banner
banner

०१७ साल किन आएछ ?

स्वयम्भुनाथ कार्की - -
सत्रसालमा निर्वाचित मन्त्रीमण्डल अपदस्त गरेर निर्दलीय व्यवस्था लागु गर्दा राजा महेन्द्रले दलीय व्यवस्थालाई केहि आरोप लगाएका थिए । त्यस घटनाको ६० बर्ष पछि यी आरोपहरूको बारेमा जनमानस के भन्छ ? के यी बित्थाका फत्तुर थिए, सहि आरोप थिए वा प्रजातन्त्र या लोकतन्त्रका विषेशता थिए जसलाई उनले सहन गर्न सकेनन् ? वर्तमानले मूल्यांकन गर्न पाउनु पर्छ । तर यी आरोपहरू के के थिए भन्ने तिर युवापुस्ताको ध्यान जानै दिइएको छैन । पञ्चायतकाल भरी नै पञ्चायती राजनीतिको र व्यवस्थाको वारेमा जानकारी दिने राजनैतिक बिषय ‘पञ्चायत’ अनिवार्य पढनु पर्दथ्यो । यसले गर्दा प्राथमिक पढेकाहरूलाई पनि कुनै तहले ठिक काम गरेको छ वा छैन जानकारी हुन्थ्यो ।
छयालिसको परिवर्तन पछि एकाएक पञ्चायत उल्लेख भएका सबै सामाग्री एकाएक हराए । व्यक्तिहरूसँग भएका पनि विभिन्न कारणले नासिदै गए । रोचक कुरो त यो छ कि ४ सालको लागु हुन नसकेको संविधान लगायत नयाँ पुराना सबै कागजात सरकारी वेभ साइटमा डाउनलोड गर्न मिल्ने गरेर उपलव्ध छन्  । पञ्चायत कालका संविधान लगायतका कुराहरूको नाम भने छ तर न त्यहाँ पढन पाईन्छ, न डाउनलोड गर्न नै । यी किन यसरी हराए ? लुकाइयो ?
जो नयाँ पुस्ता तैयार भयो जो नेपालको प्राचिन, मध्यकालिन र आधुनिक इतिहास त ऐतिहासिक सामाग्रीको अध्ययनले जान्न सक्छ तर पञ्चायको तीस बर्षको बारेमा सुनेको भरमा राय बनाउनु पर्दछ । राम्रो होस वा कलंकित होस नेपालमा त्यो तीस बर्ष थियो र यसले कुनै न कुनै किसिमको प्रभाव पारेकै थियो । गाली नै गर्न भएपनि ती तीस बर्ष नेपालले आफुबाट अलग गर्न सक्दैन भने यो अलग गर्ने प्रयत्न किन भयो ? कठिनताले उपलब्ध सामाग्रीको सहारामा केही कुराहरू उजागर गर्ने यो आलेखको प्रयत्न हो ।
राजनैतिक दलहरूबाट जनता दिक्क भएको कारणहरू बारेमा त्यसबेला यस्तो  दिइएको थियो । 
· प्रतिदिन एक नयाँ दल खडा हुन्छन् ।  (अलि अतिशयोक्ति जस्तो लाग्छ त दलहरूको गठन तिव्र भएको भने हुन सक्छ )
· एक अर्काको खुट्टा तान्ने गरेर दल फुटेर अनेकौ समानान्तर दल खडा हुन्छन् ।
· नेताहरूको केवल मिठा भाषण र समर्थक कार्यकर्ताहरूको रूचिकर र उग्रनारा  तर काम शुन्य हुन्छन् ।
· बर्षातका च्याउ सरी उम्रेका यस्ता दलहरूको जनजीवन सँग कुनै सम्वन्ध रहेको हुँदैन । केहिको समुह मिल्यो दल भै हाल्यो ।
· जनता आफ्ना सपना, आकांक्षा र अभिलाषा लिएर बस्ने अनि नेताहरू भाषण, शासन र आसन समर्थकहरू कोटा, ठेक्कापट्टामा व्यस्त हुने गरे । जनताको यो आशा चुरचुर हुदै गयो ।
· आफ्नो प्रभाव जमाउन जनता रिझाउनु गौण भयो, पैसा महत्वपूर्ण भयो जो कमाउन विदेशी शक्तिको सामुन्ने घुँडा टेकेर हात थाप्न पनि दलहरूलाई संकोच भएन ।
· यस्तो अवस्थामा बिकृति पैmलियो जसले समाजमा द्वेश, फुट,  कलह पैmलिएर गुटवन्दीले बल पायो । यसले सामाजिक स्थिति धमिलिएर साम्प्रदायिकताले मौलाउन थाल्यो ।
· विकासको काममा तानातानीले बाधा पु¥याउन थाल्यो, आर्थिकलगायतका समष्ठि विकास ठप्प हुने परिस्थिति बन्यो ।
यो सहि थियो वा गलत त्यसमा सबैको आआफ्नो विचार र धारणा हुन सक्छ ।  यसका कतिपय कुराहरू वर्तमान अवस्थालाई देखेर उल्लेख गरे जस्तो पनि कसैलाई लाग्न सक्छ । ६ दशक पहिले राजा महेन्द्रले नेपालमा गणतन्त्र आउने कल्पना त के, दलीय पद्धति फिर्ता हुने संभावना पनि देखेका थिएनन् । त्यसैले यी कुराहरू वर्तमानलाई लक्ष गरेर भनिएका हैनन् ।
चाहे बलपूर्वक मनाइएको होस् चाहे जनताले मनन गरेर होस त्यो पिढीका जनताले यो कुरा पत्याई दिए । संघर्षका प्रतिरूप भएका कयौ वृद्ध नेताहरूको कुरामा यसको उल्लेख आउने गर्दछ  । त्यो पिंढीले आफुलाई साथ नदिएको तर सहानुभूति भने दिएको कुरा यस्ता जेलनेल खपेका संघर्षमा तपेका नेताहरू सुनाउने गर्दछन् । 
हिजो राजा महेन्द्रले लगाएको आरोप आज त्यहि पिंढीले लगाउदै छ जसले राजसंस्थालाई गाली गरेको थियो । पञ्चायतलाई कालरात्री भनेको थियो । कुरो लुकाएको कुनै लाभ भएन । त्यही मुखहरू जसले राजतन्त्रलाई गाली गरेका थिए विस्तारै भन्दैछन्, संसारमा इशाई राजा हुन हुने, इस्लामी राजा हुन हुने तर सनातनी राजा किन हुन नहुने ? यो प्रश्न उम्मेद्वार प्रष्ट नदेखिएको अहिलेको वेला गौण होला तर सधै गौण नै नरहन पनि सक्छ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper