banner
banner

कसरी आउँछ र गोठबाट लोकतन्त्रको उज्यालो

SN Kakri -     अन्य कुरा जे जसो भए पनि आफुले चुनेका प्रतिनिधिहरुले संविधान बनाउँदा भने आफ्नो विवेकलाई दलको हुकुम भन्दा ठुलो मान्लान भन्ने झिनो आशा थियो । जनताले बनाएको भनिएको सम्विधानमा जनताले प्रत्यक्ष भाग लिन नपाए पनि केबल त्यँहा पुगेका दलका प्रमुखहरुको विचार मात्रको प्रतिनिधित्व हुँदैन पुरै छ सय एक नभए पनि एक वा डेढ सय विचार त पक्कै होला भन्ने आशा गर्ने ठाउँ थियो । तर समय अभावको बहानामा संविधान सभाका सभासदहरुको त्यो स्वतन्त्रताको अपहरण भयो । समय किन अभाव भयो, कसैले सोधेनन् र फास्ट ट्य्राकबाट संविधान जारी गरियो । हतारको काम लतरपतर भन्ने उखान चरितार्थ हुनगयो । सबै घटनाक्रम जनताको सामुन्ने नै 
छ । २०६७ साल जेष्ट १४ गते भित्रै संविधान निर्माण गर्ने नाममा संविधान सभामा पनि ह्विप लाग्ने नयाँ ब्यबस्था गरे । तर त्यति हुँदा पनि संविधानसभाको म्याद लम्ब्याउनु मात्र हैन पुन: निर्वाचन पनि गर्नु पर्‍यो । पुन निर्वाचनले जारी गरेको संविधान कागज बनेको छ ।
    २००४ सालदेखि २०४७ सालसम्मका सम्विधान जनताले अस्विकार गर्नको कारण सम्विधान निर्माणमा जनताको सहभागिता नभएको हो भनरे हजारैंको रगतको होली खेलेका नेताहरुले मनोमानी गरेरै छोडे । निरंकुश भनिएको समयमा पनि संविधानमा हुने सबै प्रकारको फेर बदलमा जनताको राय बुझिन्थ्या,े तर जनताको रगत  सडकमा बगेको पनि वेवास्था गरेर संविधान जारी गरे । यो संम्विधान अस्विकार भएको कुराको प्रमाण नै हो कि तुरन्तै संशोधन गर्नुपर्‍यो र अहिले थप संशोधनको कुराले मुलुक नै रन्केको छ । संविधान संशोधनका लागि जनताको रगत बग्न थालेको छ । तर जनताको कुरा त परै जाओस्, आफ्नै कार्यकर्ताको कुरा समेत सुन्न नेता तैयार छैनन् । 
    विधि छोट्याउने, जनतालाई सोध्दा समय लाग्छ त्यसैले आफैबीच सहमती गरेर आफ्ना सदस्यहरुलाई ह्विप लगाएर संविधान थोपरियो । पेशाले कानुन ब्यबसायी र पदले संविधानसभाका अध्यक्ष भएका सुभाष नेम्वाङ्गको यो जिद्दीको परिणाम वर्तमानमा मुलुकले भोग्दैछ । यदि विवेक भए उनलाई आफ्नो यो कर्मले पक्कै पोल्नेछ । यो संविधान जनताले आफ्नै निमित्त बनाउन लागेको संविधान हो भन्ने कुराको हेक्का सुभाष नेमाङ्गलाई भएन । संविधानसभामा पठाएका सभासदहरु त केवल जनताका कारिन्दा मात्र हुन अनि दलहरु संविधान निर्माण गर्ने ठेकेदार मात्र हुन । संविधानको नक्सा जनताको हो र हुनु पर्छ । यो कुरा नाघेको सजाय त भोग्नु नै पर्नेछ, जनता जागेको दिन । 
    यो मुलुक केही टाठाबाठाहरुको बिर्ता होईन भन्ने कुरा बिर्सेर आफ्ना स्वार्थको कुरा जनतालाई लादेकाले ४७ साल पछिदेखि नै दलहरुले आफ्नो साख गुमाउँदै आएका हुन् । त्यसमा साख थप्न विभिन्न पेशाकर्मी तथा समूहहरुले आफ्नो साख बन्दकी राखेका थिए । अब त्यो बन्दकी पच भएको छ, त्यतिखेर उफ्रिउफ्री गरेको भाषणले आज उनीहरु  समाजमा मुख देखाउन नसक्ने अवस्थामा पुगेका छन् । राजालाई निरंकुश भनेर उफ्रनेहरु वास्तवमा नेताहरुलाई निरंकुश हुनबाट रोक्ने संस्था हटाउन कसैले प्रायोजन गरेका गोटी रहेछन् । जनताले उभ्याउने कठघरामा केवल राजनैतिक दल र त्यसका नेताहरुलाई मात्र छैनन्, यो मुलुकै विघठनमा जानसक्ने गरेर धरापमा पार्नेहरुको पनि हुर्मत लिनेछन् । जनता उठ्ने प्रतिक्षा रहेको छ, जनता निदाएको छैन, हेक्का रहोस् । नेपालीजनता अव आफ्नो मुलुकको रक्षार्थ उठिसकेको छ । लोकतन्त्रको नाममा थोपरिएको नेताहरुको मनपरी प्रवर्धन गर्ने निरंकुश नेतातन्त्र नै मुलुकको लामो अस्थिरताको कारण हो । यो कुरा आज बच्चाबच्चाले पनि बुझ्दैछ । पहिले निकाल्नुपर्ने नतिजा दिएर बनाईने आयोगहरु नेताहरुको आफ्नो मनपरीतन्त्र वैधानिक पार्ने औजारमात्र हो भन्ने कुरा बुझ्न समय नलाग्ला । त्यस्तै संसद नामको नाट्यशालामा भएकाहरु नेताहरुले लेखेको संवाद बोल्ने र निर्देशन गरिएको अभिनय गर्ने पात्र मात्र हुन । त्यहाँ जानु भनेको आफ्नो सुविधाको मोलमा आत्मा नेतालाई दास बनाउन सुम्पनु मात्र हो । 
    त्यसैले जब उनीहरु स्वतन्त्र भएर बोल्छन त्यसबेला भुईचालो पिडितको पाल आफ्नो गाडी छोप्न लैजान पाउनु पर्छ भन्छन् । करिव डेढलाख तलवभत्ताले खान पुग्दैन भन्ने भनेर रोड्याई गर्दछन् । नेताको इशारामा ताली पिट्नु, गाली गर्नु, हुटिङ्ग गर्नु, वाहवाह गर्नु मात्र आफ्नो काम हो भन्ने जानेका छन् । त्यसैले संसदमा हाजिर गरेर टाप (हाटा) ठोक्नु कुनै अनौठो कुरा हैन । सभागार त शयनकक्ष नै भई गयो, आखिर कामै पो के गर्नु छ र ? आफ्ना नेताहरु कुन निर्णयमा पुग्छन् त्यो भन्दा फरक पर्ला कि भनेर हाटा मतदाता वा निन्द्राको भर गर्नु नै श्रेयश्कर छ । आखिर नेपालीले लोकतन्त्रको नाममा के भित्र्याए त, निरंकुश नेतातन्त्र ।
    संसदलाई राष्ट्रिय जनमोर्चाका अध्इष चित्रबहादुर केसीले भनेझें भेडी गोठभन्दा पृथक रुपमा देख्न पाइएन, कसरी आउँछ र गोठबाट उज्यालो ?

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper