banner
banner

गाउ गाउमा ब्यापक भो बाल बाइबल

धर्मरत्न श्रेष्ठ - - 
कतिपय गाउँतिरका स्कूलमा राष्ट्रिय गान बज्न छाडेका छन् । इसुका गीत गाइन्छन् । प्रभू इसुप्रति नतमस्तक गराइन्छन् र प्रभूले विश्वासीहरूलाई मुक्ति दिनुहुन्छ भनेर कमलो मस्तिष्कमा छाप पार्ने प्रयत्न भइरहेका छन् । महेन्द्रले नेपालीलाई नेपालीपनले जोडेका थिए, लोकतन्त्रमा नेपाल प्रभू इसुका पाष्टरहरूले इसुमय बनाउने भए ।
गरीबका बालबालिकालाई चामलका साथमा बाल बाइबल, उपचार खर्च दिंदा बाल बाइबल, लुगाफाटो दिंदा बाल बाइबल दिइन्छ । मानांैं बाइबल र इसु भनेका महाप्रभू हुन् । जे गर्छन्, यिनै इसुले गर्छन्, हामीलाई सुख र शान्ति दिन्छन् ।
बालबालिका र ठूलाका लागि समेत बाइबल एपबाट पनि पढाउने गरिन्छ । यसको मूल उद्देश्य बाइबलको प्रचार हो । हिन्दु अथवा अन्य धर्मको आलोचना र अनास्था फैलाउने प्रयास हो । यी सबै कार्य भइरहेका छन्, सरकार छ तर हेर्दैन । अन्य धर्मावलम्बीहरू पनि छन्, उनीहरू वक्तव्य निकाले मौन छन् । ९५ प्रतिशत ॐकार परिवार यो सब देखेर पनि धर्मो रक्षति रक्षत भनेर बसिरहेका छन् ।
आफू अनुकूलको धर्म मान्न पाइन्छ । धार्मिक स्वतन्त्रता नै संविधानमा धर्मनिरपेक्ष लेखिनुको गुढार्थ हो । तर धर्मनिरपेक्षतालाई गलत प्रयोग गरेर हिन्दु र अन्य धर्म मान्नेहरूलाई लोभ र लालचमा पारेर, तिनको दिमागमा हिन्दुधर्म भनेको सामन्ती र शोषक, विभेद र निषेध गर्ने धर्म हो भन्ने अर्थमा अनास्था फैलाउँदै इसाइकरण गरिने कार्य तीब्र गतिमा बढिरहेको छ । यो धार्मिक द्वेष हो ।
यति साना साना बालबालिकाको दिमागमा यसरी पढाउन थालिएपछि तिनको दिमागमा राष्ट्रियगानको, राष्ट्रिय धर्म र एकताको बारेमा कस्तो प्रभाव पर्ला ? तिनले धार्मिक स्वतन्त्रता भनेको इसाइ धर्म मान्नु रहेछ भनेर अहिले देखि नै बुझ्न भए । कुनै पनि धर्मले अर्को धर्ममा यसरी अतिक्रमण गर्नु नाजायज छ । द्वेष र अनास्था फैलाउनु पनि अतिवाद नै हो । तर नेपालमा यो अतिवाद बढ्यो ।
हिजो भूकम्प जाँदा खाद्यान्नमा बाइबल बाँडियो, बाढीपहिरोको समयमा राहत बितरण गर्दा पनि बाइबल बाँडियो । सिमान्तकृत र गरिब समुदायलाई सहयोग गर्ने नाममा धर्म परिवर्तन गरिने कार्य भइरहेको छ । कोरोनाको मिसनमा पनि बाइबलको प्रचार भइरहेको छ । गरिबीको फाइदा उठाएर इसाइकरण भइरहेको यो कृत्य निन्दनीय छ । धर्मान्तरणको यो सिलसिला यहीँ रोकिनुपर्छ । प्रत्येक मान्छेले आफू अनुकूल धर्म मान्न पाउने स्वतन्त्रतामा यसरी हस्तक्षेप हुनुहुन्न ।
धर्मनिरपेक्षता भनेको इसाइकरणको लाइसेन्स होइन । हिन्दुवादीहरूले पनि यो सब क्रियाकलापका विरूद्धमा संगठित आवाज उठाउन जरूरी छैन र ?

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper