banner
banner

महाविपत मिलेर सामना गरौं

अधिवक्ता गंगा दहाल–
कोरोना भाइरस कोभिड–१९ का कारण अबका दिनमा भयावह परिस्थितिको सामना गर्नुपर्ने आँकलन गर्न थालिएको छ । संक्रमितहरूको संख्या दिनानुदिन बढ्दै गइरहेको र मृत्यु दर पनि त्यसैगरी बढ्दै गएको अवस्था छ । यसरी फैलिन थालेको भयावह परिस्थितिलाई कसरी उचित ब्यबस्थापन र नियन्त्रण गर्न सकिन्छ भन्ने कुरामा सबै तह तप्काको ध्यान केन्द्रित हुन जरूरी छ ।
राजनैतिक कटुतालाई बिर्सिएर अहिलेको परिस्थितिमा जुट्न अति आवश्यक छ । जनता पनि यही चाहन्छन । दिनदिनै सरकारी नतिजाले संक्रमण महाविपत बनिरहेको छ । समस्याको आगमन खुला सिमाना देखिन्छ । संक्रमण बढ्नु हामी नजताले स्वास्थ्य अनुशासन पालना नगर्नु पनि जिम्मेवार छ । भारतमा कोरोनाको संक्रमण भयावह बन्नु र भारत नेपाल सिमानाबाट आवतजावत बढ्नुले नेपालमा कोरोना अनियन्त्रित हुनथालेको हो । सुरक्षा निकायको कमजोरीले बिभिन्न जिल्लामा आवतजावत बढ्नु र अपनाउनै पर्ने साबधानीका उपायहरू अवलम्बन नगरी लापरबाही, खेलाँची गर्नाले पनि कोरोना भाइरस समाजमा फैलिदै गएको हो । कोरोना महामारीलाई रोकथाम तथा नियन्त्रण गर्न अहिलेको अवस्थामा प्रशासन र राजनीतिक नेतृत्व सबै एकजुट हुनैपर्छ । निषेधाज्ञा नियन्त्रणको एउटा बाटो हो भने जनतामा बढ्नैपर्ने संचेतना अर्को पाटो  हो ।
समाजमा संक्रमण फैलिसकेको छ । डाक्टरहरू सतर्क भएनौं, संक्रमण रोक्ने उपायहरू अवलम्बन गरेनौं भने छिमेकी देश भारतमा जस्तो महामारीको अवस्था आउन सक्छ भनेर चेतावनी दिइरहेका छन् । यो अवस्थामा सरकारले उचित ब्यबस्थापन गर्नको लागी हदैसम्मको तयारी गर्न जरूरी देखिन्छ । अस्पतालले संक्रमितको भीडलाई थेग्न नसक्ने भो भन्दै सरकार पछि हट्न सक्दैन ।
सरकारबाट जनताले भरपर्दो आश्वस्तता खोजिरहेका छन् । यस विकट परिस्थितिमा  सरकारले जनोपयोगी कार्यमा आफूलाई देखिने गरी प्रस्तुत गर्नैपर्छ । सबै खाले नेतृत्वतहले पनि जनताप्रतिको जवाफदेहीता लिनैपर्छ ।
स्वास्थ्यसेवाको अवस्था अहिले दयनीय बनिसक्यो । नियमित उपचार दुर्लभ छ, अस्पतालहरूमा अहिलेनै बेडको अभाव खड्किएको छ । यो कदापि राम्रो होइन । सरकारले कोरोना अस्पताल र सामान्य बिरामीको अस्पताल छुट्याइदिनुपर्छ । सामान्य बिरामीलाई पनि छिःछिः दूरदूर गर्ने र कोरोना बिरामीमाथि हदैसम्मको अमानवीय व्यवहार गरेको पनि देखिन्छ । बिरामी जो पनि हुनसक्छ । जसलाई पनि कोरोनाले आक्रमण गर्नसक्छ । कसरी कोरोनाको कहरबाट पार पाउने हो, भन्नेतिर सजगता व्यापक पार्नु जरूरी छ । उपचार सर्वसुलभ गराउनै पर्छ ।
कोरोना समाजमा फैलिन नदिन नागरिक स्वयम् सचेत नभई हुन्न । 
कोरोनालाई हेपेर लापरबाही अटेर गरेर टोल गाउँ, शहरबजारमा जसरी मानिसहरू निस्किरहेका छन् । यो कोरोनाको प्रकोप निम्त्याएको हो । यो काल बोलाएको हो । हेपेर कोरोना भाग्दैन, कोरोनाले टेर्ने वाला पनि छैन । मास्क लगाउने, हात धुने, सामाजिक दूरी कायम गरेर अति जरूरी काम बाहेक घरबाहिर ननिस्कनु नै कोरोनाबाट पार पाउने उपाय हुन् । यत्ति सामान्य ज्ञान दोस्रो चरणमा फैलिएको कोरोनाको पाठ सबैले सिक्नै पर्छ ।  
राजनीतिक बर्गको नैतिकहीनता, जिम्मेवारीबाट पन्छिने प्रवृत्ति र शासन प्रशासनमा देखिएको– महामारीमा पनि भ्रष्टाचार र अनियमितता गर्नु अर्को दुर्भाग्य हो ।  समाजसेवा गर्नु र नागरिकको जीवनरक्षा गर्न खट्नु आजको आवश्यकता हो । हुनेले नहुनेलाई सहयोग गर्नु नै मानवीयता हो । मौकाको गलत फाइदा लिने जो कोही होस् कारवाहीको दायरामा उभ्याउनु सक्नुपर्छ राज्यले । अहिलेलाई पक्ष विपक्ष जो हुन्, महाविपतसँग लड्नका लागि जुटौं ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper