banner
banner

सनातन, हिन्दु ॐकार परिवार र वैदिक सनातनको मूल हो

स्वयम्भुनाथ कार्की - 
    अंग्रेजीमा ‘रिलीजन’ भनिएको शव्दको ‘धर्म’ अनुवादले सनातनलाई समेटन सक्दैन । त्यो अनुवादले समेट्न सकेको अर्थ जनाउने अर्को शव्द छ, त्यो हो ‘सप्रदाय’ । यो धर्म र सप्रदायको व्याख्या अर्कै वृहद विषय हुन जान्छ । तैपनि उल्लेख गरिनुको कारण के हो भने सिन्दू यस पारको सम्पूर्ण जीवन पद्धति र तिनीहरुमा भएका अनगिन्ति विविधता सबैलाई एक साथ जनाउन सिन्दू उस पारकाले त्यही सिन्दू शव्दको सहारा लिए । जो कालान्तरमा उच्चारण अपभ्रंश भएर हिन्दु हुन गयो । यस शव्दले संकेत गर्न खोजेकामा प्रकृति पुजक, मुर्ती पुजक, धामीझाँक्री वा विजुवादेखि लिएर कर्मकाण्डी वैदिक अनुयायी लगायत पर्दछन । 
    संस्कृति समिश्रण र परंपराहरुको घुलमिलले सनातन पद्धतिलाई एकैे बनाएको छ । जसरी सात रंगको चक्र घुमाउँदा केवल सेतो देखा पर्दछ ठिक त्यसै गरेर । अपवादको रुपमा अन्तरसंप्रदाय संघर्ष पनि भएका छन । तर हजारौं वर्षको कालखण्ड विताउँदा यस्ता अप्रिय घटनाहरु गिन्ती गर्न सकिने मात्र छन । यसको विपरित सिन्धु उसपारका अन्तरसंप्रदाय संघर्षको लेखा लिने हो भने अनगिन्ति रक्तरंजित घटनाहरु छन जसको संख्या मात्र पनि सम्झन सजिलो छैन । सनातन परंपराको शुरुवात भेट्न सकिन्न भने ती संप्रदायको शुरुवात र प्रवर्तक पनि विश्वमा प्रचलित कुनै पनि संवतको शुरुवात भित्र नै पर्दछन । 
    वर्तमान संविधानले धर्मनिरपेक्षताको प्रवद्र्धक जर्ज जेकव होलेकले गरेको व्याख्यालाई परिमार्जन गरेर सर्वधर्म 
(संप्रदाय) समता भनेको छ । धर्मनिरपेक्षताको यो पुन:व्याख्या कति उचित हो कति अनुचित भन्ने कुरामा लामो विवाद हुनसक्छ । संविधानमा गरिएको व्याख्या नै आधारभूत तत्व हो हिन्दु भनिने सनातन समाजको । नेपालले हिन्दु अधिराज्य हुूदा स्थापना र अभ्यास गरेको पद्धति नै वर्तमान संविधानले धर्मनिरपेक्षताको परिभाषा बनाएको छ । यो मान्यता र त्यसको अभ्यास ज्ञात इतिहासदेखि नै पाईन्छ । नेवा: संस्कृतिको उत्थानका गौरवपूर्ण लिक्षवीकालमा नै ‘नेपाल खाल्टो’ हिन्दु मन्दिरहरुले भरिभराउ हुन शुरु गरेको हो । 
    भारतवर्षमा मुगलहरुको आगमन पछि चर्केको संघर्षले सनातनको अवधारणको केही अपव्याख्या भएको छ । त्यही अपव्याख्या वर्तमानमा आएर सनातनलाई तल्लो स्थानमा झारेर सम्प्रदायमा खुम्च्याउने माध्यम बनेको छ । एकै संस्कृतिका अंगहरुले आफु पृथक हांै भनेर देखाउन प्रयोग गरिने एक उदाहरण यहाँ अप्रासंगिक नहोला । लंकाको राजा रावण र अयोध्याको निर्वासित राजपुरुष राम बीचको युद्धलाई दुई धर्म बीचको युद्ध देखाएर राक्षस धर्म र मानवधर्म अलग देखाउन खोजिने गर्दछ । तर राम र रावण दुवैको आराध्य भगवान शंकर नै हुन भने उनीहरु अलग धर्मका कसरी भए ?
    सनातन संस्कृति भित्रका नै केही छट्टु भन्न मिल्ने बाठाहरुको संप्रदायका पण्डितहरुले यस्ता भ्रम निवारण गर्नु पर्नेमा झन थप्दै गएको भने पक्कै हो । वर्तमानमा भनिने हिन्दु र बौद्ध भिन्न हुन भने वौद्धको सम्याक महादान पुजामा हिन्दु राजाको आवश्यकता तात्कालिन संविधानले त गरेको थिएन । त्यो पक्कै बौद्ध ग्रन्थ र परंपरा अनुसार नै भएको हुनु पर्दछ । किरातले प्रयोग गर्ने शस्त्रअस्त्र जस्ताको तस्तै अरुले पनि प्रयोग त्यसै गरेका पक्कै होईनन् । यो संस्कृति समिश्रण भई एकाकार भएको उदाहरण हैन र ? कसले कसको अनुकरण गर्‍यो भन्ने विवाद भन्दा अनुकरण गर्ने र अनुकरण गर्न दिने दुवै महान हुन भन्ने कुरा महत्वपूर्ण हो , यदि अलग नै मान्ने हो भने पनि ।
    सनातन अन्तरगतका सवै संप्रदायले कुनै न कुनै रुपमा प्रकृतिपूजा गर्दछ नै । अझ हिन्दुहरु त प्रकृतिको यो रुपलाइ सबै श्रृष्टिको मूल मान्छन्, पञ्चतत्वको रुपमा । तेज आगोको रुपमा, पृथ्वी भूमिको सबै रुपमा, जल नदी पोखरी मात्र नभएर जीवमा हुने रसको रुपमा, वायु सवै हावा जोडिएको रुपमा, आकाश अन्तरिक्ष लगायत श्रृष्टिको आधारको रुपमा । सनातनी आस्था राख्ने होस वा नास्तिक कहिल्यै बाहिर हुन सक्दैन, तर सम्प्रदाय मान्नेहरु भने त्यसले निर्देश गरेको कुरा नमान्ने वित्तिकै त्यहाँबाट च्यूत हुन्छन् । तर सनातनी कुनैपनि अवस्थामा त्यहाँबाट च्यूत हुँदैनन् । 
    आज ॐकार परिवार भनेर भनिएकाहरु वास्तवमा परिवारका सदस्य हैनन । यी त एक शरीरका विभिन्न अंगहरु हुन् । अलगअलग सम्प्रदायमा रहे पनि सनातनी आधारभूमिमा एकाकार भएको शरिर । जसरी दाहिने हात र देव्रे हात कुनै एक परिवारका सदस्य हैनन एकै हुन् । त्यस्तै प्रकृति पुजक, मूर्ती पुजक, धामीझाँक्री वा विजुवादेखि लिएर कर्मकाण्डी वैदिक अनुयायी आदि कुनै परिवारका सदस्य हैनन्, एक शरिरका अभिन्न अंग हुन् । एक अर्काका परिपुरक हुन् ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper