banner
banner

खोलो फर्कन थालेको सार्वजनिक अनुभूति

स्वयम्भुनाथ कार्की- - 
राजतन्त्र शव्दसँग च्याँठिनु आवश्यक छैन, किनभने जति पनि किसिमका राज्य प्रणाली, शासकिय स्वरूपहरू थिए, छन र हुनेछन् ती सबै राजतन्त्र कै परिवर्तित रूपहरू हुन । राजा मुलुकको सर्वोच्च पद हो, जहाँ राजा छैनन् त्यहाँ पनि कुनै न कुनै सर्वोच्च पद श्रृजना गरिएको नै छ । राजा व्यक्ति कहिले पनि होईन यो संस्थाको नेतृत्व गर्ने पद हो जो अन्य धेरै सहयोगीहरूको साथमा मुलुकमा सुव्यवस्था कायम राख्छ, अन्याय अत्याचार हुन दिदैन अनि समृद्ध मुलुक बनाउन हमेशा प्रयत्नशील हुन्छ । जुनसुकै व्यवस्था, प्रणाली, वाद सबैको आधारभूत न्यूनतम मान्यता र अवधारणा यिनै र यस्तै यस्तै हुन् ।
काम, कर्तव्य र अधिकारमा समानता भए पनि सर्वोच्च पदमा पुग्ने प्रक्रिया सबै जसो तन्त्रमा अलग अलग हुन्छ । एउटै तन्त्रमा पनि अलगअलग स्थानमा अलग अलग प्रक्रिया देख्न पाईन्छ । जहाँ प्रजातान्त्रिक गणतन्त्रमा सिद्धान्ततः कोहि पनि नागरिकले त्यो स्थान हासिल गर्न सक्छ भने साम्यवादी गणतन्त्रमा 
(चल्तीको भाषामा जनवादी गणतन्त्र) निश्चत मापदण्ड पुरा गरेको र पुरानोले पनि पत्याएको हुनु पर्दछ । राजतन्त्रमा उत्तराधिकारी तोकिने भएकाले साम्यवादी गणतन्त्र संग पुरानोले पत्याउनु पर्ने कुरा मिल्न जान्छ ।
राजतन्त्रमा उत्तरधिकार वंश परंपरामा जान्छ, वंश परम्परा तोडियो भने त्यो किन तोडियो भन्ने कुरा प्रष्ट गर्नुपर्ने हुन्छ । जनवादी गणतन्त्रमा वंशमा उत्तराधिकार गयो भने किन भन्ने प्रश्न पैदा हुन्छ तर यो धेरैजसो वेला बाहिर आउने गर्दैन । अमेरिका जस्ता मुलुकहरूको कुरा नगर्ने हो भने अन्तका सबै गणतन्त्रमा उत्तराधिकारी अनौपचारिक रूपले घोषित भई सकेको हुन्छ । राजतन्त्रमा वंश एउटै मात्र हुन्छ तर यस्ता गणतन्त्रमा जति नै जनता सर्वशक्तिमान भने पनि केहि वंशहरूको अघोषित वचश्व हुने गर्दछ । 
कुरो अलि अमूर्त जस्तो भएकोले यसलाई केहि सरल गर्न केही उदाहरण अनुपयुक्त नहोला । सामान्यतया दक्षिण एसियामा हरेक जसो दलका ठुला नेताहरूको घराना अघोषित राजवंश हुने गर्दछन । श्रीमानको मृत्यु पछि श्रीलंकामा उनकी श्रीमतिलाई सत्ता सुम्पिइयो । नेहरूको मृत्युको केहि समय पछि उनकी छोरीले सम्हालेको सत्ता त्यसपछि छोरीको छोराले सम्हाल्न पुगे । यस भेकमा जनतामा व्यक्तिवंश पूजाको मानसिकता छ, त्यसैले बंगलादेशमा शेख हसिना वाजेद, खालिदा जिया, पाकिस्थानमा बेनजिर भुट्टो र त्यसपछि उमेर नपुगे पनि उनको छोरा विलावल जरदारीलाई विलावल भुट्टो भनेर उत्तराधिकारी घोषणा गरिएको थियो । यसरी कहिले यो परिवारबाट फलाना र कहिले उ परिवारबाट चिलानाहरूको सत्तारोहण एक प्रकारको अवैधानिक राजतन्त्र नै हो । नेपाल पनि यसबाट अछुतो छैन, आँखा कान खोलेर हेर्ने सुन्ने हो भने सत्ताका दावेदारहरू कुन कुन परिवारबाट कुन कुन नाताका तैयार हुदैछन्, कुन कुन नातेदार सत्तासीन भए, त्यो थाहा पाउन कठिन छैन ।
नेपालले यस्तो विभिन्न परिवारमा छरिएर रहेको अर्धवैधानिक राजतन्त्र एक शताव्दी भन्दा ज्यादा श्री ३ महाराजको रूपमा भोगिसकेको छ । कुनै वैधानिक दायित्व बोक्न नपर्ने परिवारहरूबाट उत्तराधिकारी आउन थाल्दा गैर जिम्मेवार अवैधानिक राजवंशहरूको विगविगी हुन्छ । यस्ता वंशहरू एक अर्कासंग समन्वय भन्दा ‘लडाई र प्रेममा सबै जायज छ’ भन्ने सिद्धान्त फलाक्दै प्रतिस्पर्घामा उत्रन्छन । उनीहरू बीचको यो संघर्षले जनताको निमित्त रौरव नर्कको वातावरण तैयार गर्छ जो जीवनकाल मै भोग्नु पर्दछ । योे नेपाली गणतन्त्रमा वैधानिक नारायणहिटी कुना लागेको छ । तर त्यसको सबै जसो कुरा लिएर शितल निवास राजतन्त्र बोकेर कृयाशील छ । राष्ट्रपति नेपालमा राजतन्त्रको बदला गणतन्त्र भएर आएको हैन व्यक्ति र पदको नाम मात्र परिवर्तन भएको हो । धर्मनिरपेक्ष गणतन्त्रको राष्ट्रपति पदले दशैको टिका बक्सनेदेखि भोटो जात्रासम्मको हिन्दु राजाको निरन्तरता कायम राखेको छ । जवसम्म नेपालमा व्यक्तिवंश पुजाको मानसिकता कायम रहन्छ तर वैधानिक राजतन्त्र रहन्न तबसम्म यस्ता अवैधानिक राजतन्त्रहरू कायम रहन्छ जसको कुनै उत्तरदायित्व छैन । त्यसैले उत्तरदयित्व सहितको एक वैधानिक राजतन्त्रको उपस्थितिमा मात्र नेपालीले कष्ट भोग्नु पर्दैन । वैधानिक राजतन्त्रले उत्तदायित्व वहन गर्नैपर्दछ, त्यसले योग्यता र क्षमता देखाउनै पर्दछ । चाटुकारहरूले उचालेको भरमा भएको सर्वशक्तिमानको अनुभव भ्रम रहेछ भन्ने सावित भई सकेको छ । जनतासँग टाढिएर सर्वशक्तिमान हुने भएको भए वर्तमानमा किनारा लागेर बस्नेजस्तो अवस्था भोग्नु पर्ने थिएन । 
नेपालीले अनौठो तरिकाले राजसंस्थाको कमी अनुभव गर्न लागेका दृष्टान्तहरू छरपष्ट हुँदैछन । विवेकशिल पार्टी भित्र चलेको एक वहसलाई राजसंस्थाको समर्थन र विरोधको रूपमा मोड्ने प्रयत्न देखिएको घटना हो । यस्ता वहसहरू हरेक जसो दलको आन्तरिक बहस बन्दैछन् । कलाकारहरूले राजपरिवारका सदस्यहरूको हास्य अभिनय गर्दा पनि त्यहाँ पहिले जस्तो हलुका रूपमा नलिएर सम्मानजनक रूपमा आउने क्रम  सुरू भएको छ । कमेडी च्याम्पियनमा युवराज पारसको अभिनय गर्नेले राष्ट्रको मायाँ भनेको के हो भनेर सोद्धा लाग्छ अनावश्यक फतुर लगाउनेलाई स्वयं युवराजले जनतालाई प्रश्न गर्दैछन् । अर्थात आधुनिक नेपालले राजतन्त्रको आवश्यकता महशुस गर्दैछ । खोलो फर्कने क्रम सुरू भएकै हो त ?

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper