banner
banner

चार प्रकारका राष्ट्रवादीहरु

स्वयम्भुनाथ कार्की - 
कुनै न कुनै भावनाले, सोचले जोडिएका जनता अनि तिनलाई जोडेर राख्ने परंपरा, इतिहास, रितिरिवाज, गौरव आदि र यस्ता कुराले जोडिएका जनता वस्ने देश नामको भूगोलको समष्टि नाम हो राष्ट्र । अनि राष्ट्रलाई माया गर्ने वाद हो राष्ट्रवाद । राष्ट्रका तीनै तत्वहरु एक राष्ट्रवादीको निमित्त पुजनिय हुन्छ । यस भन्दा अतिरिक्त न राष्ट्रवादको परिभाषा हुन्छ न राष्ट्रवादीको कर्तव्य नै । अरु कुनै वाद जस्तो कठिन सैद्धान्तिक व्याख्या राष्ट्रवादको छैन । अरुवाद जस्तो एकवादको अनुयायी भएपछि अर्कोवादमा अछुत ठानिने जस्तो वाद पनि हैन राष्ट्रवाद । तै पनि नेपालमा धेरै लामो समयसम्म एकथरीले राष्ट्रवादलाई अछुतको व्यवहार गरिरहे ।
तैपनि विगत लामो समयदेखि वनारसमा शिक्षा हासिल गरेको वर्ग र तिनका अनुयायीहरुले राष्ट्रवादलाई अछुत मानिरहे । दृष्टि दोषको कारण उनीहरुले नेपालको राष्ट्रवाद भारतको विरुद्धको भावना माने । राष्ट्रवाद न कुनै देशको विरुद्ध हुन्छ न कुनै देशको  समर्थनमा, यो त मात्र आफ्नो राष्ट्रको मायामा हुन्छ । आफ्नो राष्ट्रलाई माया गर्नेले अरु कसैको पनि राष्ट्रको विरुद्ध हुन सक्दैन । आफ्नो राष्ट्रप्रति अरुका व्यवहार अनुसार अस्थायीरुपमा कतै पट्टी नजिक र कतै पट्टी टाढा भएको जस्तो लाग्न सक्छ । तर यो केवल आफ्नो राष्ट्रप्रति समर्पण मात्र हो ।
शायद कुनै परिस्थिति विशेषमा वनारसमा शिक्षा लिनेहरुलाई आफ्नो ज्ञानभूमि प्रति आफ्नो राष्ट्रले कर्के नजर लगाएको लागेको हुन सक्छ । पछि यो सूचिमा जवाहरलाल नेहरु विश्वविद्यालय लगायतका अन्य स्थानमा शिक्षा हासिल गर्ने पनि थपिएका हुन् । मुलुकमा शिक्षाको ज्योति फैलाउन यस्तै वाहिरबाट शिक्षितलाई नै नेपाली विद्यार्थी सुम्पनुपर्ने बाध्यता थियो र सुम्पिईयो । राष्ट्रले आफ्नो नागरिकको पहिलो वफादारिता आफै प्रति छ भन्ने सोच्नु पर्ने हो र सोच्यो पनि । तर त्यस्तो भएन, अपवाद कै रुपमा भए पनि आफ्नो राष्ट्रभन्दा आफुले शिक्षा हसिल गरेको भूमि श्रेष्ठ भनेर कलिला विद्यार्थीमा भर्ने शिक्षक पनि भए ।
यस्ता अपवादको काममा आँखा चिम्लनु ठिक थिएन , तैपनि ठिक मानियो यसैले यस्ता शिक्षकको प्रभाव परेकाहरुले आज पनि नेपाल आफुले केहि गर्न नसक्ने निरिह भन्ने मान्छन् । कि त भारतको कि त चीनको औला नसमाती केही गर्न सकिन्न भन्ने कुरा उनीहरुमा शैशवदेखि नै भरिएको छ । महेन्द्रले यही मान्यता भत्काउन खोजे । खोजे मात्र हैन धेरै मात्रामा भत्काए पनि । उनको यही कथित अपराधको सजाय जस्तै भएको छ महेन्द्रको नाममा छोईछिटो । उदाहरणको निमित्त महेन्द्र राजमार्ग मेचीदेखि महाकालीसम्म लमतन्न परेर रहेको छ जसलाई वर्तमानका भ्रमित अग्रगमनकारीहरु पूर्वपश्चिम राजमार्ग अझ कसैकसैले त लोकमार्ग भन्न रुचाउँछन्, महेन्द्रको मेहेनतकोकारणले जोडिएको नाम हटाएर ।
राष्ट्रवाद र महेन्द्रलाई लगातार दशकौसम्म छोईछिटो गरे पनि अहिले आएर सबैलाई राष्ट्रवादी भनाइन परेको छ । महेन्द्रले गरेका कुरा नाम परिवर्तन गरेर भए पनि पछ्याउनु परेको छ । कर्मचारी, विद्यार्थीले राजनैतिक चेतना राखेपनि राजनीति गर्नु हुँदैन भन्ने महेन्द्र पथ हो भनि रहनु नपर्ने हो । यस्ता धेरै कुरा छन जो एकयुग पछि आएर महेन्द्रपथबाट लिनु परेको छ । यस आलेखमा सबै चर्चा संभव छैन । केवल वर्तमानमा देखिएका चार प्रकारका राष्ट्रवादी परिभाषा गर्न यति आधारभूमि आवस्यक थियो ।
पहिलो प्रकारको राष्ट्रवादी ती हुन जो राष्ट्रलाई सर्वोपरि ठान्छन् । नेपालको परंपरामा राजमुकुटको अपरिहार्यता बोध गरेर राजावादी पनि भएका छन । तर कुनैपनि वेला राष्ट्र र राजा बीच चुनाव गर्नुपर्ने दुर्भाग्यपूर्ण अवस्था आयो भने राष्ट्र चुन्न रत्तिभर पनि हिचकिचाहट हुन्न । त्यस्तै धर्म र राष्ट्र बीच रोज्नु परेमा राष्ट्र नै खुशीले रोज्छन । 
दोश्रो प्रकारमा राजावादी भएको कारणले राष्ट्रवादी भएकाहरु छन् । सिद्धान्तत राजा सबैभन्दा ठूलो राष्ट्रवादी हुन्छ । यस प्रकारका राष्ट्रवादीहरु बरु राष्ट्रहितमा केही आँच आए पनि पछि त्यसलाई ठिक गर्न सकिन्छ तर राजा पहिला भन्ने मान्यता राख्छन । जहाँ पहिलो प्रकारकाहरु ‘मेरो गर्दन चिलाएको हो की सरकारलाई केही भएको तर रुख त बाङ्गो नै छ’ भन्ने हिम्मत राख्छन् । यस्तो अवस्थामा दोश्रा प्रकारकाहरु भने ‘सरकारबाट गल्ती हुन्न’ भन्छन् । यही प्रकार नै राजाका प्यारा हुन्छन् । तर संकटको समयमा यीनीहरु असहाय अनि निरिह हुन्छन् ।
तेश्रो प्रकारमा मौसमी राष्ट्रवादी पर्दछन । जव राष्ट्रलाई कुनै कठिनाई परेको महशुस हुन्छ तुरन्त उग्र हुन्छन् । जसले आफ्नो देशलाई हानी गर्न खोजेको जस्तो लाग्छ त्यसको शेखी झार्न जे पनि गर्न तैयार हुन्छन । भावनामा, कार्यमा यीनीहरुमा भएको जोस अरुमा संभव छैन । यीनीहरु वर्तमानको कसीमा सबैकुरा हेर्छन, भुतकालमा सबै काम राष्ट्रविरोधी भएको देख्छन् । एउटाले  पिरेमा अर्कोसंग पुकारा गर्नु गलत हो भन्नेलाई संभव भए काँचै चवाउ जस्तो गर्दछन् ।
 चौथो प्रकारमा हामी पनि हौ भन्ने राष्ट्रवादी पर्दछन् । सामान्यतया यीनीहरुलाई आफुलाई कसैले राष्ट्रवादी भनेको उत्तिसारो मन पर्दैन । तर अरु सबैले आफुलाई राष्ट्रवादी भन्दा तिमीहरु मात्र होर हामी पनि राष्ट्रवादी भन्दछन् । अन्धो राष्ट्रवादी भने हैनौ भनेर आफुलाई अलग गर्न पनि खोज्छन्, अरु तीन किसिमकाको मिनमेख निकाल्नमात्र आफुलाई म पनि राष्ट्रवादी भन्छन् ।
नेपाली समाजमा वर्तमानमा यही चार प्रकारका राष्ट्रवादी देखा परेका छन् । पहिला दुई राजावादी समेत हुन भने तेश्रामा बहुसंख्यक गणतन्त्रवादी छन्, केही फलाना राजा नभए राजा त चाहिन्छ भन्ने छन् । कोही संसदले नियुक्त र नियन्त्रण गर्ने राजा पनी भन्छन् । तर चौथो प्रकारमा राजसंस्था हुनु हुँदैन भन्नेहरुमात्र छन् । उल्टो खोलो बग्दैन जस्तो तर्कले  अव नेपालमा राजसंस्था असंभव छ भन्दछन् । ध्यानले आफ्नो वरिपरि हेरेमा यी चार किसिमका राष्ट्रवादी प्रष्ट देख्न सकिन्छ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper