banner
banner

चीनलाई दुई जोडी गैंडा

सहदेव सिग्देल - 
    सरकारले चीनको अनुरोधलाई सम्मान गर्दै चितवनमा रहेका दुई जोडी गैंडा चीनलाई उपहार दिने भएको छ । गैंडा नेपाल र चीनवीचको मैत्री सम्वन्धको परिचायकका रुपमा देखिएको छ । पहिले पनि नेपालले एकजोडी गैंडा चीनलाई उपहार दिइसकेको छ । नेपालको एकसिंगे गैंडा संसार प्रशिद्ध जनावर हो ।
    हुन त अहिलेलाई कर्मचारी तहमा सहमति भएको हो । केही समयमै सरकारी तहमा सहमति सम्झौता हुनेछ र त्यसपछि दुईजोडी गैंडा चीनलाई उपहार पठाउने प्रक्रिया प्रारम्भ हुने जानकारी राष्ट्रिय निकुञ्ज विभागले दिएको छ ।
    साइटिस, क्वारेन्टाइनलगायतका नियम कानुनको पूरा गर्ने प्रक्रिया सुरु भइसकेको छ । अन्य क्षेत्रमा गैंडा कम भएकाले चितवनबाटै गैंडा पठाउने निर्णय भइसकेको थाहा भएको छ । वन्यजन्तु उपहार कूटनीति पनि सम्बन्ध सुधारको सेतु बन्न थालेका छन् । आधुनिक युगमा कूटनीतिमा अनेक तरिका अपनाउन थालिएको छ । नेपालका गैंडा चीनले अध्ययन अनुसन्धान र विस्तारमा उपयोग गर्ने भनिएको छ । केही वर्षमै चीनमा पनि गैंडाको संख्या बढ्ने निश्चित छ ।
    १० मुनीका गैंडाहरुको पहिचान भइसकेका छन् । ती गैंडाका रहनसहन, बानीबेहोराको अध्ययन भइरहेको छ । त्यसबारेमा चीनका अधिकारीलाई पूरा तालिम दिएरमात्र ती गैंडा चीनमा पठाइनेछ । कारण, ती गैंडाको हेरचाह गर्न चीनका अधिकारीहरुलाई सहज होस् । गैंडा पठाउनु अघि सम्पूर्ण स्वास्थ्य परिक्षणसमेत गरेर पठाइने प्रमुख संरक्षण अधिकृत रामचन्द्र कडेलले बताए ।
    चीनमा अफ्रिकाबाट लगिएका दुई सिंगे गैंडा प्रशस्त प्रजनन भइसकेका छन् । चीन एकसिंगे गैंडा प्रजनन गराउने लक्ष्यका साथ अघि बढेको छ । नेपालबाट लगिएका गैंडालाई संघई र गोङ्जाउ सफारीमा लगेर अनुसन्धान गरिने चीनले नेपाललाई जानकारी गराइसकेको छ । नेपालको एकसिंगे गैंडा चीनको पहिलेदेखि नै आकर्षणको केन्द्र बन्दै आएको छ । यो दुर्लभ जनावर पनि हो ।
    नेपालले यसअघि भारत, जापान, जर्मन, बेलायत, क्यानडालाई पनि गैंडा उपहार दिएको थियो । नेपालमा गैंडाको संख्या ६ सय भन्दा बढी छन् । हालैमात्र चितवनमा एकसिंगे गैंडाको चोरी सिकारी भएको छ । सिकारीले गैंडाको खाग र पुच्छर काटेर लगेका छन् । यससम्बन्धमा अनुसन्धान भइरहेको छ तर अहिलेसम्म कुनै पनि वन्यजन्तु सिकारी पक्राउ परेका छैनन । एकातिर चितवनको गैंडाहरु सुक्लाफाँट र बर्दियामा ठाउँसारी गर्ने काम भइरहेको थियो, अर्कोतिर चोरी सिकारी गर्नेले गैंडा मारे । ती गैंडामारहरुलाई पक्राउ गर्न नसक्नु सुरक्षा निकायको कमजोरी मानिएको छ । कानुन व्यवस्थाको तरल अवस्थाको लाभ उठाएर गैंडा मारिनु र चोर पक्राउ हुन नसक्नुले सरकारभन्दा माफिया बलियो भएको अनुभव सबैले गरेका छन् । कतै राजनीतिक र सुरक्षा सेटिङ मिलाएर गैंडाको सिकार गरिएको त होइन ? भन्ने प्रश्न पनि गम्भीर रुपमा उठिरहेको देखिन्छ ।
    हालैमात्र १३ गैंडालाई बर्दिया र सुक्लाफाँटामा ठाउँसारी गरिएको छ । बाघ गणना, गैंडा ठाउँसारी गर्ने जुन अभियान चलाइएको छ, यसबाट पनि वन्यजन्तुहरु जोखिममा परिरहेको आशंका पनि गरिएको छ । तर सरकार मौन छ किन ?

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper