banner
banner

रेडपाण्डाको सिकारी, भेटिन्छन्, छाडिन्छन्

धर्मरत्न श्रेष्ठ- - 
सोलुलगायतका उच्च हिमाली, पहाडी क्षेत्रमा बसोबास गर्ने रेडपाण्डाको चोरीसिकारी दिनदिनै बढेर गएको छ । बेला बेलामा रेडपाण्डाका सिकारी, व्यापारी फेला पर्छन् तर तिनीहरूलाई कडा कारवाही भएको अहिलेसम्म थाहा भएको छैन । आखिर किन र कसरी छुट्छन् वन्यजन्तु सिकारी, व्यापारीहरू ? यसको सटिक जवाफ हो कानुनी छिद्र र राजनीतिक संरक्षण ।
प्रहरीले सोलुखुम्बुको महाकुलुङ गाउँपालिकाबाट अवैध तरिकाले रेडपाण्डाको शिकार गरेर छाला संकलन गर्ने ३ जनालाई ७ थान छालासहित पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा महाकुलुङ गाउँपालिका–२ घर भएका जगतबहादुर राई, वडा नम्बर–३ घर भएका मितुरधन राई र कविरशेखर राई छन् । इन्स्पेक्टर मन्दिप चौहान नेतृत्वको प्रहरी टोलीले उनीहरूलाई रेड पाण्डाको छालासहित पक्राउ गरेको हो । स्रोत भन्छ– राजनीतिक नेताहरूले तिनीहरूलाई छुटाउन दबाब दिइसकेका छन् । जब राजनीति नै अपराधमा संलग्न हुन्छ, कसरी वन्यजन्तु सिकारीहरू कारवाहीमा पर्छन ? वन्यजन्तुको असली विनासक त नेताहरू नै हुन् ।
प्रहरीले संकलन गरेको जानकारीअनुसार मकालु वरूण राष्ट्रिय निकुञ्जमा शिकार गरेर सो समूहले रेड पाण्डाको छाला संकलन गरेको थियो । रेड पाण्डा मार्न प्रयोग गरिने ५ थान पासो पनि प्रहरीले बरामद गरेको छ । यस प्रकारका वन्यजन्तु सिकारीलाई कडा कारवाही हुनसके वन्यजन्तुको संरक्षण हुनेथियो ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन–०२९ अनुसार पाण्डा मार्नेलाई ५ देखि १० लाख सम्म जरिवाना वा ५ देखि १५ वर्षसम्म कैद हुने व्यवस्था छ । तर यी व्यवस्थाहरू कानुनका पुस्तकमा मात्र सिमित छन् । जसमाथि कारवाही सुरू ग¥यो, कानुनचीहरू तिनीहरूलाई बचाउन लागिपर्छन्, राजनीतिक दबब बढ्छ, तस्करहरूको सेटिङ सुरू हुन्छ र अपराधी केही दिनमै छुट्छ । उनीहरू फेरि वन्यजन्तुको सिकारमा लाग्छन् । वन्यजन्तु सिकार गरेर मासु खाने र तिनीहरूका छालालाई महगोमा बेचेर नेपाल बाहिर तस्करी हुने गरेको छ ।
जति पनि निकुञ्जहरू छन्, तिनको वरिपरि नै सिकारी र तस्करहरूको खेलो चलिरहेको हुन्छ । सुराकी समेत सेटिङ्मा लाग्ने गरेकाले सही सूचना नपाइने र वन्यजन्तुको सिकार गरेर बेच्न सफल भइरहेका छन् । यही कथा वारम्वार दोहोरिरहनु भनेको नेपालको काुनुन र सरकारको असफलता पनि हो ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper