banner
banner

अमेरिकी दबाब र तिब्बत मुद्दा - नेपाल धर्मसंकटमा फस्दैछ

प्रेम सागर पौडेल- - - 
अध्यक्ष– नेपाल–चाइना म्यूचुअल कोअपरेशन सोसाइटी
नेपालको विकास शान्ति र समृद्धिका लागि नेता र सरकारी पदाधिकारीमा ईमानदारीता तथा देशभक्तिले स्थान पायो भने सम्भव छ । हामीले टाढा होइन आफ्ना छिमेकीको विकास र समृद्धिबाट सिक्नसक्छौं । अबको समय आफ्नो श्रम र शक्ति देशको विकास र समृद्धिमा खर्च गरौं । हाम्रो देश हामी आँफैले बनाउने हो ।
नेपालले सन् १९८९ पछि नेपाल आएका तिब्बतीयनहरूलाई शरणार्थीको मान्यता दिएको छैन । शरणार्थी परिचय पत्र भएकाले गृह मन्त्रालयबाट बिदेश यात्राका लागि यात्रा अनुमतिपत्र (ट्राभल डकुमेन्ट) पाउँछन्। जसका कारण उनीहरू सजिलै बिदेश भ्रमण गर्न सक्छन् । तिब्बतीयन माथि अमेरिकाले लगानी बढाउदै लैजादा यसको प्रभावमा नेपाल पनि परिरहेको देखिन्छ । 
गत बर्ष अमेरिकी संसदको मानवअधिकार हेर्ने दुई सह–अध्यक्ष सहित आठ जना सांसदले अमेरिकास्थित नेपाली राजदूतलाई पत्र लेखे । पत्रमा शरण खोज्दै आएका ६ तिब्बतीहरूलाई नेपालले फिर्ता पठाइदिएकोमा चिन्ता ब्यक्त गरेका थिए । नेपाल आएका सवै तिब्बतीयनहरूको चासो नेपाल सरकारले सम्वोधन गर्नु पर्ने सोच अमेरीकनको रहेको देखिन्छ । अमेरिकाले जारी कानुनमा लामो समयदेखि नेपालमा बसिरहेका शरणार्थीहरूले परिचयपत्र पाउनु पर्ने कुरा समेटिएको छ । अमेरिकाले पास गरेको नयाँ कानुनको दफा ६ मा भनिएको छ, ‘अमेरिकी बिदेशमन्त्रीले नेपाल सरकारलाई यूएनएचसीआरसँग भएको भद्र सहमति कार्यान्वयन गर्न र कारबाहीको जोखिम भएका कारण तिब्बतबाट भागेर नेपालमा लामो समयदेखि बस्दै आएका तिब्बतीहरूलाई नेपालको समाजिक तथा आर्थिक गतिविधिमा पूर्ण सहभागिता प्रदान गर्ने गरी बैधानिक कागजात उपलब्ध गराउन आग्रह गर्नुपर्नेछ ।’
२०७६ कात्तिकमा नेपाल भ्रमणमा आएका अमेरिकाका धार्मिक स्वतन्त्रता सम्बन्धी ‘एम्बासडर एट लार्ज’ साम ब्राउनब्याकले नेपाली टाइम्ससँग भनेका थिए– ‘मेरो नेपाल भ्रमण तिब्बतसँग जोडिएको छ, तिब्बती शरणार्थीको प्रमुख ट्रान्जिट नेपाल हो । नेपालले इतिहासदेखि नै उनीहरूलाई आउन दिने र ट्रान्जिट दिने गरेको छ । चिनियाँ दबाबपछि अहिले केही सुस्त भएको छ । मैले परराष्ट्रमन्त्री र अन्यसँग यो बिषयमा छलफल गरेको छु ।’
अमेरिकासंग नजिक रहेका व्यक्तिहरू तिब्बतीयनहरूको निर्वासित संसदको नेतृत्व गर्न आए भने त्यसको पहिलो असर नेपालमा नै देखिन्छ । यसका लागि भने १४ मे २०२१ सम्म पर्खिनु पर्ने देखिन्छ।
तिब्बतीयहरू माथिको बढ्दो अमेरीकन चासोका कारण नेपाल थप दवावमा पर्ने छ । एकातर्फ चीनसंग नेपालले पटक पटक नेपाली भुमि चीनको बिरूद्धमा प्रयोग हुन नदिने प्रतिवद्धता जनाएको छ । अर्कोतर्फ नेपालले अमेरिकालाई सजिलै यो बिषयमा हुन्न भन्न सक्ने छैन ।
बिस्तारै बिस्तारै नेपाल धर्मसंकटमा फस्दैछ, यो सतकर्तताको समय हो ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper