banner
banner

महिला भनेका शारीरिक खेलौनामात्र हुन् ?

देवी काफ्ले- - 
मनुस्मृतिले मक्ख पारिदिएका हामी महिला जाती आज पनि उत्तिकै नै मक्ख छौं तर हिजो भन्दा आजका महिलाहरू दुनियाको तुच्छ गाली खान मात्रै स्वतन्त्रता पाएका हुन् कि जस्तो ब्यवहार देखिई रहेको अवस्था सृजना भयको छ । समान अधिकार, स्वतन्त्रताका लडाइँ अझै पनि जारी छन् । समान अधिकारका लागि राजनीतिमा आज महिलाहरूको विशेष दखल त छ नै । प्रशासनिक क्षेत्रमा पनि उतिकै दखल छ । तर यहाँ शुद्धता छैन।जतिसुकै क्षमता भयर आफ्नो क्षमताले ती पदहरू महिलाले ग्रहण गरेता पनि मानिसहरूले उनिहरूलाई हेर्ने दृष्टिकोण उहीँ दोस्रो दर्जाकै छ । त्यहाँ क्षमताले पुगेको भन्दा पनि पुरूषको गलत सम्बन्धका कारण पुगेको अर्थ लगाईन्छ । पुरूष नेतृत्वको असाधारण रिलेशनका कारण महिला पहुंचमा पुगेको झ्याली पिटिन्छ । महिलामा नेतृत्व क्षमता, निर्णायक क्षमता हुँदैन त्यसकारण पुरूषकै सहारामा नेतृत्व तहमा पुगेको भनेर अर्थ लगाईन्छ । अझ राजनैतिक क्षेत्रमा त यति घृणित आरोप लगाइन्छ कि मानौ महिला पुरूषका शारीरिक खेलौना हुन् ।
महिला नै  राष्ट्रको प्रमुख पदमा रहेपनि महिला हिंसा रोकिएको छैन । आजका कामकाजी महिलाहरू सबैभन्दा बढि शाब्दिक हिंसामा छन् । विभिन्न दृश्य सामग्री बनाएर परपुरूषको नाम जोडेर चरित्र हत्या गरिरहेका छन् । यस्तो उच्छृङ्खलता किन मौलाएको छ सोचनिय बिषयवस्तु बनेको छ।राजनीतिमा महिलाले फरक बिचार राख्नुलाई दलका कार्यकर्ताको नजरमा अपराध जस्तै भयको छ । राजनैतिक बिचारधारा फरक पर्दैमा बोल्न सुन्नै नसकिने शब्दहरूले महिला नेतृमाथि चरित्रहिनताको लान्छना लगाईएको छ।सामाजिक सन्जालमा आज त्यस्तै अपशब्दले हिंसात्मक ब्यावहारमा नेतृ रामकुमारी झाँक्री पनि परेकी छन् । अत्यन्तै तुच्छ समाजले पचाउनै नसक्ने खालका शब्दले गाली गरिएको छ । के महिलाले फरक बिचार ब्यक्त गर्नु महापाप हो या बोल्नै नपाउने हो ? किन आफ्ना छोरीबेटी छोरी अर्काका छोरी माल बनाउदैछन् आजका मानिसहरू ?
नेता देखि लियर कार्यकर्तासम्म तुच्छ अत्यन्तै निम्छरो बोलीले बिरोध गर्नु कतिसम्मको घृणित ब्यावहार हो हामी हेर्न बुझ्न सक्छौं।राजनीतिमा फरक धारका महिला आज महिलाबाटै पनि हिंसामा छन् । आज फरक बिचार राख्ने महिलालाई अपशब्दले गाली गर्ने पटमुर्खहरूले भोलि आफैसंग बिचार मिलेकाहरूलाई पनि त्यसरी नबोल्लान् भन्ने के ग्यारेन्टी छ ? त्यस्ता दुषित मानसिकता बोकेका कार्यकर्ताबाट भोलिको पुस्तालाई कस्तो खालको राजनैतिक संस्कार हस्तान्तरण होला त ?
समाजमा राम्रा नराम्रा, असल खराब दुबै प्रकारका मानिस हुन्छन् । एकजनाले केही गल्ती ग¥यो वा कमिकमजोरी भयो भने सारालाई भुगोलका आधारमा,वर्गका आधारमा,लैङ्गिक आधारमा दोषी ठहर गरिदिन्छन् । आजकल बिदेशमा हुने श्रीमानका श्रीमती कुनै एकले बदमासी गरि अथवा उसले अर्को बिहे गरि भने सारा बैदेशिक रोजगारमा गयकाहरूका श्रीमतीलाई नै खराब बनाईदिन्छन् । सबैका स्वास्नी पोईल गय जसरी सन्जालमा उफ्रिन्छन्।त्यो उफ्राईको ढ्याङ्ग्रोमा कहिलेकाहि आफ्नै आफन्त पनि पर्लान् भनेर सोच्दैनन् । हरेक उमेर समुहका महिलालाई बोले, हांसे, हिंडे बापत चरित्रहिनताको ट्याग भिराउंछन् । यदि सबैलाई खराब चरित्रका देख्ने हो भने तीनका दिदीबैनी पनि चरित्रवान छैनन् भन्ने बुझ्नुपर्यो । राजनितीक दलका कार्यकर्ता र बैदेशिक रोजगारमा रहेका युवाहरू सबैभन्दा बढि यसरी चरित्रहत्या गर्न उद्धत भयको देखिन्छ । यस्तै संस्कारको बिकास हुँदै जाने हो भने सतिप्रथा ताकाका महिलाहरूले भन्दा आजका महिलाले बढि हिंसा सहनुपर्ने स्थिति नआउला भन्न सकिन्न ।
जतिसुकै आधुनिकतामा प्रवेश गर्यौं भनेपनि पुरूषले महिला स्वतन्त्र भएको देख्न चाहान्नन् अर्थात् पुरूषवादी चिन्तनलाई छोड्नै चाहँदैन भन्ने आशय अहिले ब्याप्त सन्जाल सर्वेक्षणले देखाउँछ । व्यवहारिक सत्य पनि यही छ ।
महिलाको क्षमता स्वीकार गर्न नसकेको हो वा स्त्री शक्तिको सामना गर्ने क्षमता नभएको हो सर्वेक्षण गरेपछि नतिजा थाहा होला । तर केही पुरूष प्रधानताका ब्यावहार, बोलिचाली देख्दा लाग्छ यिनीहरूमा स्त्री प्रधानता स्विकार गर्ने क्षमता नभएका कारण हरेक महिलाको क्षमताको तिरस्कार गर्दैछन् ।
त्यसैले त राजनैतिक दलका पुरूष नेताहरू मन्चमा जति महिला समानताका बिषयलाई लिएर बुर्कुसी मार्दै भाषण छांट्छन् त्यति नै महिलाहरूलाई निर्णायक ठाउँ दिन मरेतुल्य हुन्छन् । यहि बर्चस्व जोगाउन दुईचार समानुपातिकको घाँस हालेर क्षमतावान महिलाको पाईला ररूकेका छन् । राजनैतिक नियुक्तिहरूमा, पार्टीको केन्द्र स्तरका समितिहरूमा कोरम पु¥याउने टालटुल गर्ने सकेसम्म महिलालाई अवसर नै नदिने थुप्रै उदाहरण छन् ।
हिजोको भन्दा बिकसित रूपमा त छन् तर पनि छाडाहरूका छौंडेहरू अझै पनि महिलाको चरित्र हत्या गरेर आफुलाई महान बनाउने कुचेष्टालाई चिर्न सकेका छैनन्।यसरी लठैतहरू,संस्कार भुलेका कुपात्रहरूलाई राजनैतिक शिक्षासँगै नैतिकशिक्षा पनि पिलाउनु आजको आवस्यकता हो । खबरदार हरेक महिलालाई तिम्रा र तिम्रा नेताका खेलौना नसम्झ।महिला दास हैनन् । जब स्त्रिशक्तिको सामना गर्नुपर्नेछ नि खरानी  हुनेछौ चरित्रको ठेक्का बोकेका ठेकेदारहरू।अपमान हैन सबैलाई सम्मान गर्न सिक।आफुले पनि सम्मान पाउनेछौ । महिला हिंसा बन्द गर ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper