banner
banner

गुण र दोषको आधारमा मूल्यांकन स्वतन्त्रताको मापक

स्वयम्भुनाथ कार्की - 
    आफ्नो ब्रम्हले देखेको, आफुले अनुभव गरेको तथा आफ्नो विवेकले कुनै कुराको पक्ष विपक्ष रोज्न पाउने अवस्था नै सहि अर्थमा स्वन्त्रता र सार्वभौमिकताको आधार हो । तर व्यवहारमा यस्तो अवस्था देख्न पाईन्न । आज प्रत्येक दलका महन्तहरुको एक मात्र ध्याउन्न छ, आफ्ना कार्यकर्ताहरुले आफुले जे भन्यो त्यसैलाई ध्रुव सत्य हो भन्ने कुरा मानुन् अनि त्यसैको पक्षमा ज्यान समेत अर्पण गरुन, आफ्नो इशारामा चलुन । अर्थात आफ्नो आत्मा,बुद्धिविवेक सबै छोडेर दलको नाममा आफ्नो वफादार सिपाही भएर आज्ञा पालन । गुण दोष विवेचन गर्ने अधिकार केवल एक स्तरमा पुगेका नेताको मात्र हो, अरुको काम भनेको त्यो आज्ञाको शतप्रतिशत पालन गर्नु हो ।
    प्रजातन्त्रको पर्यायवाची बनेको बहुदलिय संसदिय व्यवस्था पुन कायम गर्न लामो संघर्ष भयो । अझ भन्ने हो भने एक नयाँ पिंढी नै तैयार गरियो जसले सत्रसाल पहिलेको अवस्था देखेको थिएन, भोगेको थिएन । निरन्तर एक सुन्दर भविष्यको सपना, एक स्वतन्त्र समाजको परिकल्पना देखाएर आन्दोलनमा होमिएको थियो । निर्दलीय पञ्चायती व्यवस्था ढल्नु थियो, ढल्यो , निर्दलिय व्यवस्थाको आधारका जुन सिद्धान्त थिए ती सबै इतर र भितरको रडाकोले खोक्रो परेको थियो । विचारकहरुको मोरो काढ्ने र शक्तिमा पुगेकाले आफ्नो चाटुकारहरुलाई काखी च्याप्ने, आफ्ना कुराको समर्थन नगर्नेहरुको उछित्तो काढ्ने अभ्यास उत्कर्षमा पुगेको थियो । यस काममा सबैभन्दा अग्रणी स्थानमा त्यही पञ्चायत प्रणालीमा सबै भन्दा धेरैचोटी र धेरै समय प्रधानमन्त्रीको कुर्सी सम्हालेका हस्तीहरु थिए । यसरी पञ्चायत त्यसवेला टेक्ने समाउने नभएको अबस्थामा पुगेको थियो ।
    पञ्चायत पछि आएको बहुदलिय व्यबस्थाले नेपालको संवैधानिक इतिहास शुरु भए पछि पहिलो पल्ट राजनीतिमा स्वतन्त्र विवेक प्रयोगलाई कानुनी वन्देज लगायो । मुलुकको सर्वोच्च विधायिकामा वालिग मताधिकारको प्रयोगले चुनिएर गएकाहरुले आफ्नो विवेक अनुसार प्रस्तुत हुन नपाउने भए । ह्विप उलंघन गर्न नपाउने कानुनी वन्देजले नामले जनप्रतिनिधिहरु वास्तवमा दलका खटाईएका सैनिक भए । अंग्रेजीको यो शब्द ह्विपको नेपालीमा अर्थ नै हुन्छ कोर्रा, जो घोडसवारले घोडालाई आफ्नो नियंत्रणमा राख्न प्रयोग गर्दछन । साठीसत्तरीको दशकसम्म आफ्नो कुरा नमान्नेलाई सजाय दिन प्रयोग गरिन्थ्यो र वर्तमानमा पनि शरियत कानुन लागु भएको ठाउँमा अपराधी ठहर्‍याइएकालाई सजाय दिन प्रयोग हुदैछ ।
    ‘वादे वादे जायते तत्वबोध’ यो सनातनको मान्यता हो, कुनै समस्याको तहमा पुग्ने सबैभन्दा असरदार औजार हो । पूर्विय दर्शको यो प्राचीन सुत्रलाई आज सारा संसार मान्दछ कि छलफल, वहस या वादविवादबाट सबै समस्याको हल निकालन सकिन्छ । तर यो सुत्रको उद्गमस्थलमा नै छलफल कसरी टार्ने भन्नेका निमित्त अनेकौं तरिकाहरुको आविष्कार भएको छ । किनभने यहाकालाई राम्ररी थाहा छ कि छलफल वा वहस हुन दियो भने कसैको मर्जि चल्न सक्दैन, उचित निचोड निस्कन्छ जो संभवत आफ्नो अनुकुल हुदैन । त्यसैले आजकल सानो भन्दा सानो समुहमा पनि छलफलको नाममा त्यसको विकृतरुप प्रवचन चल्ने गर्दछ । प्रतिप्रश्न र त्यसको उत्तरदिने दायित्वबाट बचाउन यो उपाय ज्यादै असरदार हुन्छ ।
    आफ्नो भनेर गुण दोषको ख्याल राख्न नपाउने, आफ्नाको कुरा जति नै अनुचित भए पनि शिरोधार्य नै गर्नु पर्ने र विपक्षीको कुरा जति नै उचित भए पनि त्यसको खोईरो नै खन्नु पर्ने ? यो दासताको सांग्लोमा वाधिएका जनताका प्रतिनिधिहरुले जनतालाई स्वतन्त्रता अनि उज्वल भविष्य दिन्छन भन्ने कुरा बालुवा खाएर तिर्खा मेसटन्छ भन्नु  सरह नै हो । स्वतन्त्रताको प्रथम नभई नहुने सर्त हो गुणदोषको आधारमा समर्थन वा विरोध गर्न पाउने अधिकार । जनताले आफ्नो यो अधिकार पुन:स्र्थापना गर्ने एक मौका आउदैछ निर्वाचनको रुपमा ।
    यसमा दलको चिन्हलाई नरोजी उपयुक्त स्वतन्त्रलाई रोज्नु यो अधिकार पुन:स्र्थापना तर्फको पाईला हो । जति नै योग्य भए पनि दलको ‘टिकट’ बोकेपछि योग्यताले हैन दलको हैकमले काम गर्छ अर्थात त्यो अयोग्य हुन्छ । आसन्न स्थानिय निर्वाचनमा के दलहरुले सही मुल्यांकन गर्छन त ? सहि मुल्यांकन त्यही दलका योगदान गरेका कार्यकर्ताहरु पनि मान्न तैयार हुँदैनन भने जनताले मान्नुपर्ने कारण नै छैन ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper