banner
banner

युवा भनेका पार्टीका कार्यकर्तामात्र हुन् ?

धर्मरत्न श्रेष्ठ- -
गतवर्षभन्दा यो वर्ष भ्रष्टाचार झन बढेछ । Transparency International Berlin  ले यस वर्ष सन् २०२० को भ्रष्टाचार अवधारणा सूचकांक सार्वजनिक गरेपछि यो यथार्थको खुलासा भएको हो । गतवष्र्ष सयमा ३४ अंक पाएर नेपाल ११३ औं स्थानमा थियो, यसवर्ष ३३ अंक पाएर नेपाल ११७औं स्थानमा पुगेछ । सुशासन र समृद्धिको लोकतान्त्रिक हल्लाबाजहरुको हल्लाखल्लाले हावा खाएछ ।
भ्रष्टाचार बढ्नु भनेको शासकहरु भ्रष्ट भए भन्ने हो । शासकहरु भ्रष्ट हुनु भनेको जनताको हक खोसिनु र राष्ट्र विपतमा फस्दै जानु पनि हो । इजिप्ट, इस्वटिनी, सियरालियोन, युक्रेन, जाम्बियाको स्तरमा झरेछ नेपाल ।
कुन देश कति भ्रष्ट छ, कूशासनले ग्रस्त छ भन्ने मापन गर्ने निकायहरुमा  विश्व बैंक, विश्व आर्थिक मञ्च, ग्लोबल इनसाइट, बर्टेल्सम्यान फाउन्डेसन, वर्ल्ड जस्टिस प्रोजेक्ट र भेराइटी अफ डेमोक्रेसी प्रोजेक्ट (भीडीइएम) हुन् । यिनीहरुले नै हरेक मुलुकको सीपीआई स्कोर मापन गर्ने गर्छन् । अझ नेपालमा राजनीतिक द्वन्द्व चर्किएको छ, चुनाव कि संसद बिघटन भन्ने नारामा देश स्तब्ध हुनपुगेको छ, विकास ठप्प छ र अनियमितता दिनदिनै बढ्दो छ । यो अवस्थाले नेपालको चालु वर्षमा भ्रष्टाचारले सगरमाथा विजय गर्ने निश्चित छ । शासक र ठूला दलहरुमा देशलाई सुशासन दिने कुनै बलियो सोच र विचार देखिदैन ।
यसरी नेपाल भ्रष्टाचार कूशासनमय हुनुमा संसद, नेपाल सरकार, न्यायालय, र सुरक्षा निकायहरुमा समेत राजनीतिकरणले स्थान जमाउनु र नियम कानुन कमजोर हुँदै जानु प्रमुख कारण हो । यी सबै निकायका प्रमुख, प्रतिनिधिहरूद्वारा निजी स्वार्थका लागि कानुन र पदको दुरुपयोग गर्ने प्रतिस्पर्धा नै चलेको छ । सुशासनका लागि अनियमितता र पदको दुरुपयोग गर्नेहरुमाथि कारवाही हुन नसकेपछि आर्थिक अराजकता बढ्दै गएको हो । नेपालको आर्थिक स्तर र अवस्था दिनदिनै खस्कदै जानु स्वभाविक थियो, रिपोर्टले त्यही तस्वीर देखायो ।
हामी कल्पनामात्र गर्नसक्छौं, नेपालले मापन स्केल अनुसार १०० अंक पाउला र एकदमै स्वच्छ देश होला । यो सपना लोकतन्त्र आएपछि नेपाल स्वर्ग हुनेछ भनेर सोझा जनतालाई देखाएको खोक्रो सपनाजस्तै हो भन्दा फरक पर्दैन । मुख्य कुरा नैतिकताको स्तर हो, कुनै पनि शासक र जनप्रतिनिधिमा नैतिक आधार खस्कदै गएको छ । उनीहरु व्यक्तिगत स्वार्थमा लिप्त हुँदै गएका देखिन्छन् ।
शून्य अंक पाउने देश महाभ्रष्टमा गनिन्छ, नेपाल महाभ्रष्टतिर उन्मुख छ । रिपोर्टअनुसार डेनमार्क र न्युजिल्यान्ड प्रत्येकले १०० मा ८८ अंक पाएर विश्वका सबैभन्दा कम भ्रष्ट (स्वच्छ) देशका रुपमा नाम अंकित गरेका छन् । दक्षिण सुडान र सोमालियाले १२ अंक पाएरमहाभ्रष्ट देश बन्न पुगेका छन् । नेपालभन्दा भुटान, मालदिभ्स, भारत, श्रीलंका, पाकिस्तान, बंगलादेश, अफगानिस्तानमा कम भ्रष्टाचार हुनेगरेको रहेछ । नेपाल भ्रष्टाचारमुक्त कहिले होला ?

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper