banner
banner

लोकतन्त्रमा मामाश्री र भाञ्जाश्रीको प्रसङ्ग

राजन कार्की
    परिवर्तन बुलेट ट्ेरनको गतिमा भयो, परिवर्तनलाई जीवनचरित्र बनाउने गति भने सिमसिम राजाको पालाको जनकपुर–जयनगर रेलसेवाजस्तो छ । एकपटक जयनगरबाट जनकपुरतिर जानुपर्ने रेलमा चालक बसेकै थिएनन्, रेल चल्यो । धन्न त्यतिबेला ठूलो दुर्घटना भएन । त्यस्तै चालढाल र गतिमतिमा चलेको छ, हाम्रो लोकतन्त्र । सरकार भए पनि चल्छ, नभए पनि चल्छ । सरकार आलोपालो भए पनि चल्छ । नेताहरुवीच सहमति हुन्छ, सहमति तोडिए पनि चल्छ, नतोडिए पनि चल्छ । बस्, २०६३ सालको परिवर्तनपछिका ११ वर्षमा ९ सरकार यसैगरी चलेको छ । प्रष्ट कुरो के हो भने सरकार नै नभए पनि नेपाल चलिरहन्छ ।
    त्यसो त सरकार हुनु र नहुनुको विभन्नता नै के छ र ?
    आखिर नेपाली नेता भनेका धुलाघाटका हाट बजार न रहेछ, विदेशी हटारुहरु नेपालका विशेषता र विशेषणहरु स्वार्थको तराजुमा जोखेर दिनदिनै खरिद गरिरहेका छन् । हामी बन्दै होइनौं, बिक्री हुँदै गइरहेका छौं । केही ठूला दल लाइन दिइरहेका छन् र हामी लाइन लागेर बेचिनमा लोकतान्त्रिक परिवर्तन देखिरहेका छौं । हामी कति डरलाग्दो भ्रममा श्वास फेरिरहेका छौं, त्यो बुझ्नेहरुले बुझेका छन्, हामी नेपालीले चप्पलेहरुको नवावी परिवर्तन कहिल्यै बुझेनौं । हुने र नहुनेहरुको खाडल किन चौंडा बन्दैछ, बुझ्ने चेष्टा गरेनौं, कहिल्यै चेतेनौं र जान्ने प्रयत्न नै गरेनौं । नेताका खोक्रा नारामा सुख र सपना सजाउने हामी नेपालीको सरलपन हाम्रा लागि सराप बन्दै गएको छ ।
    भन्नैपर्छ, लोकतन्त्र भिल्लका देशमा मणि भयो । नेताहरु विदेशी मर्सिनरी बनिदिएकाले लोकतन्त्र विदेशीको पाउमा लम्पसार बन्यो । राजनीतिक निष्ठा र नैतिकता, राष्ट्रको पद्धति र लोकतान्त्रिक सिद्धान्त अवैध र मूल्यहीन बन्न पुगेको छ । सार्वभौम मुलुकको नयाँतन्त्र अवैध सन्तानलाई कसरी वैध बनाउने भन्ने दाउपेचको गोटी पो भइरहेको छ ।
    संविधान संशोधन नगरी निर्वाचन हुन्न । प्रधानमन्त्री त्यसै भन्छन्, प्रधानमन्त्रीका सहयोगीको कुरो यही छ । सहयोगी दलभित्र यही आवाज गुञ्जिएको सुनिन्छ । नपत्याए पुष्पकमल दाहाल र शेरबहादुर देउवाको हप्तादिनका अभिव्यक्ति पर्गेलौं । दूधको दूध, पानीको पानी छर्लङ्ग भइहाल्छ ।
    लाग्छ, नयाँ नेपाल– प्रचण्ड मामाश्री र देउवा भान्जाश्री बनेर चलाएको आधुनिक हस्तिनापुर हो । अलिक अघि एमाले पनि तिनका मतियार नै बनेको थियो । चुनावी रन्कोले एमालेलाई पाण्डवपक्षमा उभ्याएको छ । यद्यपि एमाले पनि बाइसधारा नुहाएर पुण्यात्मा बनिसकेको तत्व होइन ।
    मान्छेका शरीरमा अझै जनयुद्ध र युद्धका बिभिषिका, गोलीको होली र आफन्त गुमाउनु परेको पीडा कम भइसकेको छैन । बुद्धभूमिका भूमिपुत्रपुत्रीहरुको छटपटी बेपत्ता र मेलमिलाप आयोगमा दर्ता भएका ६० हजार उजुरीको चाङमा साक्षी छन् । ती आयोग सुतेर बसेका छन्, तिनले पीडितहरु न्याय पाउने क्षण पर्खिरहेको भेउ पाउनै सकेका छैनन् । छानबिन हुन्न, अनुसन्धान गरिन्न र पीडितलाई थप पीडा दिइन्छ भने किन ती आयोग गठन गरियो ? विश्व अधिकारकर्मीहरु दण्डहीनता अन्त गर भनिरहेका छन्, सर्वोच्चले सर्वस्वसहित जन्मकैद गरेका व्यक्ति प्रधानमन्त्रीलाई भेटेर आममाफी गराउ भनेको समाचार आउँछ, तैपनि सुरक्षा निकायले बालकृष्ण ढुंगेललाई भेट्टाउँदैन । ओखलढुंगातिर तिनै बालकृष्ण सम्मानित भइरहेको खबर सरकारी संस्थाको प्रमुख समाचार बन्छ । यो दृष्टान्त भनेको दुर्योधन र सकुनीको पारा हो कि होइन ?
    राष्ट्र सत्यको खोजीमा छ, सत्य दिने र दिलाउने संविधान कागजमा सिमित छ । संविधान कागज भएपछि संसद भनेको लोकतन्त्र छ भन्ने हात्तीको देखाउने दाँतभन्दा बढी महत्व राख्छ र ? यस्तै हालत छ देशको । 
    लोकतन्त्र आयो, सूर्य उदायो भनेर झ्याली पिटियो । ११ वर्ष भयो, झ्याली थोत्रियो, सूर्य उदाएन । विश्वास निराश भइसकेको छ, अशान्तिको औंशी भोगिरहेका लोक नेताहरुले अव त केही गर्लान् कि भनेर अझै आश लगाइरहेका छन् । यो लोकविश्वासमा जीवन भर्न, लोकतन्त्रलाई जिवन्त राख्न कुनै लोकतन्त्रवादी नेतालाई चासो छैन । साइकल पन्चर भएजस्तै लोकतन्त्र पन्चर भइसक्यो, लोकतन्त्रको हौवाले अरु कति दिन कथित अग्रगमन धान्ला र ? यो त गरीव आमाले बाल बालिकालाई खान दिनेकुरा नपाएर ढुंगाको लोरो अगेनोमा हालेर पाकेपछि खाउलाउ है भनेजस्तो भएन र ?
    मधेसीलाई उफार्नु उफारेर नाकावन्दीको पीडा दिएको भारतले संविधान संशोधन नगरी निर्वाचनमा नजाउ भनेर फेरि उफार्न थालेको छ । त्यही भारतले भर्खरै सुझाव दियो– सबैलाई समेटेर निर्वाचनमा जानु उपयुक्त हुन्छ । सबैलाई समेटेर भनेको संविधान संशोधन गरेर मधेसी मोर्चालाई मनाउ भनेको होइन र ? चुनाव हुनैपर्छ भन्ने एमालेविरुद्ध तिनै मधेसी मोर्चाको तगारो तेस्र्याउँदा सप्तरीमा ५ जनाको मारियो । नेपालगञ्ज र बर्दियामा हवाई फायर गराउने स्थिति सिर्जना गरियो र पेट्रोल बम समेत पड्काइयो । एउटा नेपालीलाई मधेस पस्न नदिने, अर्को मधेसीलाई पहाड छिर्न दिनुहुन्न भन्ने अतिवादको जन्म सत्ताधारी माओवादी र कांग्रेसले जन्मायो । त्यसैको प्रत्युत्तरमा भारतले सुदँरपश्चिममा सीमा सुरक्षा बललाई नेपाल पठाएर नेपालीको घर लुट्यो, इज्जत लुट्यो, सीमा लुट्यो र कञ्चनपुरका गोविन्द गौतमको जीवन लुट्यो । दिल्ली भनेपछि लुग लुग खुट्टा कमाउने नक्कली स्वाधीनतावादी, देशभक्तद्वय मामाश्री र दुर्योधनले चुइक्क बोल्न सकेनन् । के गरेको यो भारत महाराज, यो त अति भयो भन्ने हिम्मत गरेनन् । १९६० मा उत्तरी सीमामा चीनका सुरक्षाकर्मीले एक नेपालीको हत्या गर्दा चीनले माफी मागेको, क्षतिपूर्ति दिएको र आइन्दा यस्तो घटना घट्ने छैन भनेको नजीर सुनाउन समेत सकेनन् । भन्छन्, कूटनीतिक माध्यमबाट कुरा भइरहेको छ । सीमा अतिक्रमण भइसक्यो, नेपालीको ज्यान गइसक्यो, थप दबाब दिइरहेकै छ, यी भारतसँग मामाश्री र भान्जाश्रीको कुराको टुङ्गो कहिले लाग्छ, हावादारी गफ बनेको सम्वन्धको सुमधुरताबाट नेपाल आश्वस्त हुनसक्ला ?
    भनिन्छ, भारतले नयाँ राजदूतको चयन गरेको छ र नयाँ राजदँत मोदीको नयाँ छिमेक नीतिका साथ आउँदैछन् । मोदी डक्ट्रिन कम खतरनाक देखिदैन । कतै त्यो नीति रअको पर्वताञ्चल बनाउने कुरासँग मेल नखाओस् ? भारतले बुझेको छ, नेपालका नेताहरुलाई दिल्लीको बासमती चामलको बासी भात ख्वाउनुपर्छ, उनीहरु जे गर्न पनि तैयार हुन्छन् । भात ख्वाएकै भरमा सिक्किम मिलाएको भारतले नेपाललाई अघोषित प्रान्त बनाउनैका लागि संविधान संशोधनको ब्रम्हास्त्र हानेको छ । यो ब्रम्हास्त्रले अंगीकृतलाई मुख्यमन्त्रीसम्म बन्ने फलामे ढोका खोल्छ भनिदैछ । ढोका खुल्न गाह्रो, खुलेपछि नेपाल पनि फिजी हुन के बेर ? भारत यही चाहन्छ । नेपाल र सिक्किम कति नै टाढा छ र ?
    जनयुद्धमा १७ सय मार्ने माओवादी सत्तामा छन् । माओवादीको टाउकाको मोल तोक्ने देउवा पनि सत्तामै छन् । हिजोसम्म सत्तामा र आज प्रतिपक्षीमा रहेको एमालेले पनि ०२८ सालमा १३ जनालाई खसी काटेजसरी काटेकै हो । मान्छे काटेर जंगबहादुरले १०४ वर्ष शासन गरे, यिनले कति वर्ष शासन गर्ने हुन् ? प्रजातन्त्र आयो, हो यिनैलाई आयो । जति पाप गरे पनि पञ्चखत माफी छ यिनलाई, त्यसैले त यिनीहरु दण्डित होइन, पुरस्कृत भइरहेका छन् । नेपाल आधुनिक हस्तिनापुरका रुपमा रक्तस्नान गरिरहेको छ । जनताको ज्यान लिएर खली खाइरहेको छ । कहिले कसको, कहिले कसको क्रान्तिकाल थियो, अहिले नयाँ नेपालको निर्माण काल भनिएको छ । क्रान्तिकाल कालै बनेर आयो, निर्दोषहरु कोपिला निमोठिएझैं निमोठिए । निर्माण काल, सिर्जना बनेर आएन । न फूल फुल्यो, न उज्यालो नै देखियो । अन्धकार युगबाट नेपालले मुक्ति पाएन । नाममात्रको लोकतन्त्रमा अँध्यारोतन्त्र ।
    आखिर जनयुद्ध र जनआन्दोलनपछि परिवर्तन पुरुषहरु निरन्तर सत्तारथ हाँकिरहेका छन् । यिनको रथ अनियमितता, भ्रष्टाचार र निरंकूशताको दलदलमा भासिदै गएको छ । अग्रगमन, नयाँ नेपाल भन्ने थेगो यस्तो पेण्डाराको बाकस रहेछ, जति जति खुल्दै गएका छन्, त्यति त्यति राष्ट्र र जनता निसास्सिदै छन्, सकस बढ्दै गएको छ । पीडामाथि पीडा थपिएका छन् । अव त अस्तित्व नै संकटमा परिसक्यो ।
    परिवर्तनका नायकहरु इजिप्टका नासिर हुन् भन्ने जुन गौरव थियो, यति चाँडै देशका लागि धराप र जनताका लागि सराप बन्न पुगे । राजतन्त्रलाई तानाशाही भनेर भण्डाफोर गरियो, त्योभन्दा चर्को र भययुक्त तानाशाहको छविछायाँ लोकनेताहरुको मुहारमा देखिन्छ । बलबाहुको देश कसरी राजनीतिक बाहुबलीको हातमा पुग्यो नि ? सगरमाथाको देश, शास्तीमा बदलियो, बुद्धको देश मंगलसेनको चंगुलमा पर्‍यो । माओ र माक्र्स, चारु मजुमदार, जयप्रकाश नारायण र मदन मण्डारीका आत्मा हाम्रा नेता नामका मामाश्री र भान्जाश्रीका पचाउनै नसकिने पाखण्ड र षडयन्त्र देखेर कति अशान्त भएका होलान् ?
    एक नेपाललाई मधेस र पहाड भनेर छुट्याउँदैछन् । पृथ्वीनारायण शाहले बाइसे र चौविसे जोडेर सिङ्गो नेपाल बनाए, यिनले पृथ्वीनारायण शाहको सालिक भत्काएर नेवार राजा, तामाङ् राजा, मगर राजा, लिम्बु राजा, खम्बु राजा, थारु राजा, मधिसे राजा बनाउने तानाबाना बुनेका छन् । लोकतन्त्रका मक्का मदिना लोक हुनुपर्ने हो, लोकतन्त्रलाई लोकको मानसिकता खलबल्याएर बिभाजन गर्ने र देश टुक्य्राउने हतियार पो बनाइदिए ।
    आफ्नो पहिचान मेटाउनेलाई लेण्डुप भनिन्छ, हाम्रा नेताहरु आफू उभिएको माटोलाई विदेशीकरण गरिरहेका छन् । आफ्नो पहिचान मेटाउन होडबाजी गरिरहेका छन् । यसकारण नेपाल नेताहरुका लागि ‘दुर्योधन र उनका मामाश्री’ को हस्तिनापुर बन्न पुगेको छ । गलत टिप्पणी भएको लागे क्षमाप्रार्थी छु ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper