banner
banner

चुनावका लागि व्यापारीको दोहोलो

धर्मरत्न श्रेष्ठ - 
    स्थानीय चुनावको मुखैमा भारत र चीनका सीमाबाट सामान आयात गर्ने व्यापारीका ट्रक कन्टेनरलाई ठाउँ ठाउँमा पक्राउ गरेर दु:ख दिइयो । कारवाहीबाट बच्नका लागि खुलेआम चन्दा मागियो र नदिनेको कन्टेनर कुनै बाटोमै खोलेर बजार लगाइयो भने धेरैलाई भन्सार र राजस्व अनुसन्धान विभागमा ल्याएर थन्क्याइयो । भन्सार तिरेर आयात गरेका व्यापारीहरुलाई यतिसम्मको दु:ख दिनुको कारण व्यापारीले मिलोमतोमा सामान आयात गर्ने गरेको खुलासा समेत भएको छ ।
    केरुङ नाकामा रहेका केदार पनेरुले भनेजस्तो उठ्ती गरेनन् भनेर उनको ठाउँ गोपाल कोइरालालाई लगेर व्यापारीको दोहोलो काढियो । यसबाहेक बिराटनगर, वीरगञ्ज, भैरहवा, नेपालगञ्ज भन्सारबाट छुटेका ट्रक, कन्टेनरहरुलाई बीचबाटोमै पक्राउ गर्दै दु:ख दिने काम गर्नुसम्म गरियो र व्यापारीहरुले लाखदेखि ५० लाखसम्म चन्दा नदिई धर पाएनन् । आयातकर्ता व्यापारीहरु भन्छन्– भन्सार, राजस्व, प्रहरी, बाटो बाटोमा अन्य ढाँटहरुलाई बुझाउँदा बुझाउँदा सामान आयात गरेर व्यापार गर्नै नसकिने भयो । जति दिए पनि नपुग्ने भएपछि कसरी व्यापार गरेर खाने ? दिएर पनि बेलामा गाडी नछुट्दा यसपटक घाटा हुनेभयो भन्ने गुनासो गर्ने उद्यमी, व्यापारीहरु पनि प्रशस्तै भेटिएका छन् ।
    कतिपय ठूला व्यापारी र उद्यमीहरु भने चुनावअघि नै परिवारसहित विदेश सयरमा हिडेका थिए । जो गएका छैनन्, उनीहरु मोवाइल बन्द गरेर बसे ।
    एकातिर सरकारलाई तिर्नैपर्ने भ्याटमा पनि छुट दिने, अर्कोतिर यसरी व्यापारीहरुसँग चन्दा उठाएपछि बजारभाउ अकासिनु स्वभाविक हो । स्थानीय निर्वाचन जरुरी थियो, सुरु भयो । चुनावकै नाममा यसरी राजनीतिक दल, सरकारमा बस्नेहरुले समेत दु:ख दिएर भ्रष्टाचार बढाउनु चाहिं दुर्भाग्यजनक घटना हो ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper