banner
banner

सराप मोचन– विविधता भरिएको पुस्तक

डा.के.आर. दाहाल, ललितपुर- - - 
लेखक जीवराज भट्टराईद्वारा लिखित पुस्तक सराप–मोचन केही महिना अघिमात्र बजारमा आएको हो । संयोगले पुस्तक सरसर्ती पढ्ने मौका पाएँ । र, पुस्तक बारे केही शब्द लेख्ने जमर्को गरें । 
नदीका बालुवा, पहाडभित्रको सुन, युरेनियमको सोचदेखि गाँजा चरेस, सिताके च्याउ, चिराइतो, बोधिचित्त, रूद्राक्ष, केशर खेती सम्मका विकल्पहरू छन् यो पुस्तकमा । यो पुस्तकले हरेक बौद्धिक हुँ भन्नेलाई झकझक्याएर सोधेको छ– हामी के थियौं, के भयौं र विवेक बुद्धि लगाउने हो भने हामी के के हुनसक्छौं ? 
भट्टराइजीको पुस्तकको पहिलो अध्यायमै भ्रष्टाचारको विरोधको आभास आउँछ । पार्टी र तिनका नेताहरूलाई प्रहरीले पैसा उठाएर चन्दा दिएको कुरा उनले दर्शाएका छन् । यसै सन्दर्भमा पुर्व  प्रहरी महानिरिक्षक भएर अवकास प्राप्त व्यक्ति अच्युत कृष्ण खरेलले पनि पैसा संकलन गरी पार्टीलाई बुझाएको कुरा लेखकले उल्लेख गरेका छन् । उनि लेख्छन्, ‘प्रधानमन्त्रीले गृहमन्त्रीलाई, गृहमन्त्रीले आइजिपिलाई,आइजिपीले मातहतकालाई र मातहतले पनि मातहतलाई पैसा उठाउन आदेश दिएपछि त कसैलाई कसैको डर नहुने र पैसा उठाउन सक्ने समाजमा अझ पुलिस नै संस्थागत हिसाबले पैसा उठाउने अभियानमा लागेपछि कसले नदिने ?’
पुस्तकमा आङ् जिरिङ्ग पार्ने खालका धेरै घट्नाहरू छन् । धेरै कुराहरू लेखकका आफ्ना अनुभवमा समेटिएका छन् । पुस्तकमा धेरै पात्रहरू उभ्याइएको छन् र सबै पात्रले जनयुद्ध, प्रशासन र जीवनमा भोगेका व्यथाहरू कथानक रूपमा चित्रण गरिएको पाइन्छ । हरेक कथाले नेपाली समाजको चित्रण गर्दछ र हरेकले केही न केही शिक्षा प्रदान गरेको छ । पुस्तक आफैमा ऐना हो ।
पुस्तकमा युवा–युवतीहरू विदेश पलायन हुने कथाले मन छुन्छ । देशमै नङ्ग्रा खियाउन सके र यहीको माटोमा कुटो कोदालो चलाउन सके आङ ढाक्न र पेटभरी खान पुग्ने अवस्था छ । तर त्यसको यथोचित व्यवस्थापन कसले गरिदिने ? अनेकौं दुःख र कष्टका साथ विदेशमा कमाएको रकमको सरकारले पाउने रेमिटयान्स पनि सदुपयोग भएको छैन । सरकारमा बस्नेहरू भ्रष्ट छन् । जनताको पसिनाको कमाइबाट असुलेको करको सदुपयोग भएको छैन । देशमा गर्न सके सुन फल्थ्यो । तर गर्ने र गराउनेहरू विच तालमेल मिल्न सकेन । यस्तै यस्तै कुराहरूको सँगालोले पुस्तक भरिएको छ । भालुको पित्त, मृगको कस्तुरी, अनेक वनौषधि लगायतका विकासका नयाँ अवधारणाहरू यसमा अटाएका छन् । मूलतः कृषिक्रान्तिका कुराहरू यसमा धेरै आएका छन् । देशको दक्षिणी सिमाको सही व्यवस्थापन गर्नुपर्ने कुरा पनि पुस्तकमा प्रस्तुत गरिएको छ । पुस्तकले निकै खुराक दिएको छ । अनेकन भिजन अगाडी सारेको छ । तर सराप–मोचन पुस्तकलाई औपन्यायीक रूप दिन खोजियाता पनि त्यसको सिलसिंला भने असरल्लजस्तो भान हुन्छ । यो पुस्तकमा धेरै अनुभव र पीडा पोखिएको छ । खास खास व्यक्तिको अनुभव पुस्तकको पानामा समेटिएको छ र त्यो पीडाले पाठकको मनभित्रै छुन्छ पनि । माओवादी हिंसा, लाउरे जीवन, अस्तव्यस्त राजनीतिक प्रणाली र व्याप्त भ्रष्टाचारले गर्दा देशमा विकास हुन नसकेको यथार्थ पनि लेखकले दर्शाएका छन् । लेखकको भाषा–शैली सरल र सहज छ । सामाजिकता झल्कन्छ । आगामी दिनमा लेखकबाट समाजमा घटेका र घट्ने यस्तै रोचक र समाज सुधारात्मक सन्देश दिने खालका परिमार्जित पुस्तकहरू पढ्न पाउने आशा गर्दै सराप मोचन प्रकाशनका लागि बधाई दिन चाहान्छु ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper