banner
banner

तीजको सद्भाव हरायो

धर्मरत्न श्रेष्ठ--- 
तीजमा सद्भाव कहाँ छ ? एकथरि सहरिया महिला छन्, तीजको तडकभडक देखाएर नाचिरहेछन्, दर खाइरहेछन् । महिनौं अघिदेखि दर खाने प्रचलन अपसंस्कृति बनिसकेको छ । संस्कृति र संस्कारलाई सभ्य तरिकाले मनाउने शिक्षा कोही दिइरहेका देखिदैनन् । सबै महिलाका सेक्सी नाच र फेसनमा रमाइरहेका देखिन्छन् । बुढापुरानाहरू भन्छन्– तीजको महिमा अब रहेन । तीज भाइबहिनी, दिदी भाइ, आमाबा छोरी, नातेदारहरूको प्रेम रहेन । पहिलेको तीज दुःखसुख साट्ने चेलीहरूको अवसर हुनेगथ्र्यो । अहिलेको तीज भ्रष्टाचारी, अनैतिकहरू सम्पत्ति देखाउने, नक्कलझक्कल पार्ने पो हुनथाल्यो ।
अहिलेको तीजले विपन्न बर्गका महिलाहरूलाई जिस्क्याउन थालेको छ ।
पहिले रूने, मन बुझाउने, माया साट्ने, सद्भाव प्रदर्शन गर्ने कति रमाइलो हुनेगथ्र्यो तीज । अहिले त तीज भड्किलो हुँदै गयो । हुनेखानेहरूले रमाउने र हाँस्ने, गरिखाने बर्गले त्यो रमिता हेरेर बस्ने अवस्थाजस्तो हुनथालेको छ ।
तीजमा मानवीयता भन्ने कुरा मर्दै गएको छ । कहिले तीज आउला र मज्जाले गहना लगाएर, महगा सारी ढल्काएर पार्टी पालेस, महगा होटलमा गएर खापिन गरौंला भनेर कुर्ने नवसम्भ्रान्तहरूको बिगबिगी नै चल्न थालेको छ । यथार्थमा नेपाली संस्कार र परम्परा रातारात पैसा कमाउने बर्गले बिगारेका हुन् ।
र, हातहातमा मोवाइल बोकेर विदेशीको नक्कल गर्ने बर्ग ह्वात्तै बढेको छ । दुःख किन गर्ने, जे जसरी पनि सुख खोज्ने हो भन्ने नयाँ पुस्ताले पनि प्रचलनलाई बिर्सदै गएका छन् । यही गति रहने हो भने केही वर्षमा तीजको महिमा हराउने छ । तीजको महिमा हराउनु भनेको हाम्रा अन्य सांस्कृतिक चाडबाड पनि हराउनु हो ।
संस्कृति, परम्परा र धार्मिक आस्थाका नाममा लुटेराहरूले परिवारको निम्ति धन सम्पति संकलन गर्ने र त्यस्ता परिवारजनले प्रदर्शन गरेर समाजलाई, सामन्ति पनलाई अरू जकडेर राख्ने र अंग प्रदर्शन गरेर नेपाली समाजलाई पनि नग्नतातिर अभिमुख गराउने अत्यन्त बिकृत सामाजिक चरित्र निर्माण गरिंदैछ । यति हुँदा पनि समाजशास्त्री र नागरिक समाज कोही पनि बोल्दैनन् । अझ सुन्दरी प्रतियोगिताको व्यापक बिरोध गर्ने हिसिला यमीका सन्तानहरू त गर्भवती भएको आफ्नो भुँडी प्रदर्शन गर्नतिर अग्रसर भएका छन् । चेतना छर्ने र समाजमा सुधार ल्याउँछु भन्ने माओवादी नै परिवर्तनको छलाङ् यसरी गरिरहेछ भने अरू त त्यसै पनि पुँजीवादी समाजवादी हुन्, तिनले पश्चिमाकरण गर्न अब गर्न के नै बाँकी राख्लान् र ?

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper