banner
banner

पोलिमर नोट काण्ड किन दबाइयो

रोशन कार्की - 
पोलिमर नोट छपाइ काण्डबारे अख्तियारमा उजुरी पर्‍यो तर छानबिन नै भएन । अहिले पनि त्यो नोट छपाइ काण्डको भ्रष्टाचारबारे अख्तियारले कुनै छानबिन गरेको छैन । किन छानबिन भएन भन्ने रिट परेपछि सर्वोच्च अदालतले छानबिन नगर्नेलाई बाञ्छित अवस्था मान्न सकिन्न भनेको छ ।
    प्रधान न्यायाधीश सुशीला कार्की तथा न्यायाधीश ईश्वरप्रसाद खतिवडाको संयुक्त इजलाशले पोलिमर नोटमा भएको भनिएको भ्रष्टाचार काण्डसम्बन्धी रीट निवेदनको फैसलाको पूर्ण पाठमा यस्तो आपत्ति प्रकट भएको छ । अख्तियारले अनुसन्धान र छानबिन भइरहेको भनेर ढाँट्दै आएको छ र सर्वोच्चको यस्तो आशंकापछि पनि अख्तियारले पोलिमर नोटको फाइल खोलेको छैन ।
    पोलिमर नोट छपाइको ठेक्का दिदा नै भ्रष्टाचार भएको छ । शायद त्यही कारणले होला नोट गुणस्तरहीन छापियो र नोट प्रचलनमा आएको थोरै समयमै नोट प्रचलनमा रहन सकेन । यो गम्भीर विषय थियो, कसुरदार को हो भन्नुपर्ने थियो र कारवाही हुनुपथ्र्यो । केही भएन ।
    पोलिमर नोट छपाइ काण्डमा मुख्यत तिलक रावल अगाडि परेका छन् । उनीबाहेक हिमालयबहादुर पाण्डे, पृथ्वीबहादुर पाण्डे, रमा राज्यलक्ष्मी पाण्डे, केशव खत्री, उपेन्द्रकेशरी पौड्याल, डा. तिलक रावल, मेफ्लावर प्रालि, ग्लोवल ग्रुप प्रालि र सुपर ट्राइस्टार इन्भेष्टमेण्ट लिमिटेड रहेका छन् र यिनको नामका र उनीहरूको नियन्त्रणमा रहेका अन्य खाताको विवरण पठाउन अष्ट्रेलियन सरकारले नेपाल सरकारसँग अनुरोध गरेको थियो । सो बमोजिम नेपाल राष्ट्र बैङ्कले उनीहरूको बैङ्क खातामा रहेका विवरण अष्ट्रेलियाली सरकारसमक्ष पठाउन तयारी गरिरहेको अवस्थामा सर्वोच्च अदालतमा रीट निवेदन दायर गरिएको थियो ।
    यिनको वैंक विवरण पठाउँदा राष्ट्रघात हुने तर्क अगाडि सारेर मुद्दालाई कमजोर पारिएको थियो । अपराध नियन्त्रण गर्ने सम्बन्धमा कुनै पनि सूचना आदान प्रदान गर्न सकिने अदालतको व्याख्या आएको छ । राष्ट्र बैङ्कको टेण्डरबमोजिम १० रुपैयाँ दरको पोलिमर नोट छपाइ गर्नका लागि ‘नोट प्रिण्टिङ अष्ट्रेलिया लिमिटेड’ लाई जिम्मा दिइएको थियो । जिम्मा दिदा नै ठूलो भ्रष्टाचार भएको कारण यो प्रकरणमा ठूलाबडाको दबाब र प्रभावले काम गरेको आशंका छ ।
    पोलिमर नोट प्रकरणको छानबिन हुने हो भने कमिशनमा मुछिएका दर्जनभन्दा बढी सफेदपोसहरुको कालो अनुहार सबैले देख्न पाउने थिए, तर अख्तियार नामको हनुमान सरकारको चालमा चाल मिलाएर हिड्दा भ्रष्टाचार बढेको छ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper