banner
banner

...यति गर्ने कसले ?

शाश्वत शर्मा - 
वास्तवमा भन्नु नै पर्दा एकथरि नेपाली सपनामा बाँचेका छन् । आफूलाई राष्ट्रवादी र राजावादी भनाउन अहिले पनि औधि रुचाउने तिनीहरुलाई राष्ट्रको त कुरै छाडौं, आफ्नो गन्तव्य र भविष्य के हो? भन्ने समेत थाहा छैन । एकोहोरो रुपमा राष्ट्र र राजा भनेर भन्दै बसेका यिनीहरु पूर्वराजाका हरेक कृयाकलापबाट सन्तुष्ट हुने गर्छन् । जस्तो कि पूर्वराजाका भ्रमणहरु, पूर्वराजाले पाएको स्वागत सत्कारहरुबाट यिनीहरुको मनमा आशा तुरुन्तै पलाउने गर्छ । अझ बिगत करीव ९वर्षदेखि त पूर्वराजाको परम्परागत रुपमा आउने गरेका सन्देशहरु यिनको लागि दिव्यवाणी सरह हुने गरेको छ । एक एक शव्द केलाउन थाल्छन्, पूर्वराजाको सन्देशहरुको । के गर्ने ? अर्कोतिर लागौं भने एक त सिद्धान्त र नैतिकताले पनि दिदैन, दाश्रो अर्कोतिर लागे पनि कसले पत्याउने ? राजतन्त्र फर्काउँछौं भन्ने शिर्षक राखेर खुलेका अनेक शंकास्पद दलहरुमा प्रवेश गर्नुभन्दा बरु स्वतन्त्र रुपमा नै राष्ट्र र राजावादी भनेर बसेको राम्रो  भन्ठान्छन् धेरैजसो ।
राजाका लागि आआफ्नो किसिमले काम गरिरहेका छन् । औंलामा गन्न सकिने केही यस्ता राजभक्तहरु होलान् जसले राजासम्म पहुँच बनाउन सफल भएका छन् । बाँकी प्रशंसक, विचार बोकेकाहरु हदसे हद पूर्वराजाका सहयोगीहरुको ढोकासम्म पुग्न सक्छन्, आआफ्नो फेहरिस्त लिएर कसैले कुनै बेला भनेको सुनिएको थियो कि राजतन्त्रमा पार्टीवालाहरुको दिन खुलेको थियो । बाँकी स्वत:स्फुर्त राजावादी भएकाहरु त उही राजाको शुभजन्मोत्सवमा शुभकामना दिन गएर अनि दशैंमा टिका लगाउन गएर आफ्नो धीत मार्ने, आत्मतुष्टि गर्ने न हुन् ।
पैसा र पद दिएर पार्टीवालाहरुलाई राजतन्त्रको समयमा खुब स्वागत सत्कार गरियो । खाँटी राजावादीहरु त हेर्ने र सुन्नेमात्र थिए । हात लाग्यो शून्य । के नेता, के प्रशासक, के पत्रकार वा के अन्य महानुभावहरु, विरोधी खेमा भन्ने वित्तिकै मोलतोल गरेर केही न केही र कुनै न कुनै रुपमा व्यवस्थापन गरिन्थे ।
यतिबिघ्न गन्थन गर्नुको मतलव तत्कालीन दरवार वा तिनका सहयोगीहरुलाई मान्छे राख्न आएन । मौकापरस्तहरुलाई बढावा दिएर आफ्नाहरुलाई नजरअन्दाज गरियो । त्यसैको फलस्वरुप आज बहुसंख्यक राष्ट्रवादीहरु कोही पनि सक्रिय रुपमा अगाडि आउन चाहदैनन् । त्यसैको परणाम हो आस्था र विश्वास भएता पनि त्यसैका लागि अधिकांशहरु कार्यक्रमहरु दिएर परिणाममुखी आन्दोलन गर्न अघि सर्दैनन् । आफ्नो र परिवारजनको जिम्मा लिने कसले ? पार्टीका कार्यकर्ताहरुका पार्टी छन्, राष्ट्रवादीहरुको को छ ? ढुंगा बोल्दैन, राजा सुन्दैन । राजावादी, राष्ट्रवादी छन्, छरिएर रहेका छन्, संगठित हुन नसक्नुको कारण यही हो । र, नेतृत्व लिने पनि कोही छैन । अहिले राष्ट्रवाद जगाउन र हिन्दुवाद, राजावाद पुनस्र्थापित गर्न जे जस्ता झिना मसिना कार्यक्रम भइरहेका छन्, तिनको सुनवाई नहुनु र परिणाममुखी नहुनुको मुख्य समस्या पनि असुरक्षा नै हो ।
भयको मनसिकतामा न आन्दोलन हुनसक्छ, न परिणाम आउनसक्छ । मुलुक स्थानीय चुनावमा बिस्तारै होमिन थालेको छ । सथनीय चुनाव वर्तमान गणतान्त्रिक संविधानको कार्यान्वयनको पहिलो खुट्किलो । हिन्दुवाद र राजावादको पुनस्र्थापनामा एकपछि अर्को तगारो तेर्सिदैछ । झन एकथरि उपबुज्रुकहरु त राष्ट्रपतिकी छोरीको शुभविवाहमा आएको निम्तोलाई स्वीकारेर शितल निवासमा पूर्वराजा जानुलाई अशुभ मानिरहेका छन् । विद्या भण्डारीलाई राष्ट्रपतिको हैसियत प्रदान गर्नु नै पूर्वराजाले आत्मसमर्पण गरेको जिकिर गर्नेहरुको ताँती पनि लामै छ । छोरीको विहे, शुभकामना र गोडधुवा पठाइदिएको भए हुने थिएन र ?
जेहोस्, राष्ट्र बिखण्डनतिर जाँदोछ, अप्ठेराहरु बढ्दा छन् । नेपाली एकता भाँडिदो छ । स्थिरता र शान्ति, समृद्धि र उन्नति सपना हुनथालेको छ । धर्म र संस्कृतिमाथि खुलेआम अतिक्रमण, त्यसमाथि सीमा मिच्दै पसेका विदेशीले नागरिकको हत्या गर्न थालिसके । हत्या गरेर पनि विदेशी पछुतो मान्दैन, गौरव गर्छ । सरकार छ, तिनै हत्यारा विदेशीका सामु लम्पसार पर्छ । यस्तो बेलामा राष्ट्रवादी आन्दोलन चर्काउनु पर्ने हो । तर अगुवा हुने को ? कसले परिणामको जिम्मा लिने ? आन्दोलनमा होमिएकाहरुलाई पुराना गल्तीहरुदोहारिदैनन् भनेर कसले आश्वस्त पार्ने ? छरिएका राष्ट्र र राजभक्त, हिन्दुवादी र परम्परावादीहरुलाई एकीकृत गर्ने सुत्र के ? त्यसै पनि विश्वासको संकट छ, विश्वास दिलाउने कोही देखिदैनन् । जबसम्म यति कुराहरुमा विचार गरिदैन, तवसम्म मोदी आए पनि योगी आए पनि केही हुनेवाला छैन । किनभने नेपालको मायाँ नेपालीले नै गर्नुपर्ने हो । कसैले सहयोग गर्ला, स्वाभिमान ब्यूँझनु पर्ने त नेपालीकै होइन र ?

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper