banner
banner

युवा भनेका पार्टीका कार्यकर्तामात्र हुन् त ?

धर्मरत्न श्रेष्ठ- -
युवा भनेका पार्टीका कार्यकर्तामात्र हुन् त ? भनिन्छ, युवा देशका सवल आधार हुन् । आधार हुन् भने पार्टीका अन्धभक्त किन भइरहेका छन् ? पार्टीले, नेताले गलत गरेको देख्दादेख्दै तिनकै झोले बनेर हिडिरहनु भनेको युवा हुनु हो ? युवामा हुनुपर्ने उत्साह हो, जाँगर र हौसला हो, त्यो हौसलालाई पार्टीको झण्डा बोकेर र नेताको पछि पछि अन्धभक्त भएर जिन्दावाद भन्नुमात्र युवा हुनु हो भने यस्ता युवाले समयलाई बोक्न सक्दैन । जुन युवाले समय उठाउन सक्दैन, त्यो युवाले समाजलाई कसरी उठाउन, अघि बढाउन र देशको मजबुत आधार बन्नसक्छ होला ?
देश बिग्रनुमा युवाशक्तिको दुरुपयोग भएर हो । युवा आफूले आफैलाई दुरुपयोग गरिरहेका छन् । यस्ता युवालाई भेडाबाख्रासरह नेताहरुले दुरुपयोग गरिरहेका छन् । आफूलाई युवा भन्नेहरुको यसरी दुरुपयोग हुनु भनेको देश बर्बाद हुनु हो, पद्धति र संस्कार समाप्त हुनु हो । यतिबेला सत्तामा, सडकमा जे जस्तो तमासा देखिएको छ, त्यो युवाहरुको दुरुपयोगका कारणले भएको हो । युवाले आफूलाई सशक्त बनाउँथे भने युवाको यति ठूलो दुरुपयोग हुनसक्ने थिएन ।
युवालाई राजनीतिक हतियारका रुपमा प्रयोग गर्न सकिन्छ भनेर नै नेताहरुले गल्तीपछि गल्ती गरिरहेका छन् । हरेक पार्टीमा होनहार युवा छन् तर तिनमा आत्मवल छैन । आत्मवल नभएपछि आत्मनिर्णय क्षमता हुने कुरै भएन । उनीहरुलाई थाहा छ, नेताहरु गलत गरिरहेका छन् । तर मनको आवाज सुन्न र विवेकपूर्ण निर्णय गर्न सक्दैनन् । यसकारण त पार्टी पार्टीमा विभाजन भएका युवाहरु गलत नेताको पछि लागेर जिन्दावाद, मूर्दावाद भनिरहेका छन् । उनीहरुले आज लगाएको नाराले देशलाई कति पछाडि धकेल्छ भन्ने थाहा छ, तर बेवास्था गर्छन् । यस्ता युवाहरुले आफ्नो वर्तमानबाट देशको भविष्यलाई भड्खालोमा हाल्दैछन् ।
राजधानीदेखि जिल्ला जिल्लामा देखिने युवाहरुको भीड कतै राजा जिन्दावाद, कतै हिन्दुधर्म जिन्दावाद, कतै केपी ओली जिन्दावाद, कतै प्रचण्ड–माधव जिन्दावाद, कतै जसपा जिन्दावाद, कतै राप्रपा जिन्दावादका नारा लगाइरहेका छन् ।
यिनले छुट्याउनु पर्छ, एउटा मूर्दावाद हो भने अर्को किन जिन्दावाद । यत्ति छुट्याउन नसक्ने हो भने देशको भविष्य अन्धकार छ भनेर जाने हुन्छ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper