banner
banner

स्थिति झन अराजक

शाश्वत शर्मा - - - 
सत्ता परिवर्तन भएपछि के के न हुन्छ भनेर संसद छाडेर अदालत पुगेका पार्टीहरूले सत्ता परिवर्तन त गर्न सफल भए, आफैलाई परिवर्तन गर्न सकेनन् । सत्तास्वार्थले नेताहरू कतिसम्म अन्धा हुनसक्छन् भन्ने दृष्टान्त यो साँढे दुई महिनाले देखाएको छ, यस्तो नेतृत्वले देशलाई भीरबाटै खसाल्ने भयो ।
राजनीति फेरि दुश्चक्रमा फस्यो । यो दुश्चक्र देख्नेहरू भन्छन्– देउवाले फेरि राजा गुहार्छन्, प्रचण्ड हतियार उठाएर आतङ्कमा लाग्न सक्छन् । उनले गाउँ गाउँमा एक, एकले दुई र दुईले चार सदस्य बढाउन दिएको आदेश यसेका लागि हो । विश्लेषकहरू भन्छन्– आगामी दिनमा अराजकता व्यापक हुनेछ ।
ओलीले काविल भनेर बनाएका राजदूतहरू फिर्ता बोलाइयो । अब नयाँ राजदूत बन्नेहरू पैसाको थैली बोकी बोकी दौडिन थालिसकेका छन् । हुने तिनै नेताका आउरेबाउरे हुन् । कतिलाई मन्त्री दिनु, मन्त्रीको भाग नपाएपछि विद्रोह हुनेभएपछि मन्त्री हुन नपाएकालाई राजदूत बनाउने हो । कतिलाई संवैधानिक पदहरूमा नियुक्ती दिने हो । अराजकताको आगो बाल्न थाल्यो ५ दलको मोर्चाले ।
भन्नेहरू त भन्छन्– राजतन्त्र बिना यो देशमा शान्ति र स्थिरता आउँदैन । राजतन्त्र ल्याउने र आउने कसरी ? जनता निस्कदैनन्, पार्टीहरू लुट्नमै व्यस्त छन् । देशको चिन्ता र चासो कुनै नेताले गर्न जानेकै छैनन् । अराजकता निम्त्याउन सबै लागिपरेका छन् । सबै सख्खरमा झिंगा भन्किएझैं शक्तिमा झुम्मिएका छन् ।
यो सरकार स्थायी होइन । यो सरकार अर्ली इलेक्शन, नभए १८ महिनाको पाहुना हो । चुनाव त हुन्छ हुन्छ । चुनावपछिको सरकारले गर्ने पनि उही हो । यिनले नियुक्त गरेका राजदूत अथवा अन्य पदाधिकारीलाई घोक्रेठ्याक लगाउने हो, आफ्ना सहयोगी साथीहरूलाई नियुक्त गर्ने हो । पालोको पैंचो हुने हो ।
यस्तो अराजक शासन भनेको आगो हो । घर बालेर आगो ताप्नेहरू न्यानो अनुभव त गरिरहेका छन्, तर कतिञ्जेल यस्तो अराजकता रहन्छ ? यसैकारण त नेपालको इज्जत घट्दै गइरहेको छ । गर्व गर्न लायक नेता कोही छैनन् । विदेशीहरूले हेप्ने मात्रा बढाएका छन् । नेपाली नेतृत्व भनेको स्वाधीनता नभएका प्राणी हुन् भन्ने भान पर्न थालिसक्यो । अझै पनि अराजकता निम्त्याउन हाम्रा जनप्रतिनिधिहरूले छाडेका छैनन् । लोकतन्त्रमा यो हदको अतिवाद ?
खासगरी पूर्वराजा ज्ञानेन्द्र फेरि विदेश भ्रमणमा जाने गाइँगुई चल्न थालेको छ । कांग्रेस महाधिवेशनतिर लागेको छ । एमाले र माओवादीमात्र होइन, एमालेबाट टुटेका माधव र जसपा तथा जसपाबाट फुटेका चोइटाचोइटी पनि अराजक हुँदै सडकमा देखिन थालेका छन् । सभ्य तरिकाले कोही पनि प्रस्तुत भइरहेका छैनन् । सबैलाई चुनावले छुन थालेका छन् र एकदोस्रालाई खुइल्याउन कम्मर कसेर लागेको भान हुनथालिसक्यो । लोकतन्त्र आएको १४ वर्षपछि पनि नेताहरू टोले गुण्डाका पारामा भाषणबाजी गरिरहेका छन् । यी परिपक्व हुने कहिले ?
जनताले दुई तिहाइ बहुमत दिंदा पनि राजनीति स्थिर हुन सकेन । किन तिनीहरूसँग कुनै जवाफ छैन । सम्पूर्ण दोष नेताहरू एक अर्कालाई दिइरहेका छन् । जनताले बहुमत दिए वा नदिए पनि मुलुकमा कसैगरी स्थिरता नुहुने भो । नेताहरूको सत्तास्वार्थले राष्ट्र टुहुरो बन्दै गएको छ । जवसम्म जबरजस्ती अवैधानिक रूपमा किनारामा पु¥याइएका राजालाई संविधानमा कुनै न कुनै तरिकाबाट स्थान दिइदैन, तवसम्म स्थिरताको आश गर्न नसकिने पक्का भयो । राजनीतिक रडाको चुनावमा, संसदमा, सरकारमा, अदालतमा । एकले अर्कोलाई घेरावन्दी गर्ने चलन जारी छ । एकले अर्कोलाई थाङ्नामा सुताउन सक्ने खेल चलिरहेको छ । यो अवस्थामा ठूलै राजनीतिक निर्णय हुनसक्ने अनुमान पनि बढेको छ ।
राजनीतिक विश्लेषकहरू पञ्चायतले बहुदलवादीलाई स्पेश नदिदा असफल भयो, बहुदलवादीले माओवादीलाई स्पेश नदिंदा असफल भयो, अहिले लोकतन्त्र राजालाई स्पेश नदिदा र आपसी झगडाले असफल भएको ठान्छन् । जबसम्म राजतन्त्रसहितका शक्तिहरू एक हुँदैनन्, अस्थिरता रहिरहने तिनको दावी छ ।
स्थिति त्यस्तै प्रकारले विकसित भएको छ । मुलुक अभिभावकविहीन हुनपुगेको छ । राजनीतिकर्मीहरू छाडा भएका छन् । राज्यका सम्पूर्ण सञ्जाल भ्रष्टाचारमय भएका छन्, सबै संवैधानिक पदहरू ध्वस्त हुनथालेका छन् । पहिलेको कांग्रेस वा अहिलेको नेकपाको शासन होस्, भ्रष्टाचार, नातावाद र व्यभिचार बढेको छ । हरेक पद किनबेच हुनथालेका छन् । जनतामाथि कर थोपर्ने र मुलुक खोक्रो पार्ने साजिस बढ्दो छ । अरूलाई फसाउने, आफन्तलाई बचाउने हत्यारा, माफियाकरण डरलाग्दो हुनथालेको छ । देशमा कानुनव्यवस्था खलबलिइसकेको छ ।
देशको अराजकताको प्रश्नमा अब सबैको ध्यान जानु जरूरी छ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper