banner
banner

महिलालाई मात्र किन सधैंको चटारो ?

देवी काफ्ले - - 
जतिपनि चाडपर्व आउँछन् हामीमा स्वत् स्फुर्त खुशियाली, हर्ष र उमंग छाउंछ । पारिवारिक, ईष्टमित्रहरुको आगमन हुन्छ ।घरमा रमाइलो वातावरण हुन्छ । हाम्रो संस्कृति अनुसार पनि पाहुना, आफन्त,ईष्टमित्रहरुको आगमनलाई शुभ मानिन्छ । यसरी जमघट हुनु, पारिवारिक भेटघाट हुनुले सम्बन्धमा नयाँपन पनि आउँछ । तिजमा चेलीबेटी बोलाउनु, आउनु दशैमा ठुलाबडा अर्थात परिवारका र समाजकै मान्यजनहरुकहाँ जुट्ने हाम्रो रित नै छ । दशैं हाम्रो चाडपर्वमा सबैभन्दा ठूलो चाड मानिन्छ । रोजगारीका कारण देशबिदेशमा रहेका सबैलाई दशैंमा घर जाने, पिङ खेल्ने, घरका मान्यजनहरुका हातबाट टिका–जमरा लगाई आशिर्वाद थाप्ने तिब्र ईच्छा हुन्छ र पाएसम्म दशैंमा नै घर आउने गर्छन् ।
दशैं वर्षभरि छुट्टिएर यत्रतत्र पुगेका आफन्तजन एकै ठाउँमा भेला हुन्छन् र न्यास्रो मेट्छन्, दुःखसुखका कुरा गर्छन्, जीवनका अनुपम खुशीको क्षण पनि हो दशैं । हिन्दुसंस्कृतिले यसरी परिवारलाई समेटेर, सँगेलेर राखेको देखिन्छ ।
नवदुर्गा पूजा, दैनिक नयाँ पकवान, पिङ, तास, बजार किनमेल आदि धुमधाम हुन्छ । नयाँ कपडा किनमेल पनि हुन्छ । बिहान देखि घर सरसफाईको काम दैनिक रुपमा हुन्छ । दशैं भनेकै मीठो मीठो खाने भन्ने प्रचलन छ नेपालमा  अनि त्यो मीठो परिकार के हुन्छ थाहा छ ? मासु, मासुका परिकार र सेल रोटी अनि नयाँ धानका चिउरालाई विशेष परिकारमा लिईन्छ । नयाँ लुगा लगाउने चलन पनि पुरानै हो ।
चाडको मौलिकताका बारे त बयान भयो तर यी चाडहरुमा रौनकता ल्याउने र सबै ब्यवस्थापन गर्ने को हुन्छ ?? जवाफ– घरकी आमा, छोरी अनि बुहारी अर्थात् महिला । जब जब चाडबाड आउँछ ब्यस्तता महिलामै हुन्छ । भन्न त घरका लोग्नेमान्छेले कमाएर ल्याइदिएको पकाएर खुवाउन के दुख ? भनेर हाई काढ्नेहरुको पनि कमी छैन । तर पनि बिहान देखि रातीसम्म खटने महिला, तिनीहरुलाई पनि चाड आएको महसुस त हुन्छ तर महिलाहरु रातदिन खटिरहेकै हुन्छन् । चाडबाडमा त महिलाहरुलाई झन बढी खट्नुपर्छ ।
चाड मान्न बसेका दाजुभाई वा पाहुनाहरु तासमा मस्त हुन्छन् । टाइमटाइममा चिया, नास्ता टक्य्राउनै प¥यो । एकछिन ढिला भयो कि यी आईमाइको काम छैन अलिकति चिया खान दिन पनि नभ्याउने भनेर बास्न थालिहाल्ने । छोराछोरीका आवश्यकता हुन्छन् नयाँ परिकार ! नयाँ नयाँ लुगाफाटो । त्यो नभए ठुस्स ठुस्कीहाल्छन् । पूजा गर्न नभ्याए देउता रिसाईहाल्छन् कि भन्ने डर । सासुससुरा भए उहाँहरुको सेवा टहल पनि पूरा गर्नै पर्यो नत्र कति सुस्ती हो भनेर चित्त दुखाइहाल्छन् । शरीर एउटा, हात दुईवटा मात्रै दिएर सृष्टिकर्ताले अलिक अन्याय गरेकै हुन् महिला बर्गलाई ।।
मलाई लाग्छ महिलाहरुको चाड त्यतिबेला मात्रै रमाइलो रहेछ जतिबेलासम्म ऊ अबिवाहित थिई । न कसैको सेवा, न त कोहि रिसाउलान् भन्ने पिर, डर । बा आमा यसो रिसाइहाले पनि फकाउन सजिलो नि । काम बाँडफाँड गरियो भने सहज हुन्छ भनेर प्रस्ताव राख्न पाइने पनि माइतीमै । घरमा त कामको बाँडफँंड गराउने कसको हिम्मत के ?
जे होस् चाडपर्वमा भएका सबै परिवारले एकसाथ रमाइलो गरि मनाउनका लागि कामको बाँडफाँड गर्नु पर्छ । सबैले सानातिना काम पनि मिलेर गरियो भने एक्लो बोझ महिलालाई मात्रै पर्दैन । सबैसँग बसेर खान, रमाइलो गर्न त ती महिलालाई पनि मन लाग्छ नि । हुन त बिजया दशमीमा महिलाशक्ति कै पूजा हुन्छ । दुर्गा भवानीले महिसासुर, शुम्भनिशुम्भ जस्ता राक्षसहरुको बध गरेको खुशियाली मनाउन उता दुर्गाका नौ रुपलाई पूजा गरिन्छ यता चाहिँ दुईहात युक्त महिलालाई दल्नु दलिन्छ ।
चाडपर्व महिलाहरुका लागि बोझिलो किन हुन्छ?तिज, दशैंतिहार जुनसुकै चाड होस् रमाइलो गर्न सहज त लोग्नेमान्छे र बालबच्चालाई मात्रै  हो । यी ब्यवहारिक कुराहरुलाई अलिकति नजिकबाट नियालेर हेरिकन चाड सबैको हुने गरि मान्न त अलिकति बानीबेहोरामा सुधार ल्याए पुग्थ्यो । अझ कामकाजी, श्रमिक, जागिरे महिलाहरुलाई त झन कठिन परिस्थिति छ । यता घरको सबै ब्यावस्थापन पनि गर्नुपर्यो उता जागिरमा पनि जानुपर्यो । ती ब्यस्त महिलाहरुलाई चाड मनाउँदा बोझिलो नहुने गरि कामका जिम्मा परिवारका सदस्यहरु लिइदिएमा केही सहज त हुनेनै थियो ।
हाम्रा चाडपर्व हाम्रो गौरव हुन्, परिचय हुन् । यिनलाई जोगाईराख्न र जस्ताको तस्तै नवपुस्तालाई हस्तान्तरण गर्न यी चाड प्रति बितृष्णा नजागोस् भन्नका लागि पनि परिवारमा समान रुपले सहयोगी भावना जागृत हुनुपर्दछ ।
काम भन्ने कुरा यसले गर्न हुने उसले नहुने भन्ने छैन । एउटाले लादिएर काम गरेको छ अर्कोले खुट्टा हल्लाउदै आदेश दिने मात्रै प्रबृत्ति भयो भने चाड नै नआईदेओस् भनेर प्रार्थना गर्नुपर्ने अवस्था आउँछ त्यसैले पनि परिवारका सदस्यहरु मिलेर चाडबाडमा रमाइलो गरि मनाउने वातावरण सृजना गर्नु पर्छ । समानता  परिवारबाटै सिर्जना गर्नुपर्छ ।
यसपाली नवदुर्गाले सबैमा यो सद्बुद्धि दिउन् । विजयादशमीको हार्दिक शुभकामना सबैमा ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper