banner
banner

देशको पार्टको होइन, ट्राभल मार्टको चिन्ता

धर्मरत्न श्रेष्ठ - 
    राष्ट्रपति संविधानको, देशको संरक्षक हुनुपर्ने हो । राष्ट्रपतिले नै आँखा चिम्लिदिएपछि देशको बेहाल हुनु स्वभाविक हो ।
    भारतको सशस्त्र सुरक्षा बलका डिएसपी नागराजको टिम नै दिपायल सिलगडी पसेर लालबहादुर आउजीलाई हातखुट्टामात्र बाँधेनन्, आँखामा पट्टी बाँधेर अपहरणको कर्तुत गरे । यो खबर राजधानीमा पनि आयो । प्रधानमन्त्री, गृहमन्त्री बोलेनन्, प्रतिपक्षीले पनि चुँसम्म गरेन, शासनको शीर्ष स्थानमा बसेकी राष्ट्रपति विद्या भण्डारीले पनि केही नबोल्नु, सरकारलाई आदेश नदिनुचाहिं दुर्भाग्य हो ।
    बरु पञ्चायतकालमा वानेश्वरको सिडियोटोलमा भारतीय प्रहरी आउँदा बबाल भएको थियो । २०५० सालमा पनि भारतीय सुरक्षाकर्मी नेपाल पसेको थियो, त्यतिबेला संसदमा हंगामा नै भयो, कतिदिन संसद चलेन । अहिले त भारतीय सुरक्षाकर्मी पसेर गोविन्द गौतमलाई मार्छ, सीमा अतिक्रमण गरेर बस्ती बसाल्छ, लालबहादुरलाई अपहरण नै गर्छ, न सरकार बोल्छ, न राष्ट्रपति ।
    आँखा चिम्लेर थाहा नपाएको नाटक गरेपछि बेइमानीको ओखती हुँदैन ।
    दिपायलमा भारतीय सुरक्षाकर्मी लालबहादुरलाई अपहरण गर्दै थियो, यता राष्ट्रपति हिमालयन ट्राभल मार्टको शुभारम्भ गदैथिइन् । ट्राभल मार्टको महत्वभन्दा राष्ट्रको पार्टको महत्व कम भएपछि स्वाधीनता र सार्वभौमिकतामाथि विदेशीले यसैगरी बलात्कार गरिरहन्छन् । राष्ट्रको चीरहरण र संरक्षक तमासे भनेको यही हो । कठै मेरो देश कसरी अवला बन्दै गयो नि । कहिले जाग्ला राष्ट्रवाद ?
    राष्ट्रपति, प्रधानमन्त्री मार्टहरुमा होइन, देशका पार्टहरुमा देखिनुपर्छ । देश बचेपछि, सुरक्षित पारेपछि टुरिज्म आफै बढ्छ । किनकि नेपाल प्रकृतिको सुन्दर रचना हो, यहाँ के छैन, सबथोक छ । संस्कार, संस्कृति, धर्मपरम्परा, प्राकृतिक सुन्दरता, सुन्दर र सहनशील हँसिला जनता सबै छ । केही छैन भने राजनीतिक स्टेटमेनसीप छैन । नेताहरुमा नीति र नैतिकता छैन । म नेपाली हुँ भन्ने गौरवानुभूति र अपनत्व छैन । राष्ट्रपतिमा पनि त्यही अवगुण देखियो । कठै ।
    नेपालको एउटा भूभागमा हाम्रो शासनव्यवस्थामाथि विदेशीले यसरी बलात्कार गर्दै थियो, राष्ट्रपति मार्टको उद्घाटन गरेर आँखा चिम्लेर हाँस्दै थिइन् । हामीले खोजेको राष्ट्राध्यक्ष यस्तै हो र ? विवेकशीलता राष्ट्रपतिमा देखिनुपर्दैन ?

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper