banner
banner

लोकतन्त्रमा व्यक्तिपूजा

स्वयम्भुनाथ कार्की - 
सामान्यतया राजनैतिक दलहरुलाई जनताले आफ्नो अधिकार उपभोग तथा कर्तव्य निर्वाहनको औजार भनेर मान्ने गरिन्छ । अझ बहुदलिय व्यवस्थामा त जनताको यो काम राम्रोसंग गर्ने अनि जनता प्रति उत्तरदायित्व निर्वाहनको प्रतिस्पर्धा हुन्छ भन्ने मान्यता राखिन्छ । तर यो मान्यता केवल विभिन्न विचारधारा स्विकार गर्ने पद्धतिको निमित्त मात्र हो । केहि समयदेखि छलफलमा आउने गरेको बहुलवाद र बहुदलको आधारभुत भिन्नता पनि यसैमा रहेको छ ।
जव आस्था वा सिद्धान्त भन्दा दलहरुमा सर्वमान्य नेता , शिर्ष नेता आदि नामले व्यक्तिपुजा शुरु हुन थाल्छ तव बहुलवादको अन्त्य र केवल बहुदलको मात्र बर्चश्व हुन थाल्छ । दलको आधारभूत सिद्धान्त गौण हुन थाल्छ । समयको माँगको बहानामा दलहरु जोडिन वा तोडिन लाग्दछन् । अनि यो कुरा गर्ने नेतालाई यो सैद्धान्तिक विचलन हो कि हैन भन्ने प्रश्न हुँदैन त्यहाँ नै बहुलवादको मृत्यु हुन्छ र तानाशाहको विजारोपण हुन्छ । उदाहरणको निमित्त नाजीको सर्वमान्य नेता हिटलर, फासिष्टको पुज्य नेता मुसोलिनी कै नाम पर्याप्त हुन्छ ।
‘क्याडरवेस’ दल एक पटक सदस्थता लिए पछि सजिलै छोड्न नमिल्ने किसिमको दल हो । ‘नोट अफ डिसेन्ट’ भनिने गरेको राय बझाउने पद्धति यस्तै दलहरुको हो जहाँ कुनै निर्णय सर्वसम्मत मात्र हुन्छ, चित्त नबुझे राय बझाउने सुविधा दिईएको हुन्छ । जो कि विद्रोह जन्माएर दल विभाजनमा कि आत्मसमर्पणमा समाप्त हुने गर्दछ । कुनै पनि हालतमा दल भित्र वैचारिक विविधता कायम रहन सक्दैन ।
जति वेलासम्म रहन्छ गुटवन्दी रहने गर्दछ । यस्ता गुटहरुको संघर्ष ‘प्रेम र युद्धमा सबै उचित छ ’ शैलिको हुने गर्दछ । विना मनभेदको मतभेद यहाँ संभव नै हुन सक्दैन । यस्ता मनभेदको उपचार रक्तरंजित भएका उदाहरण पनि इतिहासमा छरपष्ट छन् ।
‘मासवेस’ भनेर कुनै वर्ग समुहको प्रतिनिधित्व गर्ने दलमा यस्तो सर्वसम्मत सम्भव छैन, न कुनै नेताको व्यक्तिपुजा सम्भव छ । त्यसैले ‘मासवेस’ दलहरुको नेतृत्व यस्तै ‘क्याडरवेस’को आकर्षणमा जादैछ । त्यसैले धेरै दलहरुमा बैठक कुनै पर्व जस्तै हुन थालेको छ , त्यो पनि ‘जुठो’, ‘सुतक’ आदिले थुनिने किसिमको पर्व । 
जव सम्पुर्ण जनतलाई कुनै न कुनै दलमा आवद्ध हुनै पर्ने वातावरण पैदा हुन्छ त्यसवेला जति नै ठूलो स्वरले फलाके पनि जनताको अधिकार कुन्ठित नै रहन्छ । दलहरु जनताको अधिकार उपयोग गर्ने हतियार नरहेर जनताको अधिकारको ठेकादार बन्न पुग्छन् । आफ्नो सर्वोच्चता र सार्वभौम अधिकार दलहरुले प्रयोग गरेको टुलुटुलु हेर्न बाहेक अर्को विकल्प रहदैन । केवल मतदान मात्र जनताको प्रजातान्त्रिक अधिकार हो भन्ने व्याख्या हुन थाल्छ ।
अनि विस्तारै पोलपोट, ईदिअमिन, चाउचेस्कु अवतरित हुन थाल्दछन । वर्तमानमा नेपाल यहि अवस्था भोग्दैछ । खाका स्पष्ट छैन, रुप पनि स्पष्ट छैन तर पोलपोट, ईदिअमिन हुनसक्ने कच्चा पदार्थहरु प्रचुर मात्रामा देखिदैछन । जनताको कोखबाट जन्मेका यस्ता तानाशाहको मलजल  हमेसा इतिहासलाई गालि गर्नु र त्यसलाई नकार्नु हुन्छ । नेपाली मनले न कुनै ‘क्याडरवेस’ दल खोजेको छ, न ‘मासवेस’ नै । यस्ता दलहरुको कमीकमजोरी औल्याउने वित्तिकै आफुलाई गद्धार भनिने छ भन्ने थाहा छ । ‘तँ फलानो समुदायको भएर फलानोको विरोध गर्ने, तँ गद्धार होस्’ भन्ने कुरा नेपाली समाजमा देखिन थालेका छन ।
यो कुरा कुनै वर्ग विषेशमा, कुनै समुदाय विषेशमा वा कुनै जाति विषेशमा मात्र सिमित छैन । सबैमा कुनै न कुनै यस्ता स्वघोषित मालिक पैदा भएका छन जो आफ्नो कुरा नमान्नेलाई मध्ययुगिन बर्बर प्रथाले जस्तै जातीच्यूत, वर्गच्यूत गर्न पछि पर्दैनन । हुक्कापानी बन्द गर्ने यस्तो प्रचलनलाई विश्वले कुप्रथा मानिसकेको अवस्थामा पनि यसैको डर देखाएर आफ्नो वर्चश्व सावित गर्ने यस्ता ‘क्याडरवेस’, ‘मासवेस’ समुहहरु अव नेपालीका हुन सक्दैनन् ।
नेपालीलाई चाहिएको छ आस्था आधारित, सिद्धान्त आधारित राजनैतिक समुह । समुहले आफ्नो आस्था सिद्धान्त कतिमात्रामा बोकेको छ त्यो निर्णय त्यो दलले हैन कि जनताले गरेर छान्ने हो । नेपालीको दुर्भाग्य कि अहिलेसम्म यस्तो कुनै दल अस्तित्वमा आउन सकेको छैन । कुनैले कसैले आफु यस्तो हुँ भन्ने देखाउन खोजे पनि अलिकति मौका पाउने वित्तिकै उ पनि आफ्नो मतदाताहरु माथि, आफ्ना सदस्यहरु माथि स्वामित्व जनाउन नै खोज्दछ ।
यसरी बारंवार विश्वास गुमाउन पुगेका दलहरुलाई जनता आफ्नो अधिकारको निमित्त हैन त्यो दलले पुर्‍याउन सक्ने आफ्नो व्यक्तिगत फाईदा हेरेर मत दिन वा समर्थन गर्न  वाध्य छन् । जनता संघर्ष गर्न तैयार छ, तर त्यो संघर्षले स्थापना हुने विकल्पले भरोसा दिन सकेको छैन । नेपालका हरेक आन्दोलनमा साथ दिएर जनताले धेरै अभ्यास गरिसक्यो, स्थायित्वले पैदा हुनसक्ने आफ्नो समृद्धि र सुखको बलिदान दिइसक्यो । विगतका आधा शताव्दि भरि अनगिन्ती आन्दोलन गरिसक्यो तर कुनैको पनि सुरक्षित अवतरण हुन सकेन । के यस्तोमा जनताको अधिकारको उपभोक्ता हैन जनतालाई अधिकार उपभोग गराउन तैयार आस्था आधारित दलहरु निक्लेलान् ? दल आस्था सिद्धान्तको निमित्त हो व्यक्तिपुजाको निमित्त हैन भन्ने कुरा कसैको मगजमा पस्ला ? प्रश्न अनुत्तरित छ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper