banner
banner

सुसेली मञ्च नेपालको चौधौं कार्यक्रम

 राष्ट्रिय सुसेली मञ्च नेपालले यही २०७८ जेठ १५ गते शनिबार चौधौं अनलाइन स्वतन्त्र सुसेली गायन तथा रचना वाचन कार्यक्रम सम्पन्न गरेको छ । सुसेली मञ्चका संस्थापक तथा सुसेली विधाका प्रवर्तक दुर्गा अधिकारी भमरकोटेको संयोजन तथा सभापतित्वमा संचालन भएको उक्त कार्यक्रमको संचालन कवि साहित्यकार, सुसेली विधाकी अभियन्ता तथा नोवेल साहित्य संस्थाकी सचिव सुशीला ढकाल अधिकारीले गर्नु भएको थियोे भने कार्यक्रमको प्रमुख आतिथ्य नेपाल प्रज्ञाप्रतिष्ठानका काव्य विभाग प्रमुख हेमनाथ पौडेलले गर्नुभएको थियो । सुसेली गायन र रचना वाचन कार्यक्रममा सरिक ४२ जना कवि साहित्यकारहरूले त्रिपदीय नेपाली लोकलय, भजन र दोहोरीका लयमा लोकतन्त्र, देशप्रेम, राजनीतिक व्यंग, समसामयिक बिषयमा सुसेली गायन सहित कविता, मुक्तक, उदक, गजल,कोपिला, खोरिया लगायतका विधामा रचना गरि गाउनु र वाचन गर्नु भएको थियो । कार्यक्रममा प्रमुख अतिथि हेमनाथ पौडेलले नेपाली मौलिकता बोकेको सुसेली कार्यक्रममा पहिलोपटक सहभागी भएर सुसेली गायन तथा वाचन सुन्न पाउँदा अत्यन्तै हर्षित भएको जनाउँदै सुसेली विधामा हाम्रो मौलिकता, पौराणिकता, ऐतिहासिकता रहेकोले म सुसेलीको मुक्तकण्ठले प्रशंसा गर्दछु भन्नुभयो । जुनसुकै साहित्य विधाले पनि समाज रुपान्तरण गर्न सहज बनाउने हो । यसमा सुसेली जस्तो लोकप्रिय विधाले जनमानसको अन्तरआत्मा सजिलै छुन सक्ने विश्वासका साथ सुसेली मञ्चसंग सहकार्य गरेर नेपाल प्रज्ञाप्रतिष्ठानले सुसेलीको राष्ट्रिय कार्यक्रम गर्न सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । नेपाली पौराणिकताका धेरै कुराहरू हाम्रा आफ्नै हुँदाहुँदै पनि हामीले पहिचान गर्न नसक्दा विदेशी पहिचानबाट नै अगाडि बढिरहेको हाम्रो अवस्था छ । अब यस्ता कुराको निराकरण गर्न ढिलाइ गर्न नहुने उहाँको राय थियो । आफै स्वयं काव्य विभाग प्रमुख रहेको नाताले पनि यो कविताको लघुतम लोकप्रिय विधालाई अघि बढाउन निरंतर लागि पर्ने वचन दिनुहुँदै सम्पुर्ण सहभागी कविहरूलाई धन्यवाद भन्दै रचनात्मक कार्यमा निरंतरताको शुभकामना दिनुभयो । कार्यक्रममा विशिष्ट अतिथि डाक्टर बमबहादुर थापा जितालीले नेपाली त्रिपदीय लोकलयको सुसेली विधा छोटोे समयमा नै स्थापित हुँदै आएकोमा खुसी व्यक्त गर्नुका साथै नेपाली पनको यो लोकलय धेरै पुरानो भएको कुरा आफुले विभिन्न पुस्तकमा प्रमाणित गरिसकेको बताउनु हुँदै नेपालमा प्रचलित ६ वटै ऋतुको बर्णनात्मक सुसेलीहरू गाएर सुनाउनु भएको थियोे । अर्का विशिष्ट अतिथि शैलेन्दुप्रकाश नेपालले यो लघुतम विधा सुसेलीलाई अगाडि बढाउन सघाउने सबैलाई धन्यवाद दिँदै लोकभाखामा हाइकु गायनबाट सुरु भएको यो विधामा आफैं पनि निरंतर लागिरहेको र स्कुल कलेजका पाठ्यक्रममा अब चाँडै यो विधाले प्रवेश पाउने कुरामा आशावादी रहेको बताउदै सुसेलीमा आउँदै गरेको निखारताप्रति खुसी व्यक्त गर्नुभयो । १७ अक्षरका मन्त्र जस्तै रहेको सुसेलीका माध्यमबाट मनका भावनालाई तुरुन्तै सिर्जनाको माला उनेर प्रस्तुत गर्न सजिलो भएतापनि पहिलो र तेस्रो हरफमा अनुप्रास भएका सुसेलीहरू उत्कृष्ट देखिएको र सोही अनुसार रचना गर्न सुझाव दिँदै आफुले रचना गरेका समसामयिक सुसेलीहरू पुर्वेली लयमा गाएर सुनाउनुभयो । अर्का विशिष्ट अतिथि तथा कार्यक्रममा सुसेलीका कुरा सुसेलीमा गर्ने जिम्मेवारी बहन गर्नुहुने कवि डिल्लीप्रसाद मुलतिहुनले कार्यक्रममा गाइएका सुसेली तथा वाचन भएका रचनाहरूमा सुसेलीकै लयमा सुसेलीका कुराहरू गर्दै यो सुसेली विधाले छोटो समयमानै धेरै अगाडि बढ्न सफल भएकोमा खुसी व्यक्त गर्दै शुभकामना दिनु भयो । हामीले सुसेलीको कार्यक्रममा प्रस्तुत रचनाहरूलाई समीक्षा नभनी सुसेलीका कुरा सुसेलीमा भन्दै नयाँ प्रक्रियाको थालनी गरेका छौँ । नयाँ र प्रभावकारी ढंगको समिक्षालाई प्रमुख अतिथिबाट भएको प्रशंसाको लागि धन्यवाद दिनुभयो । यसरी प्रमुख अतिथि लगायत तीनजना विशिष्ट अतिथि सहित ४२ जना अतिथि कवि साहित्यकारहरूलाई कार्यक्रममा स्वागत गर्न पाएकोमा आफुलाई खुसी लागेको र नेपाल प्रज्ञाप्रतिष्ठानले सुसेली विधाको उत्थानमा अगाडि बढाउन सहकार्य गर्ने प्रमुख अतिथिको प्रतिबद्धताले सुसेली अभियानलाई निरंतरता दिन हौसला मिलेको र जुनसुकै साहित्य विधाबाट भएपनि सिर्जना गर्दै भाषा र साहित्यको सेवा गरि जनचेतनामुलक कार्य सबै साहित्यकारहरूले गर्नुपर्ने कुरा बताउँदै लाहुरे गोपालको कहानी शिर्षकमा सुसेली प्रस्तुत गर्दै हरेक महिनाको तेस्रो शनिबार दिनको ३ बजे सुसेली गाएन तथा रचना वाचन कार्यक्रमलाई निरंतरता दिदै जाने निर्णय सहित कविहरूका सुसेली तथा रचनाहरू उत्कृष्ट रहनुका साथै राम्रोसँग कार्यक्रम सफल गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिदै जय सुसेलीको गुन्जाहटका साथ सभापति दुर्गा अधिकारी भमरकोटेले, कार्यक्रमको समापन गर्नु भयो । कार्यक्रममा उपस्थित सहभागी कवि साहित्यकारहरू निम्न अनुसार हुनुहुन्छ । कवि सीता विष्ट कार्की, लक्ष्मीप्रसाद मिश्र, सुरेशचन्द्र घिमिरे, उत्तम बिचार भेटुवाल, आर्त अकुलीन, चन्द्रा न्यौपाने, दामोदर ढकाल दिपक, निर्मलरमण पराजुली, द्वारीका कुईकेल, सुधा बास्कोटा ढकाल, रवीन्द्र आशिष शैली, उर्मिला पन्त, चन्द्रावती अधिकारी, टंकध्वज थापा, मानन्धर अभागी, सीता अधिकारी पाण्डे, धरणीधर गुरागाँई, प्रेम वली ढाकलपुरे, खगेन्द्रप्रसाद बस्याल, गिरिराज सुवेदी, निर्मला गौतम, जनार्दन अधिकारी, घनश्याम पौडेल, भवानी मैयाँ पन्त, रेणु घिमिरे, संगीता ठाकुर, केशव ढकाल, शारदा आचार्य, जानुका थापा, मौनता थापा, अम्बिका थापा,कल्पना देवकोटा, दिवाकर भट्टराई, सुशील आचार्य, पवनकुमार बुढाथोकी, ठाकुर शर्मा भण्डारी । केही सहभागी कवि साहित्यकारहरूले उहाँहरूकै समयाभाव र प्रविधिका कारण आफ्ना रचनाहरू प्रस्तुत गर्न असमर्थ रहनु भएको थियो ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper