banner
banner

राउटेको राज्य छ ?

अधिवक्ता गंगा दहाल–
समृद्धिसँगै सामाजिक रुपान्तरण हरेक समाजको आवश्यकता हो । समयले रुपान्तरण निर्धारित गर्छ ।
नेपाली समाज आधुनिकता तिर उन्मुक्त हुँदै गर्दा नेपालमै एउटा यस्तो समुदाय छ जसलाई  राउटे भनेर सम्बोधन गरिन्छ  । यो समुदाय अझै पनि जंगलमा आम मानव  भन्दा भिन्न रहन सहनमा बस्दै आएको छ । सुन्दा पनि अनौठो लाग्छ, कसरी बस्दा होलान् जंगलमा सधै मानव पशु जस्तै । बिज्ञानको सुखभोगमा हेलिएको दुनियाँमा अपवाद जस्तो लाग्छ राउटे जीवन ।
के उनीहरुको पनि आम मानिसको जस्तो हाड छाला होइन र ? उनीहरु जाडो गर्मीको अनुभुती हुँदैन र ? उनीहरुलाई अन्य मान्छेले जस्तो सुख भोग गर्ने इच्छा हुन्छ कि हुँदैन होला ? मानव अधिकार उनीहरुलाई  पनि लागू हुन्छ कि हुदैन ?  नेपालको कानुनले उनीहरुलाई छुन्छ कि छुदैन ? कि ती समुदायको आफ्नै कानुन हुन्छ ? यस्तै यस्तै जिज्ञासा पलाउनु स्वाभाविक हो अहिलेको बैज्ञानिक र आधुनिकताको युगमा । ती राउटे समुदाय आफुलाई बनको राजा भन्न रुचाउँछन्, फिरन्ते जीवन बिताउन मन पराउँछन् । जिबिकोपार्जन दैनिक व्यबहार चलाउन आफनै सीप कला प्रयोग गरेर दिनचर्या चलाउन मन पराउँछन् । आफनै संस्कृति रहन सहन मन पराउने यि समुदायमा रुपैया पैसा नछुने पशुपालन नगर्ने, शिकार र कन्दमुल खाएर दैनिकी गुजारा गर्ने चलन छ । नयाँ मान्छे देख्दा डराउने उनीहरुको समुदाय बाहेक आम मानिससँग घुलमिल नगर्ने खाली खुट्टा हिड्ने पिठ्युँमा खाँदो शिरमा फेटा लगाउने गर्दछन् । उनीहरु हतियारको रूपमा  खँुडा, भाला, ढुङ्गा प्रयोग गर्ने गर्छन् । भर्खर भर्खर आमसमाजमा रत्तिने प्रयत्न गरिरहेका छन् ।
 उनीहरुको आफ्नै समाज छ । त्यस समुदायको  मुख्य ब्यक्तिलाई मुखिया भनिने गरेको पाइन्छ । ती  मुखियाले जे भन्छन्, भनेको सबैले पालन गर्नुपर्ने हुन्छ । मुखियाको आदेश समुदायमा कानुन मानेर पालन गर्ने गर्दछन् । सजाय र न्याय मुखियाले नै तोकिदिन्छन् र  सबैले परिपालन गर्नुपर्ने चलन छ  ।
स्थायी रुपमा एकै ठाउँमा बस्न नचाहने फिरन्ते जीवन बिताउन मन पराउने  ती राउटे समुदाय आफ्नै संसारमा रमाउने गर्छन् । बिरामी पर्दा चोटपटक लाग्दा जडिबुटी झारपातको प्रयोग गर्ने, धामीझाँक्री लगाउने गर्छन् ।
यी समुदायलाई हेर्दा मानव जातिको बिकास क्रमका आदिमानिस जस्तै भान हुन्छ । तर पहिलेको तुलनामा अहिले उनीहरुको जीवन शैलीमा परिवर्तन आएको छ । उनीहरु पहिले भन्दा अहिले, समुदाय भन्दा बाहिरकासँग घुलमिल हुन्छन् पैसा प्रयोग गर्न थालेका छन्, जुत्ता चप्पल लगाउन थालेका छन् । बिरामी पर्दा स्वास्थकर्मीसँग उपचार गराउन थालेका छन् । समग्रमा आनिबानीमा केही परिवर्तन आएको पाइन्छ । ती समुदायका पछिल्ला पुस्ता आधुनिकतातिर उन्मुख भएको देखिन्छ । राज्यले पनि तिनलाई सहयोग गर्न सुरु गरेको देखिन्छ ।
उनीहरु विशेषगरी बाँदरको सिकार गरेर खाने बुझिएको छ । काठमा भाँडा बनाएर बेच्ने गर्छन् । तर वन जंगलको बिनास हुँदै गए पछि बाख्रा कुखुरा पाल्न थालेका छन् र तिनैको मासु प्रयोग गर्ने गरेको बुझिन्छ ।
२०६८ सालको जन गणनामा ४६० राउटे रहेको तथ्यांकले देखाउँछ । उनीहरु  बिशेष गरेर दाङ, कर्णाली सुर्खेत, सल्यान, दैलेख जिल्लामा बस्दै आएका छन् ।
हुनत राज्यले र  भिभिन्न सामाजिक संघ संस्थाले आम मानिसको जस्तै जीवन शैलीमा बसाल्न धेरै कोसिस गरिरहेका छन् । प्रयत्न गरिरहेका छन् । एक दिन अवश्य पनि आम मानिस जस्तै जीवनयापन गर्लान् । अथवा यही दिनचर्यालाई विकसितरूपमा स्थापित गरिएला ? अहिले उनीहरु प्रत्येकलाई राज्यले मासिक सामाजिक सुरक्षा भत्ता पनि दिदै आइरहेको छ । उनीहरु सभ्य हुने क्रममा छन् ।
केही समय अगाडि ती सोझा साझा राउटे बस्तीमानै आघात पुग्ने गरि राउटे युवतीहरु माथी होटल ब्यबसायीले गरेको यौन दुव्र्यवहार, अश्लील भिडियो बनाई सामाजिक संन्जालमा राखेकोले राज्य मानव अधिकारकर्मी, विभिन्न सामाजिक संघ संस्थाहरु लगायत आम मानिसलाई  चिन्ताको बिषय बनेको छ, यतिसम्म गिरेर राउटे जातिमाथि यौन हिंसा गरेका छन् । ती राउटे युवतीले न्याय पाउँछन् कि पाउदैनन् ? अपराध गर्नेले कडा सजाय पाउँछन् कि पाउँदैनन् भनेर । 
अबका दिनमा उक्त समुदायको संरक्षणका लागि कानुनी सचेतता कार्यक्रम र उक्त समुदायको सुरक्षाका लागी दह्रो सुरक्षाको ब्यवस्था गर्नुपर्ने देखिन्छ ।
हरेक काम कुरा गरिनु पूर्वको पहिलो सर्त हो सुरक्षा  । सामाजिक सुरक्षा भत्ता दिएर संरक्षणको सुचिमा रहेका जातिलाई परेको त्यो दुखद घटनाको छिटोभन्दा छिटो छानबिन र कानुनी रूपमा कडा कार्वाही होस् । आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन सुरक्षाको सतर्कता बढाउन समेत पहल होस् । राउटे नागरिक हुन्, तिनका लागि राज्य छ भने देखिने यस्तै बेलामा हो ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper