banner
banner

राजनीतिक नायक, धेरैजसो क्षणिक

स्वयम्भुनाथ कार्की- - 
विश्वयुद्धहरूको परिणामले मानव समाजलाई मध्ययुगीन बर्बरता त्याग्ने सोच बनाउन बाध्य बनायो । मध्ययुगीन सामाजिक बनौट, मानवमानव विचको भेदभाव, बर्बर युद्धकला आधुनिक युगमा अस्विकृत भए । वर्तमानले मध्ययुगको बर्बरतालाई महिमा मण्डित गर्दैन बरू मानवता विरूद्धको अपराध भन्दछ । जंगलले ढाकेको, हिंस्रक बन्यजन्तुले मानव सभ्यतालाई बाधा दिदै गरेको युगमा शिकार खेलिनु, जंगलफांंडेर वस्ती वसाउनु पुरूषार्थ तथा विकास थियो भने वर्तमानमा यो काम अपराध भएको छ । भविष्यमा हिसक जन्तुहरूको प्रकोप बढेर मानववस्ती सखाप हुन लाग्यो भने फेरी यो सोच बदलिन पनि सक्छ । त्यसैले मध्ययुगमा गरेको शिकारलाई वर्तमानको चस्माले हेरेर अपराध भन्दा भविष्यमा मानव समाजमा खतरा भयो भने अहिलेलाई भविष्यले मानवघाती भन्न सक्छ  । मानव समाज आफुलाई पर्न सक्ने खतरा प्रति कति ससंवेदनशिल छ भन्ने कुरा त कोरोना कहरमा प्रत्यक्ष देखियो ।
मध्ययुगको समाप्ति र आधुनिक युगको आगमनको स्वागत नेपालमा जहानिया शासन सम्हालेका राणाहरूले पनि गरे । चन्द्र सम्सेरले दासप्रथा उन्मोलन गरे, अमलेख भएका दासहरूलाई समाजमा स्थापना गराउन अमलेखगंज नै बसाए, त्रिचन्द्र कलेज खोले, चन्द्रनहर बनाए, विजुली निकाले । वर्तमानमा चपुर भनेर चन्द्रनिगाहपुर शव्दमा भएको निगाह छोपेर कायम छ । उनले धेरै आधारभूत मध्ययुगीन मान्यताहरू तोडे । कारण चाहे जे होस् प्रभाव भने नेपालीलाई अलिकती शितलता दिने नै भयो । वीपी पिता कृष्णप्रसादलाई देश निकाला गर्नुले उनको कार्यकालमा त केही फरक परेन तर राणशासनको जग हल्लाउने कारक बन्यो । यसरी चन्द्रशमशेरले नायकत्व र खलनायकत्वमा लुकामारी खेल्दै अठ्ठाइस वर्ष जंगबहादुरको पौरख भोग गरे । 
भिम सम्सेरले राणाहरूको रोलक्रममा परिवर्तन गरेका थिए । यो परिवर्तन गर्दा उनले सोच्न सकेनन कि अहिले आफुमा अधिकार भएको वेला गरेको काम भोली आउने अर्कोले पनि परिवर्तन गर्नसक्छ । हुनत भिमशम्शेरको सोचको यो कमजोरी आजकल सबैमा देखा परेको छ, अहिले जल्दोवल्दो भएको बेला मनमौजी काम गरिहालौं, त्यो संस्थागत हुन्छ, स्थायी हुन्छ भन्ने । तर वास्तविकता त्यसको ठिक उल्टो हुने गर्दछ, भोली आउनेले आजको त्यो चीरस्थायी सम्झेर गरेको काम नै सबैभन्दा पहिले भत्काउँछ । भिमसम्सेरको यो काम पनि भत्कनु थियो, भत्कियो । राणाले आफूले आपैmलाई समाप्त पार्न चालेको कदमजस्तो भयो । 
भिम शम्शेरका नातीहरू र कृष्णप्रसादका छोराहरूले राणशासनसंग नेपालका राजादेखि रंकसम्ममा भएको असन्तुष्टि संयोजन गरेर त्यसलाई समाप्त पार्न प्रमुख भुमिका खेले । नेपालीलाई प्रदान गरेको यो नायकत्व पनि स्थायी रहन सकेन । यसको जिद्धि ,आपसी कलह, क्रान्तिको सफलता पछि जनतासंग टाढिने जस्ता कारणको बारेमा आजका मितिमा असहमती जनाउने जमात त भेटिन्छ तर घटनाक्रम र इतिहासले यही भन्छ । जनतामा कुनै प्रकारको असन्तोषको बिउ नभई स्थापितलाई हल्लाउन सक्ने क्षमता कसैमा पनि हुँदैन । महत्वाकांक्षी र आङ्खनो लक्षप्रति दृढ भएकोले असन्तोषको लेसमात्र पायो भने त्यसैलाई परिवर्तनको औजार बनाउँछ,  असन्तोषको मात्रा धेरै छ भने त आकांक्षीलाईराजमार्ग नै हुन्छ । 
राजा महेन्द्रले १७ सालमा दुई तिहाई जस्तो स्थान जितेर बनाएको सरकारलाई केवल सेनाको बलले मात्र अपदस्त गर्न सम्भव थियो भन्ने कुरा कताकता पच्दैन । जनतासँग टाढिएको अवस्थामा पाएको मत तथा सामुन्नेको जयजयकार नै आफ्नो जनसमर्थन हो भन्ने भ्रम पर्न सक्छ । कांग्रेसले जनता टाढिएको पत्तै पाएन, यस कुराको पुष्टि निमित्त गणेशमानको ‘भेडा’ वाला भनाई नै काफी छ । १७ सालमा राजा महेन्द्रले शासनको बागडोर हातमा लिए पछि एक सेकेण्ड पनि समय खेर फालेनन् । जनतासँगको प्रत्यक्ष सम्पर्कलाई उच्च महत्व दिए । नेपालीले उनको मृत्यु नहुन्जेल हमेशा काम पाई राखे । त्यसैले महेन्द्र क्षणिक नायक मात्र भएनन् । उनको असर मृत्युको यत्रो बर्षसम्म कायम छ । उनको नाम नै विरोधीको मुटु थर्काउन प्रयाप्त छ र त महेन्द्र राजमार्गसम्मको नाम लिन सक्दैनन् ।
राजा महेन्द्र पछिको अबस्थामा जति पनि नायक भएका छन ती साह्रै क्षणिक भएका छन् । सामुन्नेको जयजयकारमा भुल्दा जनसम्पर्क टुट्न जान्छ भन्ने हेक्का राजाहरूलाई मात्र नभएको हैन, विभिन्न समयमा विभिन्न समूहको तारणहारको रूपमा आपूmलाई उभ्याएकाहरूले पनि भुलेका छन् । हिजो रविनहुड भैm काम गरेर सोझा निमुखा जनताको आश जगाउन सफल भएका मानिएका नेताहरूलाई आज सैकडौ सुरक्षकर्मीको घेरा नभइ नहुने भएको छ । चिन्ताको कुरा त के छ भने बास्तव मै आवश्यक परेको छ । वर्तमानमा फेरी जनतासम्म पुग्ने अर्को कुनै महत्वाकांक्षी देखिएको छैन, केही समूह देखिएका छन् जसलाई जनताले अहिलेसम्म भरोशा गरिसकेको छैन, अपनत्व महशुस नगरेर, तर जनता हमेशा उपेक्षा सहन सक्दैन ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper