banner
banner

अस्मिता- देशको सांस्कृतिक र राजनीतिक ऐना

मनोजराज सुवेदी- - - 
डा.के.आर.दाहालको उपन्यास अस्मिता वि.सं. २०७७ माघमा प्रकाशनमा आएको छ । अध्ययन, अनुसन्धान र अध्यापनमा संलग्न दाहालको पहिलो उपन्यास भएर पनि निकै गतिलो र खँदिलो छ । यस उपन्यासमा उनले हाम्रै समाजका प्रतिनिधि घट्नाहरूका साथसाथै नेपाली राजनीतिको खासगरी वि.सं. २०४६ सालपछिका विकृति, विसंगति र चरित्रहरूको यथार्थ पक्षहरूको बारेमा रोचक शैलीमा वर्णन गरेका छन् ।
नेपाली साहित्यमा आधुनिक उपन्यासको जग उपन्यासकार रूद्रराज पाण्डेको उपन्यास ‘रूपमती’ लाई मानिन्छ । भनिन्छ, साहित्य लेखनको शुरूवात धेरैले कविता विधाबाट गर्दछन्, लेख्न सजिलो र छोटो पनि । उपन्यास विधा, कथा, कविता लेखनको तुलनामा कठिन हो । एउटा राम्रो उपन्यास तयार पार्नु कुनै घटना, पात्र एवम् परिवेश सबै कुराको उचित संयोजन हुनुपर्दछ । करिब २ वर्ष भन्दा वढी समयदेखि निरन्तर मिहिनत र अध्ययन गरेर ३५२ पेजको बाक्लो उपन्यास अस्मिता पस्केर नेपाली साहित्य भण्डारमा डा. दाहालले ठूलै गुन लगाएका छन् । 
‘अस्मिता’ उपन्यासको अन्तिम अंशमा लेखिएको छ– ‘पिंकलाले झोलाबाट दुईटा साना पुिस्तकाहरू ‘सत्य बचन’ र ‘पवित्र बचन’ झिकिन् । दौडेर कौशिकी नदीको किनारामा पुगिन् । ती पवित्र नदीको पानी अँजुलीले उभाइन् । शिरमा छर्किन् र आफंूलाई चोख्याउने चेष्टा गरिन् । अनि ती पुस्तिका नदीमा बगाइदिइन् । उनी बग्दै गरेका ती ‘सत्य बचन’ र ‘पवित्र बचन’ लाई हेर्दै थिइन् । तल पुगेर कुनै ढुङ्गामा अड्किएर केहीबेर रोकिए, ल्यात्त भिजे र पानीमा मिले । पिंकलाको दिमाग पखालियो । शायद ती पुस्तिकाले पनि पवित्र कौशिकी नदीमा बग्न पाएर योलोकबाट मुुक्ति पाए होलान् ।’ यसबाट थाहा हुन्छ यो उपन्यासको गहिराई कति छ (भूमिका बाट, राजन कार्की, २०७७) ।
एउटा प्राध्यापक जसले हरेक दिन ज्ञान दिइरहेको छ, ऊ बढी मान्छे हो । मान्छेभित्र स्वभाविक रूपमा कमी कमजोरी हुन्छन् । ती कमजोरीलाई किनारा लगाएर उपन्यासकारले आफ्नो घर, आफ्नो समाज, आफ्नो राष्ट्र र सारा विश्वलाई उपन्यासबाट ज्ञान छरेका छन् र त्यहाँ आफ्नो संस्कार, संस्कृतिको कुनै तोड छैन । उपन्यासको निथार यही हो (भूमिका बाट, राजन कार्की, २०७७) ।  
उपन्यास पढ्दै जाँदा सोवर्नी गाई, देवर भाउजुको कुराकानी अलिक लामो भएको हो कि भन्ने भान पर्दछ । हुन त उपन्यास विधा वास्तविकताका साथै कल्पनाशीलताको उपज भएर पनि होला, कथाबस्तुलाई रोचक बनाउन खोज्नु सान्दर्भिक नै देखिन्छ । उपन्यासमा खासगरी ईसाई धर्म फैलनु र हिन्दूधर्म खस्कुनुलाई राम्ररी उजागर गरेको पाइन्छ । धर्म परिवर्तन गराउनका लागि ईसाई धर्म मान्नेहरू मरिमेटेर लागेका र हिन्दूहरू त्यसलाई टुलुटुलु हेरेर बसेका छन् । यसै प्रसंगमा पुस्तकमा वर्णन गरिएकी पिंकला नामकी एउटी पात्र अत्यन्त संकटमा परेको कुरा उनका इसाई धर्म मान्ने साथिहरूलाई थाहा हुन्छ र सहयोगका लागि उनीहरू आउँछन् । सहयोगी हातहरू पसार्छन् र केही आर्थिक सहयोग पनि गर्छन् । उनले उनीहरूको सहयोग सहश्र स्वीकार्छिन् । तर अन्तमा रोगको निदान भनेको बाइबल हो, प्रभु भनेका दुःख हरण गरिदिने एक मात्र औषधि हुन् भन्दै पिंकलाको हातमा बाइबल थमाई दिन्छन् । फलत ः त्यसैदिनदेखि उनी बाइबल पढ्ने र ईशुलाई जप्ने गर्न थाल्छिन् । अन्तमा उनको जीवनमा ठूलै कायापलट हुन्छ । उनी मन्त्री बन्न पुग्छिन् र जव मन्त्री बन्छिन् त्यसैबेलादेखि हिन्दू धर्मतिर फर्कन्छिन् । लेखकले यसरी वर्णन गरेका छन् । यो सवल पक्ष हो ।
त्यस्तै देशमा व्याप्त घुस, भ्रष्टाचार र कुशासनको कुरा उपन्यासले छर्लङ्ग पारेको छ । राजनीतिमा अत्याधिक विकार छ, इमान्दार कार्यकर्ताहरू पाखा लागेका छन् र आसेपासेहरू पदमा पुगेका छन् भन्ने यथार्थ यसले प्रष्ट्याएको छ । 
राष्ट्रियताको नारा लाउने नेताहरू पनि आफ्नै देशको सिमा मिचिंदा खुलेर बोल्न डराएको सत्यता उपन्यासले उजागर गरेको छ । यो पुस्तकले पुरानो गाउँले परिपाटी देखि लिएर वर्तमानसम्मको समाजको चित्रण गरेकोछ ।
पेज न.१५४ तिरको राजनीतिक कुराकानी रोचक छ र यथार्थपरक लाग्दछ भने पेज न. १७८ तिरको लेनिनग्राद वर्णन ज्ञानवर्धक छ । पेज २१३।१४ तिरको अस्मिता र क्यालिफोर्नियाका दाई बीचको  संवादले राजनीतिक चरित्र र दाउपेचको सजीव चित्रण गरेको छ ।
पुस्तकमा समाजमा विद्यमान वालविवाह, बहुविवाह, छुवाछुत प्रथा, छोराछोरीमा विभेद, दाइजो प्रथा जस्ता सामाजिक कुण्ठा उजागर भएको पाइन्छ । पढ्दै जाँदा कतैकतै यस्तो किन भयो ? कसरी भयो ? जस्तो कौतुहलता उठ्न सक्छ । तर समग्रमा यो उपन्यास हाम्रो समाजको सक्कली ऐना बन्न सफल भएको देखिन्छ ।
उसै त नेपाली साहित्यको बजार सानो छ । त्यसमाथि पढ्ने पाठकहरू अति कम र उपन्यास विधाका लागि एकाग्र भई समय दिने अझ कमै होलान् । प्रस्तुत उपन्यास पढ्दै जाँदा उत्सुकता र कौतुहलताले पाठकवर्गमा छिटै पढेर सकाउने हुटहुटी चल्नु अस्मिताको आकर्षण हो जस्तो लाग्छ । 
सोच, शैली र सम्पन्नताले जीवन जगत् हरेक दिन महाभारत बन्दै गएको छ । महाभारतको कथामा गर्भाधानको बीज एउटै थियो तर पाण्डु, धृतराष्ट्र, विदुर फरक फरक चरित्रका जन्मिए । पाण्डुका पाँचभाइ छोरा पाण्डव भाव, स्वभावमा भिन्न देखिए । धृतराष्ट्रका सयमध्ये सबै उस्तै उस्तै भए पनि दुर्योधन र दुशासन साह्रै उग्र हुनपुगे । हामी बाँचेको वर्तमान आधुनिकता र संस्कारको द्वन्द्वको कालखण्ड बनिसकेको छ । संसारको चित्र विचित्र हुँदैछ । हाम्रा सामु यो उपन्यासले उभ्याएको यक्ष प्रश्न हो– ‘हामी हाम्रो पहिचानको ‘अस्मिता’लाई बचाउने कि मर्न दिने (भूमिका बाट, राजन कार्की, २०७७ )  ?  
नेपाली राजनीति र समाजका सूक्ष्म घटनाहरूलाई केलाएर साँस्कृतिक पक्षसमेत समावेश गरी अथक साधना र प्र्रयासद्वारा मीठो प्रस्तुतिमा गहन उपन्यास पस्किनु भएकोमा उपन्यासकार डा. दाहाललाई धन्यवाद दिंदै अब आउने नयाँ कृतिको लागि अग्रिम शुभकामना ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper