेलादेखि नै नेपालमा विनाशकारी कालो बादल देखिन सुरु भएको थियो ।
    पञ्चायत नीति तथा जाँचबुझ समितिको व्यवस्था गरियो । अनि विकट र अविकसित गाउँसम्म सबै स्तरका जनतको सहभागिताले विकास कार्य र अवधारणा पुर्‍याउने उदेश्यले २०२४सालमा ल्याईएको शुद्ध सामाजिक कार्यक्रम ‘गाउँफर्क राष्ट्रिय अभियान’ लाई विल्कुलै असम्वन्धित बिषयमा लगाईयो । आफ्नो गाउँ, टोल वा वार्डलाई बुझेको र त्यहाँका वासिन्दाले पनि पत्याएकाहरु मध्येबाट आफ्नो प्रतिनिधि बनाउन पाईने कुरालाई प्रतिनिधि योग्य हो कि हैन भनेर प्रमाणपत्र दिन गाउँफर्क राष्ट्रिय अभियानलाई जिम्मा दिईयो । यो एकदलीय वा भनौ बहुलविचार निषेध गरिएको एक व्यवस्थाको ‘पोलिट ब्यरो’ र ‘अनुशासन विभाग’को प्रतिरुप थियो ।
    निर्दलिय अलग गरेर पञ्चायत प्रणालीलाई हेर्न सकिन्थ्यो । यो अहिले संघीयतामा माग गरिएको विषेशताले युक्त थियो । कसैले पञ्चायती संविधानको दोश्रो संशोधन भन्दा पहिलेको रुपमा अध्ययन गरेको भए उसले प्रष्ट देख्न सक्छ कि प्रस्तावित संविधानको मस्यौदामा राज्य र स्थानिय निकायको गठन मात्र हैन अधिकारमा पनि धेरै प्रतिशत त्यहि पञ्चायतको छायाँ देख्न सक्छ । समाजको क्षमता बृद्धि गर्दै अधिकारहरुको विकेन्द्रिकरण गर्ने लक्षलाई यो दोश्रो संसोधनले त्यसवेला प्रचलित ‘इतर’ र ‘भितर’ पञ्चहरुमा भितरको हालीमुहाली बनाउने अस्त्र बनायो । जनप्रतिनिधिहरु, जनता कतै विभेद परम्परादेखि कायम रहेको विभेद हटाउने पञ्चायतको उदेश्य नै समाप्त भयो । फलस्वरुप गुट उपगुटहरुको जन्म भयो । यो सहि मौका थियो अवैधानिक गुट उपगुट निर्माण हुन दिनुभन्दा वैधानिक राजनैतिक दललाई मान्यता दिने । 
    चार बर्ष नाघ्दा ननाघ्दै जनमत संग्रहमा जानु पर्ने कारण यही नै बनेको थियो । जसमा एकदमै झिनो अन्तरले ‘सुधारिएको पञ्चायत’को पक्षमा भएको मत आएको थियो । यो मत अन्तर सुधारिदा दोश्रो संसोधनले चौपट पारेका कुराहरुको मर्मत हुनेछ भन्ने आशामा भएको थियो । तर भितरिया पञ्चहरु उन्मत्त  र मैमत्त भए । अनेकौ यस्ता कुराहरु लागु गराईयो जो बहुमतको दम्भमा गरिएको मनोमानी थियो । यसको मोल चुकाउनै पर्ने थियो र सुधारिएको पञ्चायतले पनि चुकायो २०४६ सालमा आफुलाई इतिहासको अध्यारो कुनामा धकेलेर । 
    नाम जेसुकै रहोस् तर पञ्चायत प्रणाली स्थानिय मामिलामा, साधनश्रोतमा स्थानीय अग्राधिकारको दर्शन थियो । निर्दलीयता यसको नभई नहुने पक्ष पनि थिएन, त्यसैले बहुदल स्थापना पछि सिमित पार्दै लगिएको स्थानिय अग्राधिकारले जनतालाई चित्त बुझ्ने कुरै थिएन र बुझेन पनि । सुधारिएको पञ्चायले नेपाल प्रवेश गराएको बहुमतको दम्भ झन मौलाउँदै गयो । जनतामा त्यसै समयदेखि असन्तोष बढेको छ । हरेक निर्वाचनमा अलग अलगलाई बहुमत दिएर, कसैलाई बहुमत नै नदिएर जनताले प्रष्ट्र भनेको छ, ‘बहुमतमा दम्भ नगर अर्को पल्ट तिमीले बहुमत पाउने छैनौ’ । 
    यहि बहुमतको दम्भ र पञ्चायतमा रहेको ‘इतर भितर’ सबै दलहरुमा पनि व्याप्त भयो । यसैको विद्रोहमा हतियार उठाउनेलाई पनि जनताले तिरष्कार गरेनन् । शान्तिका पक्षधर जनता किन रक्तपात पनि सहन पुगे भन्ने कुराको विवेचन गर्न अहिलेसम्म पनि कुनै विष्लेषकले जाँगर चलाएको छैन । पहिलो कालखण्डमा पञ्चायतले जनतालाई चटाएको गुलियो भुलिएको छैन । परिवर्तनको नाममा गुलियो थप हुनु पर्नेमा झन तितोपन वढेर गएकोमा जन्मने असंतोष नै हो । त्यसैले जो तात्कालिक व्यवस्थाको विरुद्धमा उत्रन्छ त्यसले जनताको नैतिक समर्थन पाउने गर्दछ बाटो चाहे जे होस । 
    जसरी पञ्चायत पछिको बहुदलले पञ्चायत शब्द नै अस्विकार गर्‍यो त्यसै गरेर ०६३ पछिको व्यवस्थाले प्रतिनिधिसभा वा संसद शव्द नै अस्विकार गरेको छ । संसद शव्दको सामुन्ने व्यवस्थापिका जोड्नै परेको अवस्थालाई केवल शव्दको मात्र फरक हो भनेर मान्नु भुल हो । यो तात्कालिन व्यवस्थाप्रतिको घृणा हो । यसको प्रमाण संविधानसभाको पहिलो निर्वाचनको मत परिणाममा प्रष्ट देखा पर्‍यो । तर जनताले संसदिय दलहरुलाई गरेको उपेक्षालाई माओवादीले आफ्नो लोकप्रियता भन्ने ठान्यो । उसको यो भूलको परिणाम भाग्यो दोश्रो निर्वाचनमा । संसदिय दलहरुले अर्काको नकारात्मक मतका कारणले पाएको बहुमतलाई फेरि पनि आफ्नो लोकप्रियता ठान्ने भुल गरिरहेका छन ।
    यो वेलामा अर्को वैकल्पिक ढाँचाको उदय हुन नसकेको कारणले जनतमा अहिले बरु सेनाले देश सम्हाले हुने थियो भन्ने सोचको विकास हुँदैछ । धमिलो पानीमा माछा मारेको आरोप लागेको शक्ति भने चीर निन्द्रामा लीन छ । यो सबै परिस्थितिले असन्तोष मात्र हैन निराशा पनि जन्माउने गर्दछ । विश्व इतिहासमा यहि प्रवृति देखा पर्छन । हिटलरको उदय त्यसै भएको हैन, न नेपोलियन पनि सहज परिस्थितिमा विकसित व्यक्तित्व हो । अहिलेसम्म जानिएका परम्परागत, पविर्ततनकामी वा अन्य केही कसैले जनताको असन्तोषको सम्वोधनको प्रयत्न गरेका छैनन । जनता निराश हुँदै गएको अनुभव कसैले गरका छैनन् । संविधान आओस वा नआओस् त्यसले जनताको निराशा सम्वोधन गर्ने ल्याकत राख्दैन । परंपरागत शक्ति चीर निन्द्रा छोड्न तैयार छैन भने यसको सिधा अर्थ हो नेपाल एक दीर्घ रक्तरंजित भविष्य तर्फ लाग्दैछ त्यसैको झलक अहिले देखिदैछ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper