banner
banner

नेपालको सामरिक महत्व र विश्व

स्वयम्भुनाथ कार्की -
कुनै समयमा हिन्दचीन भाईभाईको नारा दिने भारत र चीन विचमा अद्भुत शत्रुता भयो । २०१७ सालतिर दलाईलामालाई शरण दिए पछि भारतचीन सम्बन्धमा केही अमिलो हुनसक्छ कि भन्ने अनुुमान कसैकसैले गरेका थिए । तर यो करिव १ महिना चलेको युद्धको कारण भने दलाई लामा थिएनन्, सिमा विवाद थियो । २० अक्टोवर १९६२ (४ कार्तिक २०१९) देखि २० नोभेम्बर १९६२ (५ मंसिर २०१९ं)सम्म चलेको युद्ध अचानकको नै थियो । त्यो युद्ध विराम पछि सिमामा झड्पहरु भए तर फेरी त्यस्तो युद्ध भएन ।
शितयुद्ध कालमा हुने अनेकौ चालवाजीको सरलीकरण गर्न दुवै छिमेकीहरुले नेपाललाई ज्यादा महत्व दिएको र तात्कालिन शासनले भारतसंग मोलभाउ गर्न ‘चाइना कार्ड’ खेलेको चर्चा प्रयाप्त हुने गरेको थियो । अहिले पनि कुशलतापूर्वक चाईना कार्ड खेलेमा सत्तामा अजम्बरी हुने सोच भएकाहरुको कमी छैन । अरु त अरु स्वयं ‘जेएनयु’ दिक्षित भारतिय विदेशविज्ञहरु नेपाल कुनै बिषयको बारेमा धारणा बनाउँदा चीनसंगको नजिक वा टाढाको साईनो केलाउने गर्दछन । उदाहरणको निमित्त तेह्रौ सार्क शिखर सम्मेलनमा सदस्यको रुपमा अफगानिस्तान थप्ने प्रस्तावको पुरकमा नेपालको चीनलाई पनि संलग्न गर्ने प्रस्तावमा भारतिय पक्षको प्रतिक्रियालाई लिन सकिन्छ । तर चीन भारत सम्बन्ध सुधारको जुन लक्षण देखापरेको छ त्यसले एक पटक फेरी ३२ दिने युद्धलाई भुलेर हिन्दचीन भाईभाईको नारा पुन:स्र्थापना नहोला भन्न सकिन्न, यस दृष्टिमा नेपालको त्यो पुरक प्रस्ताव भविष्यद्रष्टा थियो भनि नहाले पनि त्यस तर्फको कदम भने पक्कै थियो ।
नेपालको ‘दुई ढुँगाको तरुल’को महत्व वा सामरिक महत्वको कुरा यसका दुई छिमेकीको झगडामा हैन बरु दुवै छिमेकीको उन्नती र प्रगतिमा ज्यादा छ । नेपाल आफु भुङ्ग्रोमा भएकाले यहाँका चिन्तकहरुलाई चीन नेपाल भारत सम्वन्धको सहि आयाम चिन्तन गर्ने फुर्सद छैन वा त्यसै आत्मरतिमा रमाउन चाहान्छन भनेर अवमूल्यन गर्नु उपयुक्त हँुदैन । सहि आयाममा चिन्तन गर्ने चिन्तकहरुको कमी छैन तर ती चिन्तकहरुका चिन्तन प्रसारित हुन भने सकेका छैनन । भारत र चीनमा नीति निर्माण तहमा भएका वैदेशिक मामिलाका विज्ञहरुले यो परंपरागत तरिकाले सोच्न छोडेको अनुभूति हुन्छ । यसको प्रत्यक्ष प्रमाणको रुपमा नेपालका वर्तमानका प्रमुख दलका शिर्ष नेतृत्वले खेल्न खोजेको चीन कार्ड लगातार असफल हुनु हो । 
नेपालका दुवै छिमेकीहरु निकट भविष्यमा अहिलेका आर्थिक महाप्रभँ भएका राष्ट्रहरुको ताज खोस्न उद्दत मुलुक हुन । न केवल उत्पादन, श्रमिक आपुर्ति र वजारको रुपमा पनि यी दुई राष्ट्रको उपेक्षा गर्न सकिदैन । यी दुवै मुलुकको जनसंख्या बाँकी विश्वको जनसंख्याको हाराहारीमा छ । यी दुवैसंग सिधा भिडन्त गर्न सक्ने ह््याउ वर्तमानको कुनै पनि शक्ति राष्ट्रसंग छैन । २०१७ सालको लडाईको शत्रुतामा अव त्यो राप छैन त्यसैले दुवैलाई आपसमा लडाएर आफ्नो वर्चश्वमा चुनौति दिन नसक्ने पार्न फलामको चिउरा चवाउनु सरह छ । यो अवस्थामा एउटै सजिलो बाटो दुवै मुलुकमा कचिंगल होस् । 
यस्तो अवस्थामा यदि यी दुवैको विचमा बस्न पाईयो भने त्यो भन्दा उत्तम परिस्थिति अन्य कुनै हुनै सक्दैन । राष्ट्र निर्माताले भनेको तरुल अनि भनिने गरेको नेपालको सामरिक महत्व यही नै हो । आजका अर्थतन्त्रको मेठ अनि तिनलाई चुनौति दिने भोलीका संभाव्य मेठ दुवै पक्षलाई आफुले जित्नु छ भने नेपाललाई आफ्नो नियंत्रणमा राख्न आवश्यक छ । चीन र भारतलाई नेपाल नियंत्रणमा राख्नु भन्दा यहाँबाट आफ्ना सुचनाहरु चुहिने बाटा बन्द गर्न पाए पुग्छ । उदियमान चीन र भारतलाई लगाम कस्न खोज्नेहरुलाई नेपाल नियंत्रणमा राख्नै पर्ने विवशता छ ।
यहि संघर्षले गर्दा नेपाल आज थिलथिलो भएको छ, नेपालीहरुमा घनघोर निराशा छाएको छ । देशको माया भएकाहरु आफ्नो र परिवारको ज्यान पाल्न विदेशिनु परेको वर्तमान अवस्थामा देश दुखेको चिन्तन त कायम छ तर देशको निमित्त केहि गर्न सक्ने अवस्थामा नेपालीहरु आफुले आफैलाई भेटिरहेका छैनन । यति कमजोर अवस्थामा नेपाल विगतमा कहिल्यै पनि थिएन । नेपाललाई आफ्नो प्रयोगशाला बनाएर मख्ख पर्न खोज्ने जो कसैले पनि आफु माथि आउन सक्ने  खतरालाई महशुस गरेन भने त्यो ठूलो भूल हुनेछ । नेपालको भौगोलिक परिस्थिति र यहाँको रनवनसंग लुकामारी खेलेका नेपाली सपुतहरु बाहेक अन्यको यो क्षेत्रमा अवान्छित तत्वको प्रवेश रोक्ने क्षमता छैन । एक बलियो स्वाभिमानी जनता भएको नेपालले मात्र आफ्नो क्षेत्रमा अवान्छित तत्वलाई रोक्न सक्छ । आफ्नै समर्थकहरुको गाली सुन्न बाध्य नेतृत्वले एक बलियो राष्ट्र दिन सक्छ भन्ने सोच विश्वले राख्छ भने त्यो बारुदको थुप्रोमा बसेर सलाईसंग खेले वरावर हुन्छ । सम्पुर्ण सामथ्र्य लगाउदा त आतंकवादले विश्व पोल्दैछ भने यदि नेपालजस्तो तालिम केन्द्र र आधार इलाका त्यसले भेट्यो भने कुन अवस्था होला ? त्यो अवस्थामा मृत्युशैयामा सुतेको नेपालले आँशु भने चुहाउने छ, हे दैव ममाथि गरेको नाङ्गो नाचको सजाय नदेउ भनेर पुकारा भने गर्नेछ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper