banner
banner

लेखकका दृष्टिमा आमा

देवी काफ्ले- - - 
मेरो आमा पुस्ता सायद गाई हुन्, जो बुहार्तन सहेर र घर गरेर खानुलाई जीवन ठान्थे । गोठ बन्थे र ब्याइरहन्थे । मान्छे उत्पादनका कारखाना जस्ता । घरपरिवार, जग्गाजमिन चलाउने मेशिनजस्ता । तिनलाई आराम के, मनोरन्जन के ? बाउहरू अक्सर बरालियर हिड्थे, अहिले पनि खासै अन्तर आएको देखिदैन ।
सीता पनि आमा थिइन्, उनले अग्निपरीक्षा दिनुप¥यो । पाँच पतिकी पत्नी द्रौपदी पनि आमा थिइन्, रजस्वला भएको अवस्थामा उनलाई राज्यसभामा नाङ्गेझार पारियो । अश्वस्थामाबाट आफ्ना पाँच छोराहरू मारिंदा समेत माफी दिने उनको क्षमाशीलता, शान्तभाव कस्तो थियो होला । कैकेयी पनि आमा थिइन्, जसले छोरालाई राज्य र सौतेनी छोरालाई वनबास पठाइन् । शवरी पनि आमा थिइन्, जसले राम राम भनेर मोक्ष पाइन् । सय छोराकी आमा गान्धारी, लोग्ने धृतराष्ट्र अन्धो भएकाले आफ्नै आँखा बाँधेर जीवन बिताउने नारी मनोबिज्ञान कस्तो थियोे होला ? कर्णजस्तो सूर्य पुत्रलाई पानीमा बगाउनु पर्ने कुन्ती पनि आमा थिइन्, त्यतिबेला उनको मनोवेग कसरी थामियो होला ? रामायण र महाभारत जीवनकथा पनि हो, जसले उनको मनोबिज्ञान र नारी प्रबृत्तिलाई छर्लङ्गै देखाइदिएको छ ।को नारी मैत्री, को नारी असहिष्णु ? खोट हिजो थियो, खोट र चोट आज पनि समाजमा ब्याप्त छ । त्यसैले त रातको चन्द्रोदय सान्त्वना, शीतल हो भने भोलिको सूर्योदयको गर्भ हो । जीवन मुस्कुराउँछ भन्ने आशा गर्नुपर्छ । जीवन यसैगरी मैत्रीभाव बिकसित गरेर अघि बढ्ने यात्राको नाम पनि हो ।
मलाई लाग्छ, अहिलेका नारी पुस्ता ‘म्यान’ बन्न खोज्दैछन् । म्यान अर्थात् समानता । नारी भनेको बिहे, यौन, सेविका, सन्तान मात्र रहेन अब । तिनका पनि खुशि हुन्छन् । तिनलाई पनि घुम्न, रमाउन मन लाग्छ । तिनका पनि लाउने खाने रहर हुन्छन् । नारी र पुरूषमा विभेद सांघुरिंदैछ । पुरूष भनेको अग्लो र नारी भनेको होचो रहेन । नारीवादी अभियन्ता कमला भासिनले सहि लेखेकी छिन् सायद– भला ए जेन्डर क्या है ?
 नारी अब रूद्रघण्टी नभएकी अर्थात् अविश्वसनीय होइनन् । नारीमा सरलता र सवलता दुबेै साथसाथै विकास हुँदै गएको छ । पुरूषसँगै कुममा कुम मिलाएर उभिन सक्ने हिम्मत, साहस र हैसियत विकास हुन थालेको छ । नारी दुर्गा हुन् । ज्ञान, धन, विवेक, शक्ति सबै हुन् त्यसको प्रमाणीकरण हुनथालेको छ । यो जो कसैले पनि अनुभूत गर्न सक्छन् ।
स्वास्नीमान्छेको चरित्र र लोग्नेमान्छेको भाग्य कसैलाई पनि थाहा हुँदैन, नारी भनेको यौन हो, आकर्षक बिज्ञापनको पोष्टर हो भन्ने सोच अब घर, स्कुल, कलेज, विश्वविद्यालयदेखि सरकारी नीति निर्माताहरू सम्ममा बदलिनु जरूरी छ । तब मात्र सभ्यतातिरको अग्रगमन  मानवीयताको उज्यालोतिर देशको भाग्य र भविष्य देखिन सम्भव छ ।
सात दशक अघिको समाज पितृसत्तात्मक थियो, छोरा नै चाहिन्छ भन्थ्यो, नेपाली समाजको त्यो सोंच आजसम्म पनि बदलिएको छैन । यो समस्या पहाड, शहरमा मात्र होइन तराई र गाउँघरमा समेत डरलाग्दो महामारीको रूपमा चलिरहेकै छ । कतिपय समाजमा छोरा जन्म्यो भने उत्सव मनाउने र छोरी जन्माइ भने आमाहरूलाई हेला गर्ने, सौता हाल्ने, लोग्ने अन्तै बरालिनेजस्ता घटनाले घरेलु, महिला हिंसा भईरहेकै छन् । अझ शहरबजारमा त भ्रुण जाँच गर्ने, छोरा छ भने पाउने, छोरी छ भने गर्भपतन गराउने  महारोग नै फैलिएको छ । भ्रुण हत्या नभएकाले हामी जन्मेका हौं भन्ने बिर्सेका छौं ।
आधुनिकतामा पुरातनको जरो झन् गाडिएको जस्तो लाग्छ । मेरा तीन छोरी छन्, मलाई छोरी पनि छोरा झैं लाग्छ । म सबै छोरीप्रति गौरव गर्छु । छोरी ईश्वरीय वरदान हुन, बोझ होईनन् । (‘आमा’ पुस्तकबाट जस्ताको तस्तै ।)

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper