banner
banner

राष्ट्र बचाउन सत्रसालको परिवर्तन थियो

स्वयम्भुनाथ कार्की - 
    जनताको सर्वोच्चताको नाममा दलहरु तथा त्यो दलका मठाधीश भएर बसेका नेताहरुको सर्वोच्चता जनता माथि थोपर्ने प्रयास नेपालमा सात साल पछि शुरु भएको हो । मुखले सत्ता चाहिएको छैन भनेर फलाक्दै जाने तर सत्ताको निमित्त हमेशा षडयन्त्र गर्ने चरित्रबाट नेपालका नेताहरु कहिल्यै मुक्त भएनन् । कुनै कालखण्डमा यस्तो मनोकांक्षा केही गोप्य राखे पनि हालसालका दिनमा यस्ता मनोकांक्षाहरु डोल पिटेरै घोषणा गरिने गरिएको छ ।
 साखुल्ले राष्ट्रवादी भएर छिमेकी मुलुकले सिमाना मिचेको भन्ने विवादलाई राष्ट्रवादसंग जोडने, कुनै कालखण्डमा भएका सन्धी सम्झौताको विरोध गर्ने यी नेताहरु र तिनीहरुसंग संंवन्धित दलहरुले छिमेकी मुलुकहरु मात्र हैन हरेक शक्तिशाली विदेशी मुलुकको चरण बन्दना गरेको नेपाली जनताले अहिले टुलुटुलु हेरेर बस्न परेको छ । आफैलाई जनताको मुक्तिदाता भनाउनेहरुको यो चर्तिकला देखेर नेपाली युवा मुलुकको निमित्त काम गर्न छोडेर त्यस्तै विदेशी मुलुकहरुमा करिया हुन दैनिक हजारौंको संख्यामा लामबद्ध हँुदैछन ।
    सातसाल पछि भएका अनेकौं सत्तालोलुपताका घटनाहरुले नेपाललाई हमेशा पिछडिन बाध्य बनाएको छ । विपी र मात्रिकाको सत्तामोहजनित मतभेदबाट प्रारम्भ भएको यो प्रतिस्पर्धा किशुनजी र गीरिजासम्मले विकास गरे । नेपालका साम्यवादी दलहरुको त शक्ति र सत्तामोह यतिसम्म देखियो कि आज नेपालमा एउटै सिद्धान्त साम्यवाद अपनाउने दलहरुको गणना पनि दुष्कर छ ।
    बलियो नेतृत्वको अभाव सातसालदेखि सत्रसालसम्म टड्कारो रुपमा देखा परेको थियो । राम्रा वा नराम्रोमा जतिसुकै मतमतान्तर भए पनि तीस बर्ष टिकेको पञ्चायत प्रणालीमा सुरुका एघार बर्ष बलियो नेतृत्व थियो । त्यो राम्रो वा नराम्रो के थियो भन्ने विवेचन यो आलेखको विषयवस्तु होईन तर नेतृत्व बलियो थियो भनेर भन्नलाई त्यो लामो समय टिक्नुलाई नै प्रमाणको रुपमा लिन मिल्छ । तर राजा महेन्द्रको स्वर्गारोहण पछि नेतृत्व विस्तारै कमजोर भएर कर्मचारीतन्त्र हावी भएका कारणले नै त्यस व्यबस्थामा धमिरा लाग्न शुरु भएको थियो । जग बलियो भएको कारणले नै ४६सालसम्म थेगियो । जनताको सर्वोच्चताको चर्को वकालत गर्नेहरु जनताले आफ्नो अधिकार मतपत्र मार्फत प्रयोग गर्नु पर्छ भन्ने गर्दछन । तानाशाही भनेको पञ्चायतमा आवधिक निर्वाचन कहिल्यै रोकिएन तर पहिले प्रजातन्त्र र त्यस पछि लोकतन्त्र भनिएको जनताको सर्वोच्चताका व्यबस्थामा हमेशा निर्वाचन टार्ने काम भएको छ । बीसौ बर्ष आफैले रोकेको निर्वाचन गराउदा आफ्नो पिठ्यूँमा आफै धाप मार्ने लज्जास्पद दृष्य देख्नु परेको छ । त्यो पनि निर्वाचन प्रक्रिया शुरु भएपछि बारंबार निर्वाचनलाई असर गर्ने काम गर्ने निष्कृष्ट अभ्यास भएको छ । नेपालको इतिहासमा कहिल्यै नभएको महिनौ मतगणना गर्नु पर्ने अवस्था हुँदा शरमले पानीपानी हुनुपर्ने निर्वाचन आयोग अझ गर्व गर्दैछ । 
    स्थानिय साधन श्रोतमा स्थानियको अधिकार स्थापना गर्ने र धेरै कामहरुको अधिकार गाउँ, वार्ड स्तर मै दिने विकेन्द्रिकरण पनि प्रजातन्त्रका ठेकेदार दावी गर्नेहरुको निशानामा पर्‍यो । विकेन्द्रिकरण आफैमा असफल भएको नभई दलको अस्तित्वलाई चुनौती भएकाले यसलाई ४७ सालमा खारेज गरियो । विकेन्द्रिकरण असफल भएको थिएन तर यसको शैशव अबस्था मै मुन्टो निमोठ्ने काम भयो । तर यसले तल्लो तहसम्म प्रत्यायोजन भएको शक्ति र त्यसको मिठो स्वाद चखाई सकेको थियो । अहिले उठेको संघीयता तथा राज्यपुर्नसंरचना हुनु पर्ने कारणको बारेमा त्यसका समर्थकहरुले पनि अधिकारको तल्लो स्तरसम्म प्रत्यायोजन तथा स्थानिय संंशाधनमा स्थानियको अग्राधिकार नै हो भन्ने गरेका छन ।
    तर प्रजातन्त्रको नाममा यो कुरा जनताबाट खासिएको थियो । जनता सही अर्थमा अधिकार सम्पन्न हुन भन्ने कुरामा अपवादको वाहेक कसैको विरोध नहुनु पर्ने हो ।  कर्मचारीतन्त्रले मुलुक हाकेको अबस्थामा यो कुरा कर्मचारीतन्त्र तथा दलका मठाधिश भएका नेताहरुलाई अपाच्य हुन्छ र भयो । अहिले त्यही खोसिएका मध्येका केही अधिकार पुन:र्वहाली गरेर सिंहदरवार घर आँगनमा भन्ने नारा दिएको छ । यो कत्तिको सही छ भन्ने कुरा त जनताले विस्तारै भोग्ने कुरा हो । तैपनि निर्वाचितहरुले गरेको घोषणामा मन्त्रालयले रोक लगाएर यो नारा कति खोक्रो रहेछ देखाई सकेका छन ।
    निर्वाचनको सामना गर्न आफैलाई प्रमुख राजनैतिक शक्ति हुँ भन्नेहरु अक्षम भै रहेका छन । एक अर्कामा बाझिने निर्णय सरकार संचालकहरुबाट भई रहेको छ । यसरी लक्ष विहिन कार्यक्रम आउनु नै कर्मचारीतन्त्र हावी भएको उदाहरण हो । निर्वाचन प्रक्रियाको बीचैमा सरकार छोड्ने काम त्याग हैन नालायकीपन हो, अनि त्यो बीचमा मैले सत्ता पाउनुपर्छ छोड भनेर रोड्याई गर्ने विवेकी पक्कै हैन । आफ्नो कुनै न कुनै कुन्सित स्वाथ्र्य पुरा गर्न लालयितले देखाउने छुद्रता सरहको काम हो ।
    यसले प्रमाणित गर्छ कि सत्ता र शक्तिको आकर्षणले सबैलाई तानेको छ । जो सत्तामा छ त्यो आफ्नो वर्चश्व कायम नै राख्न चाहन्छ, र जो सत्ता वाहिर छ त्यो सत्ता सुन्दरीको सहवास पाउन व्याकुल छ । यसको निमित्त एक अर्कालाई धम्क्याँउने गर्दैछन । कुनै न कुनै शक्तिको नजिक भएर आफ्नो हलुवा माडा चलाएका समाजका प्रवुद्ध वर्ग भनाईनेहरु आ–आफ्नो पक्षको कुरा न्यायोचित हो भनेर सावित गर्ने होडमा लागेका छन । यस्ताले मुलुकलाई निकास दिने कुरा सम्भव कसरी होला भनेर संसार नै छक्क परेको छ । १७ सालमा यस्तो अराजकता रोकेर राष्ट्र बचाउने काम भएको थियो । ४६ पछि १७ सालमा मन्छाएको भुतले राष्ट्र नै विखण्डनको संघारमा पुगेको छ । यो कुरा तिनै परिवर्तनकारी भनिएकाहरुको मुखबाट सुनिन्छ । प्रतिगामी भनिएकाहरु त अझैपनि मुलुक बचाउने ल्याकत, तागत र हौसला राख्छन् ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper