banner
banner

३२ उद्योगका जग्गा प्लटिङ्

रोशन कार्की- - 
निरङ्कूश राजतन्त्र भनेर न्वारानको बल लगाएर राजतन्त्रको विरोध गर्नेहरूले ०४६ सालपछि एउटा उद्योग पनि स्थापित गर्न सकेनन् । रोजगारी सिर्जनाका नाममा युवा निकासी गर्ने बाहेक यिनले केही गरेनन् तैपनि लोकतन्त्रको रट लगाउन छाडेका छैनन् । भाषण गरेरै लोकतन्त्रको हविगत टाक्सिदै गएको छ ।
राजाले स्थापना गरिदिएका ४२ मध्यका ३२ उद्योग निजीकरणका नाममा कौडीका दाममा बेचियो । ती उद्योगका सबै रोजगारी र उत्पादन समाप्त पारियो । ती उद्योगका आधुनिक मेसिन औजार भारततिर निकासी गरियो । ०४६ सालपछिका यी करतवपछि अहिले सेटिङ् मिलाएर ती उद्योगले चर्चेका जग्गा जमिन प्लटिङ् हुन थालेका छन् । यस्तो प्लटिङलाई पनि स्वीकृति दिने सरकार कस्तो होला ?
घडेरी बनाएर बेचेपछि उद्योग किन्नेलाई अर्वौं अर्व मुनाफा हुनेछ । भएका उद्योग समाप्त भए, रोजगारी सिध्याइयो । अब उद्योगका जग्गालाई घडेरीको नाममा विकास गर्ने ? अनुत्पादक कार्यमा प्रयोग गर्न स्वीकृति कसरी दिइयो ?
भूमाफियाकरणको यस्तो जगजगी । राजनीतिकरणले कसरी विकासको गतिलाई रोकेको छ ? यो दृष्टान्त मात्र हो । हेटौंडा कपडा उद्योग, बुटवल धागो कारखाना, भृकुटी कागज कारखाना, ट्रली बस, इटाटायल कारखाना, गोरखकाली टायर उद्योग, चिनी, चुरोट कारखाना, कृषि औजार कारखाना सबका सब निजीकरण भए, बेचिए र अहिले ती कारखाना रहेका जग्गा घडेरीका रूपमा प्लटिङ् हुँदैछ । कुनै सांसदले संसदमा यसबारे प्रस्ताव लैजादैन, बहस गर्दैन । यही हो लोकतन्त्र भनेको ?
निजीकरणले हुनसम्मको विकास हुन्छ भन्ने कांग्रेसका रामशरण महत, आचार्यहरू हुन् । सबले हात चाट्न पाए, समर्थन जनाए । ठूला व्यापारीले उद्योग कौडीका मोलमा हात पारे । मेसिनजति भारत निकासी गरे, उद्योग चल्न नसकेको बहानामा जग्गा बेच्न थाले । कठै लोकतन्त्रको हालत ? योभन्दा हरिबिजोग के हुन्छ ?
धागो नेपालमै, कपडा नेपालमै, जुत्ता नेपालमै, टायर नेपालमै बन्थे । ७० हजारभन्दा बढी निजामती कर्मचारीको ड्रेस भारतबाट आयात हुन्छ, डेढलाख सशस्त्र र नेपाल प्रहरीका लागि चुस्ता विभिन्न देशबाट आयात हुन्छ, नेपाली सेनाका लागि जुत्तामात्र अरवौंको आयात हुन्छ । पचासौं लाख सवारी साधन छन्, तिनका लागि टायर ट्यूव नेपालमै उत्पादन हुनसक्थ्यो । यत्ति गर्न सकेको भए लाखौंलाखले रोजगारी पाउँथे, राजस्वमा व्यापक आम्दानी हुनेथियो । यसतिर लोकतन्त्रवादीहरूले सोचेकै छैनन् । मात्र वैदेशिक रोजगारी देखेका छन्, पाइलैपिच्छे युवाहरूलाई ठग्न पाइने सजिलो पेशा बनेको छ वैदेशिक रोजगारी । यथार्थमा नेपाली राजनीति भनेको दलाली बनेको छ । राजनीतिमा लाग्नेहरू नै मानव तस्करीमा लागेका छन् । जो नेपालका प्रतिनिधि भएर विदेश गएका छन्, तिनीहरूसमेत मानव तस्करीमा मुछिएका घटना पनि भए । राता पासपोर्ट बेच्न समेत यिनलाई लज्जावोध भएन । यसरी देश विकास कहिले हुने ? हामी माथि होइन, तल तल भासिदै गएका छौं ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper