banner
banner

माता पिता मेरा देवता

रमा घिमिरे - - - - 
 हाम्रो समाज जति विकसित र बैज्ञानिक हुँदै गयो त्यति त्यति हामी  स्वार्थि,अभिमानि र निहित आत्मकेंद्रित  हुँदै जाँदै छौ, हामी, हाम्रो र समूह देखी अग्रसारित मानवीय हाम्रो पुरातन समाज अहिले म र मेरोमा पुगेर अति संकीर्णता को प्रतीक भएको छ । म आफू र आफ्नो विचार भन्दा पर परिवार नातागोता र समाज पनि हुदछ । मानिस सामाजिक प्राणि हो  उ चाहेर नचाहेर वा प्रत्यक्ष अप्रत्यक्ष समाज सँगै जोडिएको छ । यदि मानिसमा  चेतना थिएन भने उ जीव जनावर र पशु तुल्य नै हुने थियो तर अहिले अधिकांस मनुष्य विकृत चेतनाका कारण मानवीय गुणबाट पतन भएका छ्न । मनुष्यलाई आफ्नो लागि मात्र बाँच्न सृष्टिको निर्माण भएको  होइन प्रत्येक कार्य मनुष्यको एक अर्काेसँग जोडिएको हुन्छ, यो ब्रह्माण्ड प्रकृति र पुरूष हेतु सम्पूर्णताको परिपुरक हो । आत्मीयता सेवा प्रेम सदभावना भन्दा माथि कुनै गुण हुदैन जसले व्यक्तिलाई सुख  र आनन्द प्रदान गर्दछ । अतः धरतीमा मातापिता साक्षात् प्रथम देवता हुन् । योग ध्यान ज्ञान धारणा तीर्थ व्रत पूजा प्रार्थना प्रथम माता पिताको र द्वीतिय अन्य देवताहरूको हुदछ, यो शास्त्र सम्मत विषय र आचरण हो । ब्रम्ह ज्ञान र ब्रम्ह सत्ता भन्दा पनि माथी मातापिताको आशीर्वाद हुदछ किन की स्वयं भगवान पनि कुल परम्परा र माता को गर्भ चयन गरेर जन्म लिने गर्नु हुन्छ । हाम्रा लागि माया ममता मैत्री करूणा दया त्याग आदी जति मातापिताले गरेका हुन्छन् संसारमा अरू कसैले गर्न सक्दैन । तसर्थ माता पितासँग अरू कसैको तुलना गर्न मिल्दैन । ब्यापार व्यवसाय काम उपक्रम मात्र उदरपोषणका सामान्य साधन हुन यसलाई जीवन मुक्तिको मार्ग भन्न सकिन्न, मेरो अभिप्राय यो हो । जस्ले आफ्ना देवतुल्य बृद्ध मातापिताको वेवास्ता गर्दछन् त्यस्त्ता मानव यस वसुधामा दुई खुट्टे पशु सरह हुन् । मानवको कर्म र कर्तव्य परोपकार र परपीड़ा निवारण हेतु कारूण्य हुनुपर्दछ । श्रेष्ठ र ज्येष्ठ जनहरूको सेवा सम्मान र सत्कार सन्ततिहरूको परम धर्म र अधिकार हो यस पुनीत कार्य देखी पलायन हुनुको अर्थ कायरता हो । सहनशीलता विनम्रता समर्पण र विश्वकल्याणको पथमा ‘बहुजन हिताय’ संलग्न रहनु मानवीय गुण र गहना हुन् । कर्तव्यबाट विमुख रहेर अधिकारको मात्र प्रयोग गर्ने मान्छे  क्षणभङ्गुर प्रसन्नता को रोग ले ग्रसित अछुत रोगी हो । रूप यौवन धन सम्पत्ति यी सबै अल्पकालीन आनन्द हुन् किन्तु वास्तविक परमानंद अरूको उपकार र सेवामा स्वयं लाई समर्पित गर्दा अविरल सुखानुभूति प्राप्त हुने पवित्र मार्ग हो । माता पिता गुरूजन लगायत वालक, बृद्ध, रोगी, असहाय, स्त्री र अपाङ्गहरूको सेवा स्वयंको सौभाग्य र भगवानको कृपा समझिएर निरन्तर गर्नु पर्दछ । यो सृष्टिको क्रम हो र मानवताको पवित्र उद्गम धारा पनि ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper