banner
banner

पराक्रमको प्रारव्ध बदल्नुपर्छ राजन

स्वयम्भुनाथ कार्की -
    संसार भर नै राजाको अर्थ ठूलो, मान्य लाग्दछ, अरुभन्दा विशेष । चाहे त्यो मुलुक राजतन्त्रात्मक होस् बा गणतन्त्रात्मक यो कुरामा समान छन् । सबैभन्दा कान्छो गणतन्त्र नेपाल अरे, यसलाई संस्थागत गर्न हम्मेहम्मे परको छ । दैवले हो वा बैरी योजनाले हो अकल्पनीय प्रहार गरेर घिटघिट पारेको राजसंस्थालाई त्यही वेलामा प्रहार गरेर कपटपूर्ण तरिकाले कायम गरिएको गणतन्त्र । जसले जति प्रयत्न गरेपनि बामे सर्न त के कोल्टे फेर्न पनि सक्ला नसक्ला । तैपनि अहिले डुक्रदैछ भने त्यो राजसंस्था सम्हाल्ने प्रतितिधिको वैराग्यले नै संभव भएको हो भन्न कुनै  अतिशयोक्ति हुँदैन ।
    गणतन्त्रको झण्डै दशक वित्दा सबैलाई यो विदित नै भएको हुनु पर्दछ कि यो मुलुकमा भएको सभ्य शक्तिकेन्द्र राजसंस्था नै रहेछ । जस्तो भए पनि जनताको इच्छा भनेर संविधान, नियम कानुन सम्पूर्णरुपले मान्ने केवल राजसंस्था नै देखिएको छ । जो राजालाई निरंकुशताको पगरी भिराउँछन उनीहरु त साठी बर्षदेखिको जनताको सपना भनेर बनाएको संविधान र घरको भोजको खानासुची (मेनु) एकै ठान्छन् । जे कुराले आफुलाई रोक्न खोजेजस्तो लाग्छ त्यो नै जतिखेर पायो त्यतिखेर संशोधन गर्छन् । यस प्रकारको निरंकुशता राजसंस्थामा कल्पना पनि गर्न सकिने कुरा थिएन ।
    राजसंस्थाको प्रतिनिधि र सर्वसाधारण जनतामा अन्तर हुन्छ । सर्वसाधाण जनतालाई आफ्नो व्यक्तिगत दु:खसुखमा झोक्राउने र रमाउने स्वतन्त्रता हुन्छ तर राजसंस्था प्रतिनिधिले  आफ्नो व्यक्तिगत हाँसो र रोदन गर्न पाउन्न । देश र जनताको हाँसो र रोदन आफ्नो बनाउनै पर्दछ । जनतासंग आफुलाई जोडने र संबन्ध कायम गर्ने राजा नै कालजयी भएका छन् । चाहे सबै रैतिको घरबाट चुल्हो बलेको नदेखुन्जेल खाना नखाने मल्ल राजा हुन वा जनताको घरदैलोमा पुगेर दु:खसुख साझा बनाउने शाह राजा । न्यायमा उदाहरण दिइने राम शाह र थिती बसाल्ने महिन्द्र मल्ल यही भुगोलमा थिए ।
    राजाहरुले पराक्रमले आफ्नो प्रारब्ध बदल्नु पर्दछ, पराक्रम नदेखी भाग्यले पनि राजाहरुलाई साथ दिदैन भनिन्छ । युधिष्ठिरको जुवाको आशक्तिले गुमाएको सर्वश्वलाई प्रारब्धको भरमा छोडेनन पाण्डवहरुले । सहमती शर्तनामा कौरवहरुले तोडेका थिए, साधन श्रोत अनि सैन्यशक्तिमा पनि उनीहरुलै प्रवल थिए । तर पाण्डव दैवले दण्ड देला भनेर बसेनन् । महाभारतको यो श्लोक यहाँ प्रासंगिक होला ।
पाण्डवनां ह्तं राज्यं 
धार्तराष्ट्रैर्महावलै ।
पुन: प्रत्याहुते चैव न 
दैवाद् भुजसंश्रयात ।।
(महाभारत— अनुशासन पर्व— ४०।६०)
    अर्थात महावली धृतराष्ट्र पुत्रहरुले पाण्डवको राज्य हडपेका थिए । त्यसलाई पाण्डवहरुले दैवको भरोसाले हैन वाहुवलले नै फिर्ता लिए । दैव वा अरुको भरोसामा रहेका भए उनीहरुको वनवास सधैको निमित्त हुने थियो ।
    महाभारत युद्धको शुरुमा कौरवहरु सँग दश अक्षहोणी सेना थिए भने पाण्डवहरुसँग केवल आठ, तैपनि विजयश्रीले पाण्डवहरुलाई नै वरण गरिन् । बाह्र बर्ष वनवास र एक बर्ष गुप्तवास बसेर आएका पाण्डवहरुसँग केवल हिम्मत र मनैले माया गर्ने केही बान्धव बाहेक केही थिएन । भनिन्छ यो सत्यको विजय थियो, हो सत्य कै विजय थियो । त्यो सत्यलाई मनैदेखि निस्वाथ्र्य रुपमा सत्य मान्ने आफ्नाहरु थिए । मनले साथ दिनेहरु सुखमा दुखमा, हर्षमा विस्मातमा, उत्सवमा शोकमा स्वतस्फुर्त साथ हुन्छन् । 
    पाण्डवको साथमा भएका आठ अक्षहोणी सेनासहितका बान्धव मनले नै पाण्डवहरुलाई न्याय दिलाउन तन मन धन अर्पेका थिए । कौरवसंगका दश अक्षहोणीमा भने धेरै उनीहरुको दवदवाले साथ दिन विवश भएका थिए । श्रीकृष्णका सेना अनि नकुल सहदेवका छलले आफ्नो तर्फ पारिएका शल्यका सेना तन कौरव पट्टी भए पनि मन पाण्डव पट्टी नै थियो । 
    यसैले पराक्रमले प्रारव्ध बदल्नु पर्छ  राजन ।
    दैवको सहारामा आफुलाई छोड्नु भनेको कायरता त हुँदै हो साथमा पुर्खाको गौरव, जनताको आशा आदिको अपमान पनि हो ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper