banner
banner

केपी, प्रचण्डले राजसंस्था ल्याउने ?

स्वयम्भूनाथ कार्की- - 
कुनै एक लेखकको स्मरण अंग्रेजीको पाठ्यपुस्तकमा थियो । कतिले त्यो पाठ पढेको हुनसक्छ परिक्षाको तैयारी निमित्त । कतिले स्वअध्ययनको स्पमा पनि पढेको हुन सक्छ । त्यति धेरै रोचक पनि छैन, सम्झनै पर्ने गरेर विषेश पनि नहुन सक्छ । तर यो सानो प्रसंगले चिन्तनको निमित्त प्रसस्त खुराक दिन सक्छ । प्रसंग यस्तो छ, एक पटक नियमित आगो ताप्ने क्रममा लेखकको ध्यान बल्दै गरेको एक दाउरामा गयो । त्यो दाउरामा कमिलाको गुँड रहेछ । बल्दै गरेको दाउरामा त्यो गुँड पनि बल्ने अवस्थामा पुग्यो । त्यहाँबाट कमिलाको ताँती सुरक्षित ठाउँ खोज्न निस्के । ती लेखकमा करूणा जाग्यो । ती कमिलालाई सजिलो पार्न उनले त्यो दाउरा आगोबाट निकालेर पाखामा राखे । तर अचम्म ती कमिलाहरू त सुरक्षित स्थान खोज्न छोडेर फेरी त्यही दाउरा मै पसे । अर्थात अव कमिलाले गुँड सर्न आवश्यक ठानेनन् । अनि ती लेखकले फेरी दाउरा आगोमा नै हाले ।
यो प्राणीको एक स्वभावगत कमजोरी हो । कठिन अवस्थामा उसले गर्ने व्यवहार सहज जस्तो महशुस गर्ने वित्तिकै पुर्ववत अवस्थामा फर्कन्छ । कठिन अवस्थामा भोग्न परेको प्रतिकुलता अनुभव मानेर जो प्राणीले आफ्नो स्वभाव अनि व्यवहारमा परिवर्तन गर्न सक्यो त्यो टिक्छ । तर अलिकति अनुकूल जस्तो देख्ने वित्तिकै पुर्ववत अवस्थामा फर्कनेहरू अस्तित्वको संर्घषमा ढिलोछिटो हार्न पुग्छन । यस्ता व्यवहारहरू विगत झण्डै डेढ दशकदेखी नेपालकोे राजनैतिक क्षेत्रमा देखिएका छन । कथित परिवर्तनकारीहरूको चालामालाले दिक्क भएर परिवर्तनको औचित्य खोजिन थालेको छ । स्वयं परिवर्तनका नायकहरू नै अव ‘बरू’ भन्दै पुराना कुरा सम्झन लागेको भेटिन्छ । यसवाट राजावादीहरू मध्येका एक वर्ग धेरै ज्यादा उत्साहित भएका छन । उत्साह हुनु नराम्रो कुरा हैन तर जँघार तरेपछि लौरो विर्सदा त्यो प्रत्युत्पादक हुन्छ । यो पुरा खोला तरिसकेको अवस्था हैन त्यस्ता प्रसस्त जँघारहरू अरू आउन सक्छन ।
उसै पनि प्रचण्ड लगायतका ‘बरू’ जोडिएका भनाईमा उनीहरूको हृदय परिवर्तनको छाप छैन । यो त सत्ता, शक्ति, सम्पतीमा आफ्नोे घट्दो पहुँचको पिडा हो । अनि आफूले भाग नपाएमा ठिक हुन्न भन्ने घुर्की हो । सत्ताको चास्नीमा पुगेर राजा सहितको प्रजातन्त्रको एजेण्डा लागु गर्न सकिन्छ भनेर लागेको राप्रपाका केही नेताहरू भने धेरै उत्साहित भएको देखिएको छ । उनीहरूका अभिव्यक्तिमा, अन्तरवार्ताहरूमा अनि व्यवहारमा पनि केपीले, प्रचण्डले राजसंस्था स्थापित गरिदिन्छन् भन्ने भनाई सुनिन थालेको छ । यस्तै किसिमको सोच सम्भवत राजाको निरन्तर सहयोगी कर्मचारी रहेकाहरूमा पनि आएको महसुस हुनु सकारात्मक हैन । विगतमा राजाको छवि झण्डै ऋणत्मक जस्तै भएको थियो । त्यसैले नेपाल गणतन्त्र हुन सम्भव भयो । वर्तमानमा राजाको छवि तुलनात्मक रूपमा गणतन्त्रका मेठहरू भन्दा धेरै राम्रो छ । 
यो छवि वन्न र राजसंस्था पनि विकल्प हो भन्ने सोच बनाउन धेरै कुराहरूको संगम भएको छ । विगतमा  आस्था ऋणात्मक हुनमा राजाको आसपासकाहरूको पनि प्रशस्त योगदान छ । योे कुरा जजसले राजालाई वर्तमान अव्यवस्थाको उपचार भनेर जनमानसमा लग्यो त्यसले सामना गर्नु परेका प्रश्नहरूको रूपमा थाहा पाएको छ । त्यो वर्गलाई चिन्ता छ, किनभने उसले जनताको बीचमा अब यो अनुभवले व्यवहार सकारात्मक हुन्छ भन्ने ठोकुवा गरेको छ । जव राजाका नजिक भएका भन्ने ठानिएकाहरूको व्यवहार अलिकति सकारात्मकता देखिने वित्तिकै परिवर्तन हुन थाल्छ उसको कुरा भूmटो मान्न थाल्छ जनताले ।  अनि जनताले पनि त्यो लेखकले दाउरा फेरी आगोमा हाले जस्तै गर्न सक्छ । समय, मौका अतिउत्साहित भएर अव हाम्रो पालो आउँदैछ भनेर फुलेर गुमाउने हैन, त्यसलाई उपयोग गर्ने हो ।
नेपालीमा एक आख्यान छ ‘असारमा डुल्ने, पँजनीमा भुल्ने काम लाग्दैन’ । अर्थात मानो खाएर मुरी उब्जाउने वेलामा रोप्न छोडेर डुल्नेको भकारीमा मंसिरमा अन्न पस्दैन । पँजनी भनेको पहिले हरेक बर्ष जस्तो सबै सरकारी नोकरीमा भएकाहरूको पुनर्नियुक्ती हुन्थ्यो । त्यसको निमित्त सबै हाजिर हुनु पर्ने थियो, अनि त्यसबाट प्रत्येक व्यक्तिलाई उसले गरेकोे काम वा उसले रिझाएको आधारमा फेरी नियुक्ती हुन्थ्यो । यसैलाई पँजनी भनिन्छ । यो पँजनीमा जो उपस्थित हुँदैन त्यो स्वतः वर्खास्त हुन्थ्यो । अहिले राजतन्त्र र गणतन्त्रको खेत हिल्याएको छ, रोप्न ठिक्क परेको छ । स्वयं गणतन्त्रका मेठहरूले नै गण्नतन्त्रमा खतरा देखेका छन् अर्थात जनतालाई फेरी व्यवस्था रोज्ने स्थानमा ल्याएका छन् । यो अवस्थामा राजसंस्थाको दावेदार असारमा डुल्ने अनि जनता अगाडी नपरेर पँजनीमा भुल्ने देखिनु राम्रो हैन । न निकटका अनि सहयोगीहरूको जँघार तरेर लौरो विर्सने काम नै ठिक हो । अर्को भँगालो आउँदैछ, जो यो जँगार भन्दा ठूलो अनि तर्न कठिन छ । त्यसैले लौरो संरक्षण गर्ने चेत पलाओस् ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper