banner
banner

महामारीमा पनि खेला“ची गर्ने ?

देवी काफ्ले- - 
संसार कोरोनाको महामारीले आक्रान्त भइरहेका बेला हामी नेपालीले भने यसलाई मजाकको रूपमा लिइरहेका छौं । हामीले जानेकै कुरा हो ‘कुनै पनि रोग लागेपछि उपचार गर्नु भन्दा पहिले त्यसलाई आउनै नदिँदा धेरै सुरक्षित भइन्छ’ (उचभखभलतष्यल ष्क दभततभच तजबल अगचभ) तर पनि हामीले खेलवाड गरेकै छौं । जुन लापरवाहीले कतिबेला जीवन नष्ट हुन्छ र मलामी पनि नपाउने अवस्था हुन्छ थाहा छैन । दैनिक बढ्दो संक्रमणले अस्पतालमा बिरामीले बेडको बिरामी मर्ला र आफूले बेडमा सहज उपचार पाउँला भन्ने बेला आएको छ । यो दोस्रो पल्ट फेरि मडारिएर आएको छ । पहिलो पल्ट आएको कोभिडले दीर्घ रोगी, वृद्ध र कमजोरलाई निशाना बनाएको थियो भने दोस्रोले युवा, बालबालिका, वृद्ध सबैलाई मान्द्रेमेसोमा घासघुस पारेको छ । सजग रहनु नै आफू बाँच्ने र अरूलाई बचाउने उपाय हो ।
पहिलो कोभिडले चीनलाई सतायो, ईटाली ध्वस्त पा¥यो अनि स्पेनलाई खाडलमा जाक्यो । अमेरिकाले घमण्ड देखाउँदा तिव्र वेगमा मृत्यु उपहार दियो । बेलायतमा पनि लापरवाही गर्दा प्रधानमन्त्रीलाई समेत समातेको थियो । अहिले विश्व नै त्राहिमाम छ ।
यस्तो  अवस्थामा पनि हामी नेपाली यो महाविपतलाई किन हल्का रूपले सोंचिरहका छौं ? हाम्रो अवस्था कस्तो छ ?
जाँच गर्न अस्पतालमा डाक्टरलाई आवश्यक सुरक्षा साधन छैनन् । कसरी स्वास्थ्यकर्मी खटेका छन् ? उनीहरू आफ्नो जीवन नै बन्दुकको नालमा राखेर बिना हतियारका लडाकु बनेर लडेका छन् । हामी घरबेटीले उनै स्वास्थ्यकर्मीलाई भाडामा पनि बस्न नदिएर अमानवीय व्यवहार गरिरहेका छौं । अक्सिजन छैन । डाक्टर आफै संक्रमित भैरहेका छन् । अस्पतालमा प्रयाप्त बेड छैनन् । आज सबैभन्दा बढी संक्रमितको हटस्पट भारतसँग सीमा जोडिएका नेपालगन्ज लगायत तराईका जिल्ला तथा प्रमुख शहरहरू बनेका छन् । साथै राजधानी काठमाडौ सहित उपत्यकाका तिनै जिल्ला उच्च जोखिममा परिसकेका छन् ।
दैनिक मृत्यु र संक्रमितको संख्या उच्च रहेको समाचार सुन्दासुन्दै पनि हामी आफैलाई नियन्त्रण गर्दैनौ । भोजभतेर, विवाह, पूजाआजा आदिमा सहभागिता जनाएकै छौं । सरकारमा रहेका र सरकार बाहिर रहेका दलीय नेताहरू कुर्सी र सत्ताको खेलमा कसका सदस्य वा समर्थक धेरै भनेर भिड जम्मा गर्ने घिनौना खेलमा लागे । त्यो बेला न सरकारले वास्ता ग¥यो न बिपक्षी नेताहरूले वास्ता गरे । भीड जम्मा गर्ने र कोभिड निम्त्याउने नीच खेलमा जनता पनि विशुद्ध रहन सकेनन् । कोभिडले महामारीको रूप लिनु हाम्रो देशको हकमा यो पनि एउटा प्रमुख कारण हो । नेतृत्वको स्वार्थी लीलामा आफ्नो स्वास्थ्यको प्रवाह नै नगरी भीडमा कोचिएर सहभागिता जनाउन कुद्नु कति मुर्खता थियो? आमसभा भन्दै सयौं गाडी, भत्ता, खाजा खर्च सहित भीड जुटाउन सक्ने सरकार र बिपक्षीहरूले आज अस्पतालको निरीहपनमा मलम लाउन सकेका छन् त ?
प्रदेश, स्थानिय सरकारको बिकासे बजेट फ्रिज बनाउनेहरूले त्यहि बजेट जिल्ला जिल्लामा, नगर, गाउँपालिकाहरूमा कोभिड उपचारका लागि व्यवस्थापन गरिदिएको भए सहज उपचार त पाउने थिए ।
संसारभरका सरकार प्रमुखहरूले दिनदिनै जसो जनताको नाममा वक्तब्य निकालेका छन् तर हामी अभिभावक बिहीन जस्ता भएका छौं । सरकार त कुर्सी खेलमा व्यस्त छ । सरकार आफै अस्पतालले थेग्न नसक्ने भयो भन्छ ।
सिंगापुर, न्युजिल्यान्डले कोभिडलाई कसरी कन्ट्रोल गरेका थिए ?
हुनत भौगोलिक अवस्था, खुला सिमाना, रोजगारीको केन्द्रबिन्दु भएका कारण पनि नेपालले रोक्न नसकेको होला । दुईचार केश देखिनासाथ सिंगापुर, न्युजिल्यान्ड, भियतनामले पुर्णरूपमा आफ्नो राष्ट्रलाई लक डाउनमा राखे । उडान बन्द गरे । सिमा सिल गरे । जनताले पनि स्वास्थ्यप्रति चेतनशील भएर उत्ति नै साथ दिए । नेपालमा शायद यो असम्भव होला । जनताले पनि टेरिरहेका छैनन् ।
   नागरिक अनुशासित भइदिए देश सुशासित हुन्छ । नागरिक नै अनुशासनहीन भएपछि सरकारको केही लाग्दो रहेनछ । न्युजिल्यान्डले गरेको लकडाउनमा नागरिकले पूर्ण साथ दिए । फलतः अहिलेसम्म कोभिडबाट जनताको मृत्युदर कम गर्न सकेको छ । नेपाल महामारीमा परिसक्दा पनि चेतेको देखिदैन ।
हामी नेपालीले अनुशासनको पालना गर्नै बिर्सेका रहेछौं । यस्तो कठिन घडिमा आफै बाँच्नको लागि पनि केही दिन घरमा बस्न सक्दैनौं ? हरेक बहाना बनाएको छ, कर्फ्यु देखि पनि डर छैन, नेपाल बन्द गर्दा बेलुका पाँच बजेदेखि खुला गर्ने एउटा नियम बनेको थियो त्यस्तै गरि रोगलाई पनि नेपाल बन्द ठानेर गल्ली चोकहरूमा हङ्गामा गरिरहेका छौं, सरकारलाई छलेर भीडभाड गरिरहेछौं ।
सबै कुरा सरकारले गरेन भनेर बाह्र हात उफ्रने हामी नागरिकको कुनै दायित्व छ कि छैन ? विपदको बेला एक छाक खाएर पनि टार्न सक्नुपर्छ । त्यो पनि आफ्नै जीवन बचाउनको लागि केही बेर कष्ट गर्न सक्नुप¥यो नि । सरकारले लगाएको नियम पालना गर्न सक्दैनौं भने कस्ता नागरिक हामी ?
आशा छ यहाँ कोरोनाले विकराल रूप नदेखाउला । जनतालाई सरकारको आदेश पालना, स्वास्थ्य सावधानी र आत्मरक्षा कसरी गर्ने भन्ने बखुबी जानकारी छ । हामी आफै सजग भए, हामीले पनि नियम उल्लंघन नगरे कोरोनाको महाविपतलाई किनारा लगाउन सकिन्छ । उपचार हाम्रै सजगता हो ।
भौगोलिक विकटताका कारण सरकारले प्रत्यक्ष व्यवस्थापन गर्न नसक्ला । त्यसैका लागि स्थानीय सरकार बनाएको हो । स्थानीय सरकारलाई पनि झक्झकाउनु पर्छ । हिजो अंग्रेजसँगको युद्धमा लडाइँ गरेका नेपालीले देश रक्षाका लागि पानी पनि नखाई लडेर युद्ध जिते । आज हाम्रो शत्रु बनेर आएको कोरोनासँग त हामी घरभित्र बसेर लड्ने हो लडौं न । किन हामी अनुशासनहीन भइरहेछौं ?
एक छाक नखाएर र एकछिन बाहिर नडुलेर हामीे मर्दैनौ तर कोरोनाले थिच्यो भने ? जीवन रहदैन । बाँच्ने कि मर्ने, निर्णय हाम्रै हातमा छ ।
  सरकारले पनि अर्थतन्त्र, राजनीति यताउता नहेरी नागरिकको सुरक्षामा ध्यान देओस् । कमाउने, कमिसनतिर ध्यान नजाओस् । हाम्रो सेवामा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलाई प्रोत्साहित गरौं । हतोत्साहित नपारौं । एकअर्कालाई सहयोग गरौं, सुरक्षा कवच अपनाऔं । कोरोना भगाऔं । आफू पनि बाचौं अरूलाई पनि बचाऔं । तीन तहका सरकारका खर्चहरू कटौति गरेर अस्पताल, अक्सिजन, उपचारको प्रवन्ध गरौं । जहाँ इच्छा, त्यहाँ उपाय, गर्न सकिन्छ ।
 

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper