banner
banner

नारी कहिलेसम्म पुरूषको सम्पत्ति

देवी काफ्ले- - 
हाम्रो समाजमा नारीलाई पुरूषले आफ्नो सम्पत्ति ठान्ने सोंच अद्यपि हावी छ । हाम्रो समाज नारी पुरूषका लागि मात्र हो, उ आफैमा अपूर्ण हुन्छे भन्ने सोंचले ग्रसित छ । तसर्थ उनीहरूको स्वतन्त्रताको बहस कुहिराको काग जस्तै भएको छ । नारी जन्मदेखि मृत्यु पर्यन्त कुनै न कुनै पुरूषको अधीन रहनुपर्ने बाध्यता छ । अब नारी स्वतन्त्र कहिले त ? कहिलेसम्म ऊ पुरूष शासित समाजको वा पुरूषको सम्पत्ति बनेर रहनुपर्ने हो ? उनीहरूलाई खुसी पार्नु उसको दायित्व हो । जुनसुकै रूपमा पनि महिलाले पुरूषलाई खुसी पार्नु या उनीहरूको मन बहलाउनुपर्छ नै भन्ने मान्यता शताब्दीऔं देखि चलेको रीत हो । 
प्रत्यक्ष रूपमा नभए पनि परोक्ष रूपमा एक कामुक महिला हरेक पुरूषको वरिपरि मडारिएको हुनुपर्ने मान्यता राखेर होला उन्नाइसौँ शताब्दीमा आजको जस्तो सुन्दरी प्रतियोगिता हुँदैनथ्यो तर तैलचित्र बनाइन्थे, मूर्ति बनाइन्थे र त्यहाँ प्रष्ट कामुकता झल्काइन्थ्यो । ती मूर्तिलाई कामुकताको प्रदर्शन गराए जसरी प्रस्तुत गरिन्थे । त्यस्ता चित्र, मूर्ति अहिले पनि प्रशस्त देख्न पाइन्छन् । 
नारी असाध्य सुन्दरी हुनुपर्ने, चटक्क मिलेको जिउडाल, घाँटी, छाती, नितम्ब, खुट्टा, आँखा, ओंठ सबै मापदण्ड अनुसार हुनुपर्ने हुन्थ्यो नत्र पुरूषका लागि कुरूप ठहरिन्थे अनि छिःछिः र दूर दूरको व्यवहारबाट उन्मुक्ति पाउन र सबैले राम्री, सुन्दरी भनेको सुन्न लालायित गराइन्थ्यो । त्यही लालसाले बजारका महँगा सौन्दर्य प्रसाधन प्रयोग गरेर सुन्दरताको बजारमा मोलमोलाइ हुन बाध्य पारिन्थ्यो । अहिले त्यसैको निरन्तरता स्वरूप महिलाले पनि महिला हुनुको अस्तित्व बिर्सेर तँछाडमछाड गरिरहेका छन् । तिनै सौन्दर्य प्रसाधनका कारण कुनै घातक रोगको शिकार बन्नुपरे पनि पुरूषको अगाडि कृत्रिम सुन्दरी बन्नुपर्छ तर पुरूषको लागि महिलाले जतिसुकै त्याग गरेकी भएपनि उसैको मातहतमा रहनुपर्छ । पुरूष भन्दा महिला एक कदम अगाडि पनि  जाने जान छुट पाउनु हुन्न भन्ने सोंच्छन् । आज पनि यो प्रवृत्तिले छुटकारा पाएको छैन । हाम्रा सामाजिक परिदृश्यहरू हेर्दा अझै पनि महिला एक कदम पछाडि बस्नु पर्छ भन्ने मान्यता पुरूषमा मात्रै नभएर पुरूषवादी सोंच भएका महिलामा पनि छ । विवाह हेरौं बेहुली भन्दा बेहुला जेठै हुनुपर्छ । बेहुलीले भन्ली बेहुलाले आफूले भन्दा धेरै पढेको हुनुपर्छ । बेहुली भन्दा बेहुला धनी हुनुपर्छ । के बेहुली भन्दा कम पढेको बेहुला भए समाज घर नै तहसनहस हुने हो र ? अर्थात् महिलाले घरको नेतृत्व गर्न सक्दिनन् भन्ने अर्थमा समाज छ ।
समाजमा महिलालाई दिइएका जिम्मेवारीका विषयमा बढि नै टीकाटिप्पणी हुन्छ । महिलालाई सहजै उच्च ओहदामा ठाउँ दिइन्न ।यसको ज्वलन्त उदाहरण स्थानीय निकायको चुनाव हो । जहाँ सक्षम हुँदाहुँदै पनि विभिन्न बहानामा एक तह तल झारेरै चुनाव लड्ने अनुमति दिइयो । हरेक ठाउँमा उपको उमेदवार बनाइयो ।
कुनै निर्णायक गोष्ठी, बैठकहरूमा महिला बोलेका कुरा चुरा बजेको मात्रै भनेर हावामा उडाइन्छ अनि त्यहि कुरा पुरूष बोल्दा ताली पिटिन्छ । यसले पनि महिलालाई दोस्रो दर्जामा राखेको प्रष्ट हुन्छ । हिजोको सती प्रथा उन्मुलन भएपछि हाम्रो समाजमा केही मात्रामा सुधार त आयो तर जुन संस्कार हामीमा अमिट छाप बनेर बसेको छ त्यो मेटिन अझै शताब्दी लाग्ने सम्भावना देखिन्छ । देखावटी रूपमा जबसम्म बाहिर एउटा व्यवहार र अन्तर्यमा अर्को व्यवहार रहन्छ तबसम्म महिला पहिलो शक्तिमा प्रवेश गर्न सक्ने छैनन् ।
हिंसामा ग्रामिण बस्तीका अशिक्षित महिला मात्रै हैन शहरिया, शिक्षित, अर्थोपार्जन गर्न सक्ने महिला पनि व्यापक हिंसामा र दोस्रो दर्जामै पुगेका छन् । रोजगार महिलाहरू अझ धेरै मानसिक पीडा खेप्न बाध्य छन् । उता सहकर्मी साथी, हाकिमहरू सँग अनि यता घरायसी व्यावहारिक वातावरण सँग हिंसा बेहोर्नु पर्छ । निर्णायक काम त उनले गर्नै हुँदैन त्यसमाथि हाकिमहरूको यौनिजन्य कुदृष्टि समेत रहेको हुन्छ ।सँगसँगै अफिसबाट घरमा फर्केपछि श्रीमानलाई थकाई लाग्छ र बिस्तरामा पल्टन मन लाग्छ उता श्रीमतीलाई छोराछोरीको खाजा, घर सफाई, श्रीमानलाई चिया, बेलुकाको खानाको प्रवन्ध , बच्चाहरूको गृहकार्य सबै सिध्याउनु पर्छ । यहाँ पनि पुरूषले घर धन्धा गर्नु हुँदैन भन्ने सोंचले महिला दोस्रै दर्जामा रहेकी हुन्छिन् । यहाँ महिलालाई हिंसा गर्ने वा दोस्रो दर्जामा राख्ने काम पुरूषबादी सोंचले ग्रस्त महिलाहरूबाट पनि भएको छ । त्यसैले महिला र पुरूष एक रथका दुई पाङ्ग्रा हुन् एउटा हल्ल्यो भने रथ नै हल्लन्छ । यही जीवनको पाठ हो । त्यसैले महिला र पुरूषलाई समानतनको मानदण्डमा मापन गरौं ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper