banner

सत्य, यो कथा लेख्न मन नै छैन

रमेश खनाल- - 
सत्य ! मलाई यो कथा लेख्ने मन नै छैन । न यस कथाको विषयवस्तु राम्रो छ । न कथाका पात्रहरू जीवन्त छन् । न यस कथाको कुनै अर्थ छ । के गर्नु यस्ता कथा लेखेर । यस्तो कथा लेख्न भनेको समय बरबाद पार्नु हो । भैगो भनेर मैले धेरै पटक दिमागबाट यो कथालाई लखेटी दिए । र अहिले विचार शुन्य छ । रिल्याक्स फिल गरिहेको छु । 
पहिले पहिले एकदिनमा दुइटासम्म कथा लेख्दथे । कथाको विषयहरू फालाफाल हुन्थे । तर अहिले एउटै कथा लेख्न महिनौ लाग्दछ । विषयगत जटिलताले फणि उठाएपछि कथा जटिल बन्दो रहेछ । कला सृजना पनि यस्तै हुन्छ । कस्तो सिर्जना गर्ने ? सृजना गर्छु भनेर घोत्लिएको महिनौ भइसक्यो । तर त्यो नयाँ सृजना भनेको के हो र कहाँ छ त्यो कुरा उसलाई थाहा छैन । तरपनि उ घोत्लीरहको छ । 
उसको स्टुडियोमा चित्रहरू हेर्न साथीहरू बराबर आउँछन् । उसका नविन चित्रहरू हेरेपछि साथीहरू भन्ने गर्छन् । “यो चित्रमा सल्भाडोर डालीको पुरा पूभाव देखिन्छ । डालीको प्रभावमा काम गर्नु पनि राम्रो हो । नेपालमा डालीको सरलियोलिस्ट शैलीमा मनुजबाबु मिश्र काम गर्नुहुन्थो । तर उहाँको प्रस्तुति प्रायः एउटै हुन्छ । डालीको जीवनीमाथि मन्थन गर । अनि तिमी डालीको शैलिमा पेनिङ्गहरू बनाऊ । तर ति पेन्टिङ्गहरूभित्र नेपाली माटो, हावा, पानीको गन्ध आउन सक्यो भने उत्तम हुन्छ । सिधै डालीको नक्कल ग¥यो  भने तिमी खत्तम हुन्छौ । अतः डालीको दर्शन बुझ र पेन्टिङ्ग बनाउ ।” 
साथीहरूको कुरा सुनेपछि उसले डालीको प्रभावबाट मुक्त हुने विचार ग¥यो । म किन डालीको भारी बोकेर हिड्ने भन्दै अघि बनाएका सबै चित्र लुकायो । त्यसपछि फेरी रन्थनियो, विषयमा । 
यसैबिच नेपाल आर्ट काउन्सिलमा मनिष महर्जनका चित्रहरू हेर्न पुग्यो । मनिषका चित्रहरू उसलाई मनप¥यो पनि मन परेन पनि । तर मनिषका चित्रहरूले मच्चाएको धार्मिक उथलपुथल उसलाई त्यति ठीक लागेन । उ आफ्नो हिन्दु धर्म वा बोद्ध धर्मको खिल्ली उडाएको हेर्न मन पराउँदैन । 
त्यसैगरि उसले अन्य युवा कलकारहरू हितमान गुरूङ्ग, जुपिटर प्रधान, मिना कायस्था, मेख बहादुर लिम्बु, सौरंगा दर्शनधारी, शिलषा राजभण्डारीका चित्रहरू पनि हे¥यो । प्रायः सबै कलकारहरू आफ्नोपनको खाजीमा घोत्लिएको पायो । 
भेटमा सिनियर दाईहरू सुझाव दिंदै भन्दन्, युवा कलाकारहरू प्रयोगधर्मी हुनपर्छ । थरि थरिका विषयगत, शैलीगत, भावगत अवयवमा चित्रहरू बनाएर आफूलाई माझ्नु पर्दछ । निकै अनुभव बटुलेपछि मात्र एउटा बाटो पकडनुपर्दछ । अहिले नै बाटो पकडन खोज्नु भन्दा प्रयोग गर्नु उत्तम हुन्छ । 
साथीहरूका कुरा सुनेपछि उ झन रनभुललमा पर्दछ । के गर्ने, के नगर्नेको दुविधामा उसको मथिगंल रन्थनिन्छ । निकै दिन देखि उसले रंग र ब्रस उठाएको छैन । इजलमा भएको खाली क्यानभासले उसलाई हुंकार दिईरहेछ । क्यानभासको छेउमा जान्छ । केहीबेर टोल्हाउँछ । रंग र ब्रस उठाउन खोज्छ तर मनले दिंदैन । मन भन्छ के सोचिस् ? के बनाउँछस् ? विचार नै छैन भने ब्रस र रंग नउठा । मन्थन गर । अध्ययन गर । अनिमात्र क्यानभासको नजिक पुग । उसलाई कुन्नि के हुन्छ । स्टुडियोबाट फुत्त बाहिर निस्किन्छ । ज्याकेट लगाएर असनको भिडमा हराउँछ । 
असनका गणेश भगवान, अन्नपूर्ण देवी प्राय चुप छन् । केही भक्तालुहरू बत्ति बालेर मनोकामना पूर्ण होस् भनेर ढोग्दैछन् । साँझ भएकोछ । ताजा तरकारीहरूको व्यापार भइरहको छ । 
“यो काउली कसरी किलोको ?” भनी पसलेलाई सोध्दछ । 
“पैंतिस रूपियाँ”
“यो गोभेंडा ?”
“साठ्ठी रूपैयाँ”
“यो बन्दाकोपी ?”
“तीस रूपैयाँ”
“अनि यो आलु ?”
“धार्नीको नब्बे रूपियाँ” 
त्यसपछि छेवैको पसलमा उभिएर डुब्न लागेको सूर्यलाई हेर्दछ ।सूर्यको तेजिलो प्रकाश मखन, इन्द्रचोक मछेन्द्र बहाल हुँदै असनसम्म छिछोलेको देख्दछ । असनबाट इन्द्रचोक जान आँखा छोप्दै हिड्नुपर्छ । रापिलो सूर्यको किरणले पुरै डिस्टर्भ गर्दछ । उसले धेरै पटक रापिलो सूर्यसँग आँखा मिचौली गरेको छ । उसलाई खुब मज्जा लाग्दछ र जब सूर्य चन्दागिरीको पहाड पारी लुक्दछ तब अधिको  रौनक हराउँछ । साँझको बास्ना हरहर आउन थाल्दछ । सबै हतार हतार गर्दै घर÷डेरा तर्फ दौडिन थाल्दछन् । ऊ पनि घरतिर लाग्दछ । बाटोमा एजुकेशन बुक हाउस पर्दछ । बुक हाउसभित्र पसेर पुस्तकहरू हेर्दछ । क्लाउड मोने, इडुवार्ड मञ्च, टर्नर, कन्स्टेबुल, रबिन्स, भिन्चीदेखि मदन चित्रकार, रमेश अनालका किताबहरू हेर्दछ । कर्ण शाक्यका पुस्तकहरू, सेतो धर्ती, नेपाली नियाँत्रा, देशले हारेको युद्ध, अरूण स्वामीको सन्तगाथा, पिटर जेमसको नट डेट इन्योप, पूर्वीय पाश्चात्य साहिन्य सिद्धान्त, नेपाली नाटक र नाटककार, ओसोका पुस्तकहरू लगायत अन्य थुप्रै पुसतकहरूमा आँखा दौडायो । तर किन्न चाही उसले डाली कै किताब किन्यो । 
केही दिन पछिको भेटमा साथीहरू भन्छन्् “के हो भुपेन्द्र अचेल नयाँ नयाँ चित्र पनि बनाएर देखाउँदैनौ । अस्ति नै श्वैरकालपनिक चित्रहरू बनाएर देखाएका थियौ । कहाँ राख्यो ती चित्रहरू । राम्रा थिए ती चित्रहरू।” साथीहरूको कुरा सुनेर ऊ केही बोल्दैन । साथीहरू गइसकेपछि उसले एकपटक फेरि डालीमा प्रभावमा बनाइएका चित्र झिकेर हेर्दछ र फेरि थन्काई दिन्छ । 
अर्को भेटमा साथीहरूले उसलाई पनि कला कार्यशालामा सहभागी हुन निम्ता गर्दछन् । देशका वरिष्ठ देखि कनिष्ठ कलाकारहरूका झुण्डमा ऊ पनि मिस्सिदै एक थान चित्र बनाउँदछ । उसको चित्र हेरेपछि एकजना समीक्षकले तिमीले विचार प्रधान चित्र बनाएछौँ । चित्र सुन्दर छ । यस्तै चित्र बनाउने हो भने तिमी छिटै स्थापित कलकार हुनसक्ने छौ र उसले “धन्यवाद” मात्र भनि जवाफ फर्काएको छ । 
त्यसपछि उसले धमाधम विचारप्रधान चित्रहरू बनाउन थाल्दछ । विचार प्रधान चित्र बनाउने क्रममा उसले राजनीतिको अर्कमव्यतामाथि तिखो व्यंग्य प्रहार गर्दछ । साँस्कृतिक धरोहरको लोपन्मुखता माथि सचेत गराउँछ । धार्मिक विखण्डनमाथि चिन्ता गर्दछ । देश रोएको चित्र उसले बनायो । नेपाल लुछाचुडी हुन लागेको उसले दर्शायो । महिला हिंसाविरूद्ध आवाज उठायो । लैंगिक विभेदमाथि औंला ठडायो र अझ कमलको फूल फूल्न बाँकी नै रहेको छ भन्दै विचार पोख्यो । 
केही साथीहरूले उसको स्टुडियोमा आएर उसका नविन चित्रहरू हेर्दै भने “कन्सेप राम्रो छ,  चित्र संयोजन पनि राम्रो छ । एनाटोमी सशक्त छ । तर त्यस्ता विचार प्रधान चित्रहरू थुप्रौ कलकारहरूले बनाइरहेका छन् ।” साथीहरूका कुराहरू उसले निकै गंभिर भएर सुन्यो र साथीहरू गइसकेपछि बीसवटा चित्रलाई भुईमा ओछ्याएर जथाभावी कालो, निलो, हरियो, पहेंलो, रातो रंग छर्किएर विचार प्रधानचित्रलाई तोडमोड गरी दियो । उसको उपद्रो देखेर उसकी बहिनी, भाईहरू छक्क परे । 
त्यसपछि ऊ रन्थनिदै पोखराको यात्रामा निस्कियो । झण्डै बीस दिनसम्म उसले पोखराको रसोस्वादन ग¥यो । उसले फेवामा डुङ्गा चलायो । साराङ्गकोट पुगेर माछापुच्छ्रे, अन्नपूर्णको मन लोभ्याउने तस्विरहरू खिच्यो । प्याराग्लाइडिङ्ग ग¥यो । डेभिड फल्स, अन्र्राष्ट्रिय पर्वतीय संग्राहलय, महेन्द्र पुल, गुफा, वेगनास ताल र वरपरका गाउँहरू घुम्यो र पोखरा फर्कियो । 
बिहानको ब्रेक फास्ट खाँदै गर्दा उसले टि.भी. मा आफ्नो नाम प्रसारण गरेको सुनयो । उसले केरकार गरेर फ्याकेर हिंडेका चित्रह अरूपण आर्ट ग्यालरी, लाजिम्पाटमा प्रर्दशनी भईरहेको देख्यो । उत्तरआधुनिक सोचका नवीन चित्रहरू भनेर उसका चित्रहरू प्रदशीत भईरहेको रहेछ । 
र भोलिपल्ट नै काठमाडौं पुग्यो । उसका चित्रहरू अवलोकन गर्न विदेशमा बसेको केही नेपाली चित्रकारहरू पनि आए । उनीहरूले पनि नविनतम चित्र भनेर प्रतिक्रिया लेखें । पत्रत्रकारहरूलाई बताए । त्यसपछि उसलाई पत्रकारहरूले धेरै, टि.भी.ले अन्तवार्ता लियो । 
“तपाईले यस्ता उत्तरआधुनिक चित्रहरू बनाउने प्रेरणा कहाँबाट पाउनुभयो ?”
“के भविष्यमा यस्तै उत्तर आधुनिक चित्रहरूलाई निरन्तरता दिनुहुन्छ ?” पत्रकारहरूले प्रश्न गरे । 
के भनौ के नभनौ भन्ने दोधारमा प¥यो उ । यी मेरा कोरकार गरेर छाडेका चित्रहरू हुन भनौ भने आफ्नै इज्जत जाने । यी चित्रहरू तिरस्कार गरिएका हुन भनौ भने आफै बदनाम हुने अनन्त केही बोल्नै पर्ने भयो भन्ने मनमनै ठान्दै उसले पत्रकार, संचार निकायका अगाडि मुख खोल्यो । “मैले यी चित्र, देश दुखेको महसुस गरेको बेला बनाएको हँु । देश रोएको छ अहिले ।” 
“अनि यी काला धर्सा, कोरकार चाहि किन ?”
“मेरो विचार, मेरो सोचमाथि अतिक्रमण हो यो” भन्यो उसले । त्यसबेला उसको मुटु ढुकढुक गरिरहेको थियो । उसको विचार नै उत्तरआधुनिक ठाने पत्रकारहरूले र धक फुकाएर लेखे । उसका चित्रहरू प्राय ः सबै विक्री भए । ऊ रातारात एक स्थापित कलाकार बन्न पुग्यो । तर उसलाई आफूमाथि नै कताकता भित्रैदेखि शंका लागिरहेको थियो । 

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper