banner
banner

पूर्वराष्ट्रपतिको भत्ता खादै कांग्रेसी नेता बन्दै

धर्मरत्न श्रेष्ठ- - 
डा.रामवरण यादव पूर्व राष्ट्रपति हुन् । जनकपुरका जमिन्दार ८ वर्ष राष्ट्रपति बन्दा राज्यकोषको भात खाए, अहिले पूर्वराष्ट्रपतिको हैसियतमा पनि जनताले तिरेको भात खाइरहेका छन् । राष्ट्रपति बन्दा जापानसम्म उपचार गर्न गए, अहिले पनि सुरक्षा, स्वास्थ्य, भान्सासम्म जनताले तिरेको करले ज्यान पालिरहेका छन् ।
यिनै पूर्वराष्ट्रपतिले आफूलाई नैतिक धरातलबाट झारेर भाषण गर्दै भनेका छन्– खतरामा रहेको लोकतन्त्रको रक्षाका लागि कांग्रेसले सरकारको नेतृत्व गर्नुपर्छ ।
लोकतन्त्र खतरामा रहेको चिन्ता गर्नुसम्म ठिकै होला, राजनीतिमा मुछिएर आफ्नो पुरानो कांग्रेसी नेताको छविमा दागै लाग्नेगरी कांग्रेसको नेतृत्वमा सरकार बन्नुपर्छ भनेर वकालत गरेर सार्वजनिक भाषण गर्नु कसरी सही हुनसक्छ ? जनताको कर खाने अनि कांग्रेसको वकालत गरेर राजनीतिलाई प्रभाव पार्ने ?
गैँडाकोटका तिलकप्रसाद सापकोटाले लेखेको ‘यात्रा निरन्तर’ पुस्तकको विमोचन गर्दै पूर्वराष्ट्रपति यादवले संविधान जारी गर्दा र माओवादीलाई शान्ति प्रक्रियामा ल्याउँदा कांग्रेसले नेतृत्वदायी भूमिका खेलेकाले लोकतन्त्रको रक्षाका लागि पनि अब कांग्रेसले नेतृत्व गर्नुपर्छ ।
यादवको कथन छ– नेपालमा लोकतन्त्रको नागरिक जग बलियो छ, नेपालमा नागरिक सचेत छन्, हरेक राजनीतिक परिवर्तनमा जनताले साथ दिएका छन्, परिवर्तनहरूमा हरेक पल्ट नेपाली कांग्रेसले नै नेतृत्व लिंदै आएको छ । कांग्रेसको नेतृत्वलाई राजनीतिक परिवर्तनका क्रममा विश्वभर छरिएर रहेका नेपालीहरूले साथ दिएका थिए, अबको पद्धति कसरी बलियो बनाउने कांग्रेसको काम हो ।
पूर्वराष्ट्रपति भनेका सम्मानित व्यक्तित्व हुन्छन् । उनीहरूले स्वतन्त्र भूमिका खेलेर समाजलाई अग्रगतिमा लैजान मार्गनिर्देशन गर्नुपर्छ । सत्तामा बसेर भत्ता खाँदै कुनै पार्टीको नेता कार्यकर्ता बनेर राष्ट्रको नेतृत्व यो पार्टी र त्यो पार्टीले गर्नुपर्छ भन्नु गलत तरिका हो । यस्ता बरिष्ठहरूले त्याग गर्न सक्दैनन्, सक्षम भएर पनि राज्यकोष खान्छन् र गरीबको गाँस हर्छन् अनि नैतिकशिक्षा दिन छाडेर राजनीति बगार्छन् भने राजनीति यसैगरी स्खलन हुने हो । आज जुन परिदृश्यहरू देखिएका छन्, यस्तै नैतिकहिनताका कारणले देखिएका हुन् ।
हुन त यी त्यस्ता पूर्वराष्ट्रपति हुन् जसले पदमा भएकै बेलामा थाइलेण्डका राजदूतलाई जनकपुरमा चिहान बनाउन आर्थिक सहयोग जुटाइदिन भनेका थिए र लाजगालले पनि थाई राजदूतले जनकपुरको चिहानका लागि थाइलेण्डका व्यापारीबाट आर्थिक सहयोग जुटाइदिएका थिए । आफै जमिन्दार भएका पूर्वराष्ट्रपति डा.रामवरण यादवले राज्य सुविधा त्याग गरेर वीर अस्पतालमा विरामीको सेवा गर्न जुटेको भए उनको मान बढ्ने थियो । सक्षमहरू किन राम्रो काम गर्दैनन् ?

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper