banner
banner

संकटमा राजतन्त्रवाद

शाश्वत शर्मा -
    पूर्वराजा ज्ञानेन्द्र के गरेर बसेका होलान् ? धेरै नेपालीहरुको सामुहिक प्रश्न हो यो । गणतान्त्रिक नेपालको गन्दातन्त्रदेखि वाक्क भएको म पनि राजतन्त्रवादको समथृक हुँ । पूर्वराजा के गरेर बसेका होलान् ? मेरो पनि जिज्ञासा छ ।
    पार्टीरङमा रङ्गिएका पत्रिका र अनलाइनका अनुसार पूर्वराजा आजकल निकै सक्रिय छन् रे । स्थानीय निर्वाचनको पहिलो चरण सुरु हुनु अघि देउवा र आरजु, केपी ओली र कमल थापाले समेत भेटेको चर्चा चल्यो । चुनाव खर्च नदिएको भनेर राप्रपा अध्यक्ष कमल थापा रिसाएको र भरत केसर सिंह टोलीले कमल थापा जाने कुनै पनि कार्यक्रममा नजाने भनेर बिरोध बक्तव्य नै प्रकाशित गरेको पनि देखियो । केही मधेसी दलका नेताहरुको पूर्वराजासँग बाक्लै भेटघाट हुने गरेको खबर पनि सार्वजनिक भयो ।
    जनयुद्धताका जसरी प्रचण्ड र ज्ञानेन्द्र भनेको एकैव्यक्ति हुन् भनेर भाते पाठशालामा पढेका रामचन्द्र बाजेले हुरुक्कै हुने स्वरमा गड्गडाएका थिए, अहिले पूर्वराजाका बारेमा त्यस्तै खालको चर्चा चलेको छ । लोककथाझैं लाग्ने प्रचार छ, यथार्थ बुझिन्न ।
    हुन त आफ्ना पुर्षाले दु:खले आर्जेको मुलुक मैनवत्ती पग्लिए झैं पग्लिदै सकिएको हेर्न पूर्वराजालाई मन लागेको होला र ? राजनीतिक नेताहरु र पूर्वराजाको भेटघाट भएको हो भने त्यो राम्रो मान्नुपर्छ । किनभने गर्ने राजनीतिक दलहरुले नै हो, र, आफ्नो अनुभवले दिग्भ्रमितहरुलाई मर्गदर्शन गर्ने पूर्वराजाले हो । सबैको प्रयासले देश बचाउन सकिन्छ, बनाउन सकिन्छ । तर यतिबेला सेटिङ र सिण्डिकेटतन्त्रले लोकतन्त्रमात्र होइन, स्वराज नै सिध्याउने हो कि भन्ने समस्या आइसकेको छ ।
    मूल समस्या राजनीतिक नेता र पूर्वराजावीच नै देखिन्छ । राजनीतिक दलहरुलाई पूर्वराजासँग भेटेको कुरा लुकाउनु पर्ने । कसैले पश्चगमनकारी भनिदेला भन्ने पिरलो । पूर्वराजालाई नेताहरुसँग सम्पर्क छ भन्न झन मुस्किल । हेर धर्मसंकट । दुबै समस्यामा छन्, समस्याको निकास निकाल्नुपर्ने नेताहरुले हो । किनभने अव पूर्वराजालाई छोइछिटो गर्नुपर्ने कुनै कारण नै छैन । पूर्व राजाले लोकतान्त्रिक अभ्यासको कुनै पनि निर्णयमा सानोसम्मको बाधा पुर्‍याएकै छैनन् । अझ भन्ने हो भने त पूर्वराजा सीमा र नियममा बसेको देख्दा पूर्वराजामात्र लोकतान्त्रिक हुन् भन्न सकिन्छ । तथापि पूर्वराजालाई नेताहरुले अझै पनि यथास्थान, सम्मान दिन सकेनन् ।
    नेताहरुलाई लागेको होला, स्थानीय निर्वाचन, प्रदेश र केन्द्रको निर्वाचन सम्पन्न गरेपछि संविधान कार्यान्वयन हुनेछ र पूर्वराजाको पछि लागिरहनु पर्दैन । नेताहरुले बिर्सनै नहुने यथार्थ के पनि हो भने पूर्वराजा यही माटोमा उभिएका छन् । उनले जनताको आदेश मानेर जनताले खोजे भने उठ्छु भनेर तैयार हालतमा बसेका छन् । जनताले खोजेका पनि छन्, खाली के हो भने सिमितले खोजे, खोजी व्यापक भएको देखिदैन । त्यसैले पूर्वराजा प्रतिक्षामा नागरिक भएर बसेका मात्र हुन् ।
    संघीयताको समस्या, जाति, भाषाभेषको समस्या, हिन्दुधर्मको मुद्दा र समानताको कुरा छिटै टुंगिनेवाला छैन । किनभने यो १ सय २६ जातिको विविध धर्म मान्नेहरुको मुलुक हो । कुनै पनि बेला जनता जागृत हुनसक्छन् र जनजागरण आँधी भएर उठेका दिन कुनै नेता वा शासकले नियन्त्रण गरौंला भन्नुपर्दैन । ढोले गाउँ र नेपाली जनता उस्तै हुन्, जब जनताले बिरोध गर्छ, त्यतिबेला गोलीले पनि छेक्न सक्दैन । पटक पटक यो यथार्थ सत्य साबित भइसकेको छ मुलुकको राजनीतिक घटनाक्रममा ।
    इतिहास साक्षी छ, थाइलेण्डमा पनि ३ दशक राजतन्त्र साइड लगाइएकै हो । खोई त चलाउन सकेनन् र एउटा जोडन कडी चाहिने रहेछ भनेर स्थापित गराए, जुन अहिले पनि प्रगतिको मानक नै बनेको छ । नेपालको भूबनोट, जनबनोट, आस्था र विश्वासका केही आधारहरु छन्, जुन एकताको कडी बन्न सक्छन् । ०६३ सालको जनान्दोलन सफल भयो, ०६५ सालमा गणतन्त्र कार्यान्वयन भयो । खोई त यो परिवर्तनलाई जनताले अपनत्व ग्रहण गर्न सकेका छैनन् त । झन झन बिग्रदै गएको छ, झन झन नियन्त्रण बाहिर हुँदै गएको छ शासनव्यवस्था । कसैको कसैमाथि पकड देखिदैन । खुस्कदै गएको राजनीतिक पकड हेर्दा लाग्छ, बालुको पहरो बिस्तारै बिस्तारै खस्कदैछ । पहिरो गइरहेकै छ । राष्ट्र बन्न, सम्पन्नता, शान्ति र समुन्नतिका लागि स्थिरता चाहिन्छ । स्थिरताका लागि पूर्वराजा र राजनीतिक दलहरुवीच एउटा समझदारी बन्नैपर्छ । विश्वासको वातावरणले देशलाई अग्रगमनको निकास दिनेछ । किन नेता र पूर्वराजा दुबैले यो राष्ट्रिय आवश्यकता नबुझेको होला कुन्नी ?

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper