banner
banner

अरू विकासतिर, हामी बिनासतिर

राजन कार्की- - 
संसार सीमावारि एउटा छ, सीमापारि अर्को । नेपालगाउँ हो, नेपालको आफ्नै परम्परा, संस्कृति र संस्कार छ । नेपालबाहिर आधुनिकता छ, मानवीयताभन्दा बढी स्वार्थ छ र संस्कार स्वच्छन्द छ । हामी नेपालीबारे किटेरै भन्न सकिन्छ– हामीभित्र नेपालीपन छ, आफ्नै सांस्कृतिक नक्सा छ, त्यो नेपालको अलौकिक नक्सा हो । नेपाली यथार्थमा एलिट बर्गमा पर्दैनन्, नेपाली हिमालकै स्वच्छ पानी हुन् । देशभित्रका विकृतिका भँगालाहरू देखेपछि नेपाली रून्छन्, कराउँछन्, पीडाबोध गर्छन् र सुधार भए हुन्थ्यो भन्ने ठान्छन् ।
नेपाली हरेक मुलुकमा पुगेका छन् । यसकारण नेपालीजाति यात्री पनि हुन् । कहिले भोकले, कहिले रोगले, कहिले पारिवारिक र राष्ट्रको जिम्मेवारीले, केही सोखले संसार यात्रा गरिरहन्छन् र आफ्नो देशको संस्कार शुद्धी गर्ने महायात्रामा छन् । नेपाली दुःखसुखबीचको घुम्ती हुन्, घुम्ती तर्छन , कहलिे कुन घुम्ती पुग्छन्, तर देशका घुम्तीहरूमा नेपाली अक्सर भेटिन्छन् । कति यात्रामै मट्टी बिसाउँछन्, कति फर्कन्छन् । कति मुग्लानमै रमाउँछन् । यथार्थमा नेपाली प्रेरणा यहीँका द्यौराली, चौतारी र घुम्तीहरू नै हुन् ।
संसार बुझ्नेहरूको मथिङ्गल यसकारण खलबलिएको देख्छु कि कालाको देश लेसोथो र गोराले शासन गरेको दक्षिण अफ्रिका दुवैतिर शानित छ, स्थिरता छ । ढुङ्गामा देवता देख्ने नेपाल, ढुङ्गामा देवता कुँद्ने नेपाली, सगरमाथाको चिसो पानी बग्ने नेपाल, बुद्धको जन्मथलो नेपाल, सधैँ अशान्त छ, सधैँ खुकुरीको धारमा छ । नेपालजस्तो महान देश किन अशान्त, हाहाकारमा बाँचिरहेछ ? सधैँ छिर्कीमिर्की दाउ, सधैँ सत्ता र शक्ति सङ्घर्ष ? भनिन्छ, आवश्यकता नै विकासको जन्मदाता हो ।
बेलायतले चोर, डाँका भनेकैले अष्ट्रेलिया विकसित हुनसक्यो । हामीलाई यविदेशीले यसरी करिया र भरिया बनाएका छन् कि हामीले विकासको भोक र इख लिएर अघि बढ्न जरूरी छ । युवाहरूमा यही सोचका झल्काहरू देखिन्छन् तर झरेका तारा अर्थात् उल्काजस्ता हुन्छन् । यसकारण त हामीले म्याकडोनाल्ड बानी त्याग्न सकेनौं ।
अमेरिकी कुकुरलाई ताप्लेजुङको छुर्पी निकासी गरेर भारतबाट पान पराग र खैनी पैठारी गर्न छाड्नैपर्छ । भक्सवाइगनको इन्जिन र नेपालीको बुद्धि पछाडि हुन्छ, यसरी दाँज्ने प्रवृत्तिमा सुधार ल्याउनै पर्छ । विश्वमा वीर भनेर चिनिने गोर्खालीको कसरी घिच्चुकमा बुद्धी हुन्छ ? नेपाली वीर थिए, वीर छन् र वीर नै रहनेछन् । अमेरिका र उत्तर कोरियाका राष्ट्रपतिबीचको वार्तामा सुरक्षा दिनसक्ने गोर्खाली ब्याट्रीले बल्ने टर्चलाइट अथवा रिमोटले चल्ने टीभी होइन । देश निर्माणका लागि यही साहस, अक्कल र हिम्मत अन्यौलग्रस्त नेपालको आवश्यकता हो ।
अब नीतिकार, थिङ्क टेंक जो छन्, जो हुन चाहन्छन्, तिनले बुझ्नेबेला भयो– गोदावरीको मार्वल उद्योग बन्द गराएर भारतबाट आयात किन भइरहेछ ? चोभारको हिमाल सिमेन्ट कारखाना बन्द गराएर लाभ भयो कि हानी ? हेटौंडा कपडा उद्योग, बुटवल धागो कारखाना, भृकुटी कागज कारखाना, बाँसवासी छाला तथा जुत्ता कारखाना, पस्मिना, गार्मेन्ट, कार्पेट कारखाना बेच्न बन्द गराउन के कस्ता षडयन्त्रहरू भए ? आर्थिक रूपमा आत्मघात गर्ने कारण के के रहेछन् ?
चीनले कस्तुरी खेती र भारतले यार्सागुम्बाको खेतीको विकास गरिरहेछन् । हामी भएका उद्यम बन्द गर्ने र नयाँ उद्यम स्थापना नगर्नेमात्र होइन, श्रमशक्ति निर्यात गरेर दाल, चामल, नुन, पेट्रोल, फलफूल आयत गरिरहेका छौं । हामीले हिमाल, पहाड, तराईका साधनस्रोतमा सम्भव भएसम्म उद्यम किन खुल्ला नगर्ने ? उत्पादन गरेर निकासी गर्न हामीलाई कसले रोकेको छ ? स्थिरता र सुरक्षा, करमा छुट दिनुपर्छ, विश्व लगानी ओइरिन्छ । विदेशीले कमाएर लैजाने, नेपालकै लगानी बाहिरिने र युवाबर्ग बेचेर दालभात खाएर हामीले उन्नति गर्ने कहिले ? विश्वमा कुन मुलुक श्रमशक्ति बेचेर सम्पन्न भएका छन् ?
एउटा पौराणिक कथन यस्तो छ– शुकदेव स्वामी १२ हजार वर्ष आमाको गर्भमा बसे, जन्मन मानेनन् । गर्भमै व्रम्हज्ञान प्राप्त गर्ने शुकदेव स्वामीलाई पिता व्यासले ‘तिमीलाई भवजालले छुनेछैन’ भनेपछि बल्ल जन्मिए । जन्मनासाथ सालनालसहित बेपत्ता भए । शुकदेवका पिता व्यास उनलाई पछ्याउँदै पछि लागे । शुकदेव स्वामी तपस्यामा रहेछन्, तपस्या भङ्ग गर्न उचित नसम्झेका व्यासले अन्ततः ३३५ अध्याय १८ हजार श्लोक  श्रीमद्भागवत् रचना गरेर त्यसको श्लोक सुनेपछि शुकदेव स्वामीको तपस्या भङ्ग भयो ।
यो प्रसङ्ग किन महत्वपूर्ण छ भने दोस्रो विश्वयुद्धमा अणुबमले तहसनहस पारेको जापान आठ दशकमै आर्थिक सम्पन्नताको शिखरमा पुगिसक्यो । तीनवर्षे गुहयुद्ध र देशै आधाआधा भएको कोरियालीहरू रछ्यानको भातका सिता टिपेर खान्थे, श्रमशक्ति निकासी गरेर देश चल्थ्यो, सात दशकभित्रै विश्वका सम्पन्न मुलुकको हाराहारीमा उभिन सफल भए । कहिल्यै पराधीन नभएको, स्वतन्त्र मुलुक आज कहाँ छ ?
हुन त विकासशील हुने लक्ष्य फलाक्छ नेपाल । तर जनयुद्ध, जनआन्दोलन, परिवर्तन र ३३ वर्षदेखिको निरन्तर सत्ता र शक्ति संघर्षको फलस्वरूप मगन्ते हालतमा छ । अविकसित र अस्थिर मुलुक हो नेपाल । युवाशक्ति निकासी गरेर रेमिट्यान्सले दैनिकी चलाउन बाध्य नेपाल विकासशील र विकसित हुने कहिले ? यस विषयमा राष्ट्रिय गोलमेच सम्मेलन र बहस हुन जरूरी छ ।
परिवर्तन भयो । जनक्रान्ति नामको घटना पनि घट्यो । पद्धति परिवर्तन भयो । तर सोच र राष्ट्रका लागि केही गरौं भन्ने इच्छाशक्ति कुनै नेतृत्वमा कहिले पनि पलाएन ।
कुनै बेला आक्रोशित क्रान्तिकारीले चिहानबाट ओलिभर क्रम्पवेलको लास झिकेर चौबाटोमा झुण्ड्याएका थिए । त्यो भीड थियो । नेपालमा हिन्दुधर्म, राजतन्त्र फालेर लोकतान्त्रिक गणतन्त्रको पद्धति ल्याइयो, यो पनि भीडमा सिमित छ । भीडले जहिले पनि विध्वंश मात्र निम्त्याउँछ । निर्माणका लागि सिजर मार्ने ब्रुृटस भएर हुन्न, मलेसियाका महाथिर मोहम्मद वा सिङ्गापुर बनाउने ली क्वान युको जस्तो देशका लागि उभिने प्रतिवद्धताको खाँचो पर्छ । प्रजातन्त्रवादीले यिनलाई निरंकूश भन्लान्, ती मुलुकले यिनलाई राष्ट्रपिता मान्छ ।
मिसन देश हुनुपर्छ, ती अमर हुन्छन् । फरक त देश बेच्ने लेण्डुप र मिर्जाफरहरूका लागि पर्ने हो । जो सधैं घृणाका पात्र छन् । चाहिएको राजनीतिमा पन्पिएको असुर चरित्रको विनाश हो ।
किनकि देशमा परिवर्तन भयो, पद्धति नयाँ आयो तर जुन देशमा १ सय २६ जाति छन्, अशिक्षित र सिमान्तकृत छन्, त्यो देशमा नेतृत्व सवल हुन सकेन भने स्थिरता र समृद्धि आउन सक्दैन । यसबारेमा पर्याप्त अनुसन्धान, अध्ययन हुनसकेको छैन । यहीकारण त राजनीति विवादमा छ, संविधान, संसद र सरकार विवादमा छ । विवाद पानी पोखिएझैं विवादले सडक हिलाम्मे छ । स्वार्थ मिले संविधान भन्छन्, स्वार्थ नमिले आगो लगाउँछन् । अर्थात् राष्ट्रिय मुद्दाहरू थुप्रै छन्, जसको निकास ननिकाल्ने हो भने काठमाडौं काबुल हुनसक्छ । इरानको सिया सुन्नी, रसिया अफ्रिकी मुलुकमा तुत्सी र हुतु, ल्याटिन अमेरिकामा अमेरिकी र रेड इण्डियनको जस्तो अन्तहीन रक्तपात नेपालमा पनि हुनसक्छ । किनकि गैरसरकारी संस्थाहरू इसाई मिसन लिएर संविधानमार्फत नै छिरिसकेका छन् । विद्वानहरू भन्छन्– जुन देशमा चर्को राजनीति हुन्छ, त्यहाँ विनाश पहिले र विकास ढिलो हुन्छ ।
कुनै दिन भारतका जयप्रकाश नारायण आफ्नै पुर्पुरोमा आफ्नै हातले हिर्काएर पश्चाताप गर्दागर्दै दिवंगत हुनपुगे । किनकि उनी नेहरू बन्न सकेनन् । नेपालका शासकहरू पनि कृष्णभीरमा छन् । सुस्पष्ट मार्ग नपक्रने हो भने बालुवाको ढिस्को हो, जुनसुकै बेला पहिरो जानसक्छ । पहिरोमा पर्न सक्छन् । नेतृत्व जतिसुकै अँध्यारो होस्, दिनुपर्ने उज्यालो हो । परिवर्तन भए, नागरिकका मनमा विश्वास पलाएन, कष्ट घटेन ।
सन १८१५ डिसेम्बर २ मा सुगौली सन्धि भयो, १५ दिनमा सही गर्नु भनेर अंग्रेजले सन्धिपत्र पठायो । सुगौलीमा लेखिएको यो सन्धिमा ९३ दिनपछि मकवानपुरमा सही गरियो । गजराज मिश्र र चन्द्रशेखर उपाध्यायमार्फत सन्धिमा सही भएको थियो । सही के भयो नेपालले किल्लादेखि काँगडासम्मका धेरै भूभाग गुमायो । यो मकवानपुरे सन्धिको सक्कलीप्रति नेपालसँग छैन । यो सन्धिको सर्तहरू नेपालले कहिले विश्लेषण गरेन, पाउनै पर्ने हकसमेत दावी गर्न सकेन ।
कायम रहेको ताप्लेजुङदेखि दार्चुलासम्मका २६ जिल्लाका ७२ ठाउँमा ६०६ बर्ग किलोमिटर नेपाली भूभाग भारतले अतिक्रमण गरेको छ । यतिमात्र होइन, लिम्पियाधुरा, लिपुलेक, कालापानी क्षेत्र भारतीय नक्सामा हालिसक्यो । राजनीतिक नेतृत्वले राष्ट्रिय जिम्मेवारी बहन नगर्दा भारतीय जालसाजी र अतिक्रमण दिनदिनै बढेर गएका छन् ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper