banner
banner

राजधानमै राजा आउ...

शाश्वत शर्मा - 
गत चैत १७ गते विहीवार, पूर्व नवयुवराज हृदयन्द्र वीरविक्रम शाहदेवको शुभ उपनयन भव्यताका पूर्वक सम्पन्न भयो । शुभ उपनयनका कर्महरु सम्पन्न भइसकेपछि हृदयन्द्रलाई राजधानीका विभिन्न देवदेवीहरुको दर्शन गराइयो । त्यस अवसरमा फेरि एकपटक राजा आउ देश बचाउको नारा लाग्यो । हृदयन्द्रलाई बधाई तथा शुभकामना दिने आमनागरिकले सडकबाटै राजा आउ देश बचाउ भन्ने नारा घन्काएका हुन् । गणतन्त्र गणतन्त्र भनिएको मुलुकमा र १२ वर्षपछि पनि जनतामा राजतन्त्र ज्यूँदै देखिन्छ । यो नाराको आवाज संसद, सिंहदरवार र शीतल निवाससम्म पनि पुग्यो । तर कसैले यो जननाराको प्रत्यूत्तर दिएनन् । तैंचुप, मैचुप गरेर लोकतन्त्रको खुवा विर्ता खाइरहे ।
हो, यथार्थमा जनआन्दोनलका सबै उपलव्धिहरु बेकामे शिद्ध भइसके । राष्ट्रनिर्माण र सुदृढ एकताको दस्तावेज बन्नुपर्ने ०७२ सालको संविधान राष्ट्र बिखण्डन, राष्ट्रवासीको बिभाजन गर्ने आधार बन्नपुग्यो । आज विवाद प्रदेशको नामांकन, सिमांकन र संख्यामा मात्र सिमित छैन । छुट्टै राष्ट्रका कुराहरु पनि बग्रेल्ती उठिरहेका छन् । मधेस राष्ट्र भनेर नेपालबाट छुट्टिने आवाज उठेको छ । यसका अभियन्ताहरुलाई पक्राउ गरे पनि विचारलाई ध्वस्तनष्ट गर्न कुनै पाइला चालिएन । मानौं सरकारको पनि स्वीकृति छ । अझ एकताका त प्रदेश नं २ मा रहेको पहाड र मधेस अलग गराएर मधेस प्रदेश बनाउने र चुनाव गराउने प्रस्ताव राज्यले नै सार्वजनिक गर्‍यो ।  जसरी पनि चुनाव गराउँछौं भन्नुपर्नेमा, राष्ट्रिय एकता टुक्रिदैन भन्नुपर्नेमा २ नम्बर प्रदेशबाट मधेस अलग पार्ने भान पारियो । लाग्छ, लोकतन्त्रका नायकहरु सुगौली सन्धिबाट बचेका भूभागलाई पनि टुक्रा टुक्रा पार्न चाहन्छन् । गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता यी तीनवटै कथित उपलव्धिहरुले नेपाल टुक्य्राउने आधारभूमि तैयार गरिरहेका छन् । मुलुक नै नरहने भएपछि उपलव्धिको के काम ? अव नेपाली जनता पनि सजग भइसके । कुनै पनि छिमेकीहरुको हरकतहरुमा नेपाली चनाखो हुन थालेका छन् । हालै पुनर्वास नगरपालिका कञ्चनपुरमा गोपाल गौतमले सीमा सुरक्षा गर्दै वीरगति प्राप्त गरे । भारतले गोली ठोक्यो, नेपालीले छाती थापे, पछि हटेनन् ।
गतवर्ष भारतले गरेको नाकावन्दीको समयमा नेपालीले जुन ऐक्यवद्धता प्रदर्शन गरे, त्यो तारिफयोग्य छ । भारतको हेपाह र बलमिच्याइ नेपाली सहन तैयार छैनन् भन्ने त्यो उदाहरण नेपाली राष्ट्रवादको द्योतकका रुपमा लिन सकिन्छ । तर नेताहरु अहिले पनि नेपालका पक्षमा उभिन, बोल्न सक्दैनन् । अति भयो, नेताकै कारण नेपालको अस्तित्व संकटमा परेको छ । राजनीतिक दलहरु असफल, नेताहरु असक्षम साबित भइसके । यस्तो अवस्थमा नेपालीले सम्झिने भनेको उही चुपचाप बसेको राजतन्त्रलाई नै रहेछ । त्यसैको प्रतिध्वनी गुञ्जियो राजधानीमा ।
अचम्मचाहीं के छ भने राजसंस्थाका कुनै सदस्य देख्यो कि जिन्दावाद, आउ देश बचाउ भन्ने नारा लाग्छ । त्यसपछि पहाडमा ठोक्किएर गुञ्जिएको त्यो नारा बिस्तारै सेलाउँदै जान्छ । न राजतन्त्रले अगाडि सर्ने आँट गरेको देखिन्छ, न जनताले हिम्मत गरेर सडकमा उभिएको नै । राजतन्त्र जनमतमा शक्तिशाली छ, नेतृत्व लिने कोही नभएकाले यस्तो दयनीय अवस्था देखिएको हो राजतन्त्रको ।
झिल्का देखिन्छ, आगो सल्किन सकेको छैन । हिन्दुवाद अथवा राजतन्त्र दुबैको हालत यस्तै छ । दुबैतिर पर्याप्त जनशक्ति छ । त्यो असंगठित जनशक्तिकै कारण शक्ति बन्न नसकेको हो । हिन्दुराष्ट्र र राजतन्त्रको नारा उछालेर संसद पुग्ने पुगे, सत्ता हात पार्न पनि सफल भए । अहिले सडकका अनेकानेक व्यक्तिहरु हिन्दुवाद भनेर लागिपरेका देखिन्छन् । हिन्दुवादीहरु माओवादी, कांग्रेस, एमाले, राप्रपा, मधेसवादी जताततै पर्याप्त छन् । तर ती सबै आआफ्नै स्वार्थ र लालचका बन्दी बनेका छन् । त्यसकारण अस्तित्व बचाउन मुकाविला गर्ने शक्ति बन्न सकेनन् । निर्धो भएर बेला बेलामा राजा आउ देश बचाउ भन्ने एकछिन चर्को स्वर निकाल्छन् र फेरि थकित भएर झरेको फूल मुर्झाएजस्तो मुर्झाउँछन् ।
पहिले दलीय विभेद थियो, अहिले जाति, भाषा, भेष, क्षेत्रमा भेदभाव सुरु भइसकेको छ । मानसिक रुपमा यति बिभाजन र तिक्तता भरिसकियो कि सानो कुराले पनि कुरुबंश बिनासको लीला देशमा देखिन सक्छ । १ सय २६ जातिको देशमा एकता कसरी ? एकताको मौलो कहाँ छ, बन्न सक्ने को छ ? त्यो कडीको खोजी जारी छ, आम नेपाली त्यही जोडनको प्रतिक्षामा छन् तर बिभाजनकारी शक्ति हावी हुँदै गएको देखिदा नेपाल अस्तित्व मेटिने खतरामा परिसक्यो ।
गणतन्त्र शव्द जति चित्ताकर्षक लाग्छ, त्यति नै नेताहरुको व्यवहार र चरित्रले गणतन्त्रको गरिमा र महिमा मण्डन गर्दै गएको छ । त्यसैले गणतन्त्र आमनागरिकका लागि असह्य बेदना बन्नपुगेको छ । जनताको मनोभाव मिलेर बसौं, शान्ति र समृद्धिको मार्ग खोलौं भन्ने छ । नेताहरु आफै खाउँ, आफै लाउँ, मोजमस्ती आफै गरौं भन्नेमा सिमित हुनपुगेको छ । नेताहरुको यही दुर्गृुणका कारण संक्रमणकालको अन्त्य र शान्ति झन झन पर पर हुँदै गएको छ । संविधानले केही गर्ला कि भनेको संविधान कागजको खोस्टो भयो । संविधानले जनताको आकांक्षा र अपेक्षालाई संवोधन गर्नै सकेन । झन विवाद र झगडा पो बढायो । अव सबैले विचार गर्नुपर्छ, महगो संघीयता भन्दा अधिकार सम्पन्न विकेन्द्रीकरणसहितको हिन्दु संविधान निर्माणले मात्र नेपाल र नेपालीको कल्याण र प्रगति सम्भव छ । शान्ति सन्निहित छ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper